खोला–पैनी मासेपछि डुवान

  प्रकाशित मिति
१० असार २०७३, शुक्रबार ११:१९


damak 2
दमकको यो ठाउँ सहर हो कि सागर ?
damak 1
दमकमा कुन पैनी हो कुन सडक हो, छुट्याउनै मुस्किल भो ।

विर्तामोड । केही वर्ष अघि विर्तामोड सहरमा बाढी पस्दा भएको बेहाल अहिले धेरैले भुलिसके । त्यही नियति विर्तामोडको मुख्य भागमा त दोहोरिएको छैन, तर छेउछाउमा हरेक बर्खाका बेला त्यस्तै समस्या भोग्नेहरू थपिएकै छन् । यसवर्ष त्यो सकस मुसहर वस्तीले भोग्यो ।

यसपटक इटहरी, दमक र भद्रपुरले डुबानको समस्या भर्खरै चर्को रुपमा ब्यहोरेका छन् । भद्रपुरका थुप्रै वस्ती र टोल जलमग्न भए भने दमकको सडकतिर खोलो बनेर बगे स्थानीय खोल्साहरू ।

लखनपुर, महाभारा, शिवगञ्ज, ज्यामिरगढी लगायतका कैयन ठाउँमा नदीहरू उर्लिएर उर्वरिला खेत र बस्तीतिर पसे होलान् । तर भद्रपुर, दमक, गरामनी, दुहागढी र विर्तामोडतिर कुनै खोलो पसेको थिएन । तैपनि त्यहाँ पुरै वस्ती डुबानमा पर्यो । किन ?

कुरो नचपाइ भन्ने हो भने सहरमा अव्यवस्थित ढल निकास र जथाभावी जग्गा प्लटिङले डुबान निम्त्याएको छ । दमक उद्योग वाणिज्य सङ्घका पूर्व महासचिव शङ्कर बस्नेत सहरमा डुबान निम्त्याउने कारण जग्गा प्लटिङ भएको बताउँछन् ।

‘खोला र पैनी अतिक्रमण गरेका छन्’, उनले फेसबुकमा लेखेका छन्–‘खोलाले पनि के गरोस् खैँ ।’ उनले समाजका ठूलाठालु भनिनेबाटै खोला र पैनी अतिक्रमण भएको सङ्केत समेत गरेका छन् ।

भद्रपुर र दमकको डुबानबाट भएको क्षति हेर्न मङ्गलवार र बुधवार झापाका प्रजिअसहितको सरकारी टोली पुगेको थियो । स्थानीयले अलिकति वर्षा हुने वित्तिकै सहर र गाउँ जलमग्न हुनुमा जथाभावी प्लटिङ मुख्य कारण भएको गुनासो गर्दै आएका छन् ।

खासगरी जग्गा प्लटिङ गर्नेहरूले पुराना खोल्सा र पैनी मासेर भिटौरी बनाएको र पानीको निकास थुनेको कारण वरपर डुबानको समस्या थपिएको हो । यो समस्या मेचीनगर, धाइजन, विर्तामोड र भद्रपुरमा निकै जटिल भएको छ ।

जग्गा प्लटिङवाला पहुँचवाला भएकाले कसैले पनि उनीहरूको बदमासीविरुद्ध कार्वाही नगरेको जनगुनासो सुनिन्छ । विर्तामोडको अदुवा खोला अतिक्रमण गरेर भीमकाय पक्की भवन ठडिएका छन् । त्यहाँ सरकारी निकायले कहिल्यै चासो नदिएको बताइन्छ ।

शिवसताक्षी, विर्तामोड जस्ता नयाँ नगरपालिकामा ढल निकासको राम्रो प्रबन्ध छैन । यसबाट पनि कतिपय वस्तीमा डुबान हुने र सडक नै खोलो बनेर बग्ने गरेको छ ।

भूउपयोग सम्बन्धी सरकारी नीति अस्पष्ट भएकाले उर्वर खेत मासेर धमाधम भिट्टा प्लटिङ गरिरहेका छन् । जस्तो कि बुधवारे जस्तो धान खेतीका लागि नेपालकै सबैभन्दा उर्वर थलो मानिएको ठाउँमा अचेल जताजतै प्लटिङका प्लट देख्न पाइन्छ ।

जग्गा प्लटिङ कहाँ गर्ने र कहाँ नगर्ने भन्ने स्पष्ट नीति नआउने हो भने नेपालको अधिकांश उर्वर भूमि मरुभूमिमा परिणत हुने दिन नआउला भन्न सकिन्न । किनकि प्लटिङवालाले उर्वर जमिनमा खोलाको ढुङ्गा र वालुवा ओसारेर मरुभूमि निर्माण गरिरहेका छन् ।

जग्गा प्लटिङले नै डुबान निम्त्याएको विषयमा सरकारी निकायबाट छानविन जरुरी देखिएको छ ।

(तस्वीर ः शङ्कर बस्नेतको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: