खोला दोहन अझै रोकिएन, खोलाभरि ट्रिपर, खोलामै बालुवा स्टक

  प्रकाशित मिति
३१ जेष्ठ २०७६, शुक्रबार २१:१७


धुलाबारी । नियम मिचेर मेचीनगर क्षेत्रका नदी तथा खोला उत्खनन् गर्ने कार्य अझै रोकिएका छैन । स्थानीय तह कडाइका साथ प्रस्तुत हुन नसक्दा मनपरी रुपमा खोला दोहन गर्ने कार्य बढेको हो ।

मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाले लगाएको खोला ठेक्का सम्झौता विपरीत ढुङ्गा तथा बालुवा निकाल्ने काम भइरहेको छ । मेचीनगर–९ स्थित रहेको टिमाई खोलामा यतिखेर उत्खनन् कार्य जथाभावी रुपमा भइरहेको छ ।

शुक्रवार प्रदेश सांसद गोपाल बुढाथोकी र मेचीनगर प्रमुख विमल आचार्यसहितको टोलीले खोला जथाभावी रुपमा उत्खनन् गरेको भेटाएको छ । टोली अनुगमन गरी आवश्यक कारवाही गर्ने वचनका साथ फर्किएको छ ।

टिमाई खोलाको ढुङ्गा तथा बालुवाको उत्खनन् गर्ने ठेक्का विनिता श्री टेड्रर्सले पाएको छ । उक्त कम्पनीले आईईई सम्झौता विपरीत मनपरी तरिकाले खोला उत्खनन् गरेको स्थानीयले बताए । खोलाबाट ढुङ्गा, वालुवा निकालेर खोलाकै डीलमा स्टक गरेर राखिएको छ । जुन नियम विपरीत हो । कुनै पनि ढुङ्गाजन्य सामग्री निकालेर खोलाभन्दा ५ सय मिटर परै राख्नु पर्ने हुन्छ ।

असार १ गतेदेखि तीन महिना ढुङ्गा वालुवा उत्खनन्मा रोक लगाइने भएकाले ठेकेदार कम्पनीले आईईइको नियम मिचेको छ । खोलाभरि ट्रिपर र स्काभेटर प्रयोग गरी दोहोन गर्ने काम भइरहे पनि स्थानीय तहले कारवाही गरेको छैन ।

खोला ठेक्का सम्झौता अनुगमन समिति मेचीनगर नगरपालिकाका संयोजक कृष्ण कनालले टिमाई खोला उत्खनन्का विषयमा कुरा उठेको बताए । उनले त्यहाँ ठेकेदार कम्पनीले खोलाजन्य सामग्री निकालेर त्यहीँ स्टक गर्न भने नपाउने बताए । संयोजक कनालका अनुसार आइईई सम्झौतामा लम्बाई ५ सय मिटर, चौडाई ४० मिटर र गहिराई १ मिटर प्रयोग गर्न पाइन्छ । तर, टिमाई खोलाको २ किलोमिटरसम्म मनपरी रुपमा उत्खनन् गर्ने काम भएको छ ।

हदै भो

ढुङ्गा वालुवा निकाल्ने नाममा टिमाई खोलामा मनपरी भएको प्रदेश सांसद गोपाल बुढाथोकीले बताए । उनले उत्खनन् गर्दा नीति नियमभित्र रहेर गर्नुपर्ने तर त्यसो नभएको पाइएको बताए । ‘हेर्दा पनि प्रष्ट थाहा हुन्छ, टिमाई खोलाको अवस्था कस्तो छ भनेर । यो त हदैसम्मको गलत काम भएको देखिन्छ,’ उनले भने ।

आईईई गर्दा ठीक ढङ्गबाट नभएको भए त्यसलाई सच्याउनु पर्ने बताए । यदि आईईई अनुसारको काम भएको छ भने अनुगमन गरेर वास्तविकता बाहिर ल्याउनु पर्ने बताए । सांसद बुढाथोकीले खोला उत्खनन् गर्ने नाममा पानीको मुहान सुक्न थालेको बताए । यस विषयमा नगरपालिका गम्भीर रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

यता, नगर प्रमुख विमल आचार्यले आफू यो विषयमा जानकार नभएको प्रतिक्रिया दिए । उनले खोलाको विषयमा छुट्टै निकाय रहेकाले त्यही समितिले हेर्ने बताए । ‘टिमाई खोलामा भएको उत्खनन् कार्यका विषयमा छलफल गरेर अघि बढ्छौँ,’ प्रमुख आचार्यले भने, ‘यदि गलत भएको छ भने हामी त्यसलाई तत्काल रोक्छौँ ।’

पानीको मुहान सुक्यो

टिमाई खोलामा वर्षेनी जथाभावी खोला उत्खनन् गरिँदा थोप्लेविरान क्षेत्रमा पानीको स्रोत सुक्न थालेको छ । खोलाकै छेउमा रहेका जग्गाधनीहरुले पानी नहुँदा खेती गर्न पाएका छैनन् ।

केही वर्ष अघिसम्म त्यहाँ किसानले दुईबाली नै खेती गर्दै आएका थिए । तर, गहिरो गरी खोला खन्ने क्रम बढेपछि पानी नै हुन छाडेको स्थानीय श्याम पाठकले बताए । खोलाको गहिराई बर्षेनी बढिरहेकाले खेती गर्ने जमिनमा सिँचाई हुन नसकेको उनी बताउँछन् । उनका अनुसार करिब १५० परिवार जमिनमा खेती हुन सकेको छैन । पानी नभएपछि उक्त क्षेत्रको सयौँ विगा जमिन बाँझो रहेको छ ।

………………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: