गणतन्त्रको जय होस् !

  प्रकाशित मिति
८ आश्विन २०७७, बिहीबार २२:०८


अधिवक्ता, केशव ढुंगेल

संविधान दिवसको दिन बा र म पनि त्यही लस्करमा थियौं जहाँ मनकारीले दिएको एक छाक भात खान पाइन्थ्यो । भात खान मात्र बसेका थियौं । एक हुल प्रहरी आएर लघारे । लौरो उझाए । हामी भाग्न बाध्य भयौं । बाको टोपी खस्यो । मैले बाको अनुहार हेरें । बा पनि मतिरै हेर्दै हुनुहुँदोरहेछ । मैले के भाको बुझ्नै सकिनँ ।

एकै छिनमा साइरन बज्यो । बाटो खाली भयो । चरो मुसो कोही सडकमा देखिएनन् । सडकको माहोल हेर्न लायक थियो । उत्तर कोरियाका तानाशाही नेता किम जोनको सुरक्षा पनि फिक्का लाग्नेजस्तो सुरक्षा घेरा । बल्ल थाहा भयो, राष्ट्रपतिको सवारी रहेछ । उनै राष्ट्रपति जसका पतिसँग मेरा बाको लगौटीया सम्बन्ध थियो । मैले त केही सम्झिन भ्याइनँ तर बाले झापा आन्दोलन, पार्टीको निर्णयविपरीत भए पनि जनमत संग्रहका पक्षमा माहोल बनाउन बत्ती नबाली रातभरि हिंडेको अनि ४६ सालमा प्रजातन्त्रका लागि परिवार छाडेर होमिएको सम्झिएछन् ।

बा टोलाएको देखेर मैले बोलाएँ । बा झल्याँस्स भए । ‘मेरी श्रीमतीले बनाएको गुन्द्रुकको झोल मदनका लागि प्यारो थियो तर उनकी श्रीमतीले चलाएको शासन मेरा लागि भोकको कारण बन्यो,’ बाले हातको टपरो फ्याँक्दै भने ।

पल्लो आँगनको सुरक्षा घेराबाट आवाज आयो ‘जनताको सरकार छ । कोही भोकै बस्नु पर्दैन । कसैले उपचार नपाएर मर्नु पर्दैन । रेल आइसक्यो अब पानी जहाज आउँदैछ ।’एकाएक मेरा बाको अनुहार बिग्रियो । सायद बालाई लाग्यो होला, टुंडिखेलमा भद्दा विद्रूप नाटकको सुरुवात भैसक्यो । हामी रत्नपार्कको बारमा अढेस लाग्यौं । उताका कुरा सुन्ने प्रयत्न गरेनौं । एउटी महिला आफ्नो बच्चो बोकेर हामीनेरै आएर उभिई ।

दुवैका अनुहारमा गहीरो भोक झल्कन्थ्यो । दुई जना भलाद्मी पनि त्यहीं आए जो अगिसम्म सरकारको जयजयकार गर्दै भातको लाइनमा बसेका थिए । सायद ती सरकारी पार्टीका सक्रिय कार्यकर्ता थिए । अहिले ती करुण दृष्टिले हामीलाई हेर्दै थिए । उता प्रधानमन्त्री बोल्न थाले, यता बा बोल्न थाले । हामी श्रोताका रूपमा बस्यौं ।

‘देश महामारी, नागरिक असुरक्षा,भ्रष्टाचार,कुशासन र प्राकृतिक विपत्तिको चपेटामा छ । जनता भोकै पर्दैछन् । शासन छ सर्वहाराको । अनुभूतिशून्य ऊ कान सुन्दैन । जनताको आर्तनाद सुन्दैन । करुण क्रन्दन सुन्दैन तर मार्क्स र लेनिन भन्ने शब्द चाहिं सुन्छ । हेर्ने त प्रयत्न पनि गर्दैन ।

देशको शासनसत्ता जनताका हातमा ल्याउने तथा राष्ट्रिय पूँजी र उत्पादनमा समान हक उपभोग कायम गर्ने राजनीतिक सिद्धान्त फलाकेर नथाक्ने ऊ कहिले काहीं पुँजीवाद तथा सामन्तवादलाई संघर्षद्वारा पल्टाएर वैज्ञानिक समाजवाद स्थापित गर्ने कुरा पनि गर्छ र त्यसलाई सत्ताको भर्याङ बनाइरहन्छ । जब ऊ सत्तामा पुग्छ सबै कुरा भुल्छ अनि निमुखामाथि घोर अन्याय गर्दछ ।

हो, तपाईंले ठीक ठम्याउनु भयो । म हाम्रै सरकारको कुरा गर्दैछु, अँ जनताको सरकारको । मैले सम्झिरहेको छु ,गत चुनावका वेला भाषणमा मीठो ललिपप मैले पनि खाएको थिएँ । विकासका कुराले मन फुरुङ्ग भएको थियो । भ्रष्टाचारमा शून्य सहशीलाता भन्दा त म तीन फिट उफ्रिएको थिएँ । मैले ठानें मैले खोजेको मान्छे बल्ल भेटियो ।

आज आएर स्पष्ट भएको छ कि ऊ त जनताको होइन, मात्र आफन्त र आसेपासेको अभिभावक रहेछ । मार्क्सवादको फत्तुर लगाएर सत्तामा पुग्नु र दलाली गर्नु उसको अभिष्ट रहेछ । आसेपासे पोस्नु, भ्रष्टहरुलाई संरक्षण गर्नु, राज्य दोहन गर्नु अनि आफू पानीमाथिको ओभानो भएर साइधुवाहरुको सुरक्षामा चट्टान भएर उभिनु उसको धर्म रहेछ ।

उखानको भाषिक सौन्दर्य प्रयोग गर्दै चिल्ला र चिप्ला कुरा गरेर जनतालाई भ्रममा पार्ने मान्छे…..! (बा एकछिन रोकिए…… अनि फेरी बोले ), ‘जुन जोगी आए पनि कानै चिरेको ।’

म पनि कुनै दिन सामन्ती सत्ताको समूल नष्ट गर्नुपर्छ भनेर हिंडेको मान्छे हुँ । हाम्रो शासन आएको दिन सबै ठिक हुन्छ भन्दै आएँ । आज आफैं लघारिएँ । एक पेट खाना मलाई गाह्रो छ । सँगैकाले कसरी आलिशान बंगला बनाए म छक्क पर्छु । राजनीति कसरी स्खलित हुँदै गयो ? आफैंलाई प्रश्न गर्न मन लाग्छ ।

व्यक्तिगत महत्वाकांक्षाले अवसरवादी चरित्र निर्माण गर्दोरहेछ । हामीसँगै हिंडेका अहिलेका प्रधानमन्त्री त्यस्ता थिएनन् । सत्ताले उनको मति भ्रष्ट बनाएछ । नेतृत्वमा बुद्धि पलायो तर ठग्ने, ढाँट्ने, बिगार्ने काममा मात्र प्रयोग भयो । मानवीय चेतनाको सौन्दर्य अनि आध्यात्मिक चेत उसले गुमाएको छ । ऊ आज कुपात्रमा परिणत भएको छ तर पनि सबैको सम्मान पाएको भ्रम छ उसमा । नाता रोगले उसलाई गाँजेको छ ।

जनताले दुख पाए भनेर अनेक संघर्ष गरेर प्रजातन्त्र ल्याइयो । त्यसले पनि जनाताको जीवनस्तर माथि लान सकेन । फेरि संघर्ष गरेर लोकतन्त्र ल्याइयो अनि हामी गणतन्त्रमा प्रवेश गर्यौं । समान्ती संस्था भनेर राजतन्त्र हटायौं । अब त केही होला भनेको झन् अवस्था जर्जर बन्न थाल्यो ।

एक राजाका ठाउँमा अनेक राजा उदाए । स्वार्थी जमात राजनीतिमा हावी भयो । इमान्दारहरु पाखा लागे, लगाइए । व्यक्तिगत स्वार्थले नैतिकता बन्धक भयो । यो राजनीतिक अस्थिरता र अराजकताबाट कहिल्यै मुक्ति नमिल्ने भो ।’ बाको अनुहार अलि न्याउरो देखियो .

एकैछिन वातावरणमा सन्नाटा छायो । कोही बोलेनन् । बाले नै मौनता तोड्नुभयो । ‘गरिब निमुखा हामीजस्ता जनता गरिबीको जाँतोमा पिसिएकै छौं । कयौंले रोग, भोक तथा प्राकृत्तिक विपत्तिमा परेर ज्यान गुमाएकै छन् । सरकार धृतराष्ट्र बनेर बसेको छ । अभिभावक कस्तो हुन्छ ? जनताले महसुस पनि गर्न पाएका छैनन् . चित्तवृत्ति बिथोलिएर दिशाहीन बनेको सरकारले भुँइ मान्छे देख्नै छाडेको छ ।

उपचार नपाएर र भोकै कसैले मर्नुपर्दैन भन्ने ध्वनी विलुप्त हुन नपाउँदै कीर्तिपुरमा सूर्यबहादुर तामांगले खान नपाएर मृत्यु वरण गरे । लोकतन्त्रमा अन्यायमा कसैले पर्नु पर्दैन भन्दा भन्दै नन्दप्रसाद अधिकारीको सत्याग्रह मै जीवन गयो । ‘हामीले बलिदान दिएर ल्याएको गणतन्त्रमा नातावादको कुनै स्थान हुँदैन ।’ यस्तो मन छुने कथनको अगाडी ईश्वर पोखरेलका सम्धी भएकै नाताले सात सात पटक उपेन्द्र कोइरालाले महत्वपूर्ण पद पाए ।

हरुवा वामदेवलाई गणितीय खेल मिलाउन चोर बाटोबाट राष्ट्रिय सभामा भित्र्याइयो । बाले लामो सुस्केरा हाले (खुईईईइय ) अनि भने – ‘मेरा प्रिय मित्र डीकेन्द्र राजबंशीले नेताहरुको हेपाहा व्यवहारले पार्टी कार्यालयमै आत्माहत्या गरे, जो झापा विद्रोहका योद्धा थिए । उनैले पहिलो पटक मलाई राधाकृष्ण मैनालीसँग भेट गराएका थिए । आज पनि कयौं निष्ठावान् योद्धाहरु गाँस, वासको अभावमा सडकमा छन् ।

अहिले भोक र रोगले कत्तिले आत्महत्या गर्दैछन् त्यसको सूची छैन सरकारसँग । छ त केवल मन्त्री फेरबदलको सूची । हुन त धेरै अघि विस्टन चर्चिलले भनेका थिए, ‘संकट भनेको शासक लागि स्वार्थानुकूल चलखेल गर्ने मौका हो ।’ त्यस्तै देखिएको छ अहिले । महामारीका वेला पनि भ्रष्टहरुले छाडेनन् । राष्ट्रको ढुकुटीमा ब्रह्मलुट मच्चिएकै छ । जनताको विरासद गणतन्त्र बदनाम हुँदै गएको छ । राज्यशक्तिमा बसेर मनोमानी गरिरहेका शासकहरु आउने पुस्ताका लागि पनि खतराका संकेत बनेका छन् ।

अहिलेका शासकले विरासदका रुपमा खराब संस्कार छाडेर गए भने हामी झन् लामो समयसम्म विकृतिको गर्तमा फँस्ने छौं । यो संस्कार शनैशनैः विकसित हुँदै छ । भ्रष्टाचार एउटा कुरा हो तर चरित्र र संस्कार गम्भीर कुरा हुन् । खराब चरित्र र संस्कार दुवैको विकास ढिलो हुने भए पनि हटाउन नसकिने खराब तत्त्व हुन् ।’

बा रोकिए । एउटा युवक बोल्यो ‘तपाइँ पनि एउटा योद्धा पो हुनुहुँदोरहेछ . वास्तवमा सर्वहारा भनेको के हो ? यो कहाँ हुन्छ ?’ उसले प्रश्न गर्यो । बाले सहज रुपमा उत्तर दिए ‘यो शब्दको परिभाषा फेरिएको छ । यो चतुर मानिसको मुखमा हुन्छ अनि मजस्ता निष्ठावान् को हृदयमा हुन्छ । उनीहरुको मुखमा मात्र हुने हुनाले चतुरहरु शक्तिमा पुगेपछि यो शब्दको मर्मलाई चपाएर खाइदिन्छन् अनि हामीजस्ता लाखौँ निष्ठावान् कार्यकर्ताले यसलाई हृदयमा राखेका हुन्छौं ।

चीन, फ्रान्स, अनि रुसको इतिहास हामीलाई खुब मन पर्थ्यो । उनीहरुका देशमा भएका क्रान्ति हामीले खुब पढ्यौं एकताका । ती राता किताबहरु आज पनि मैले हिफाजतका साथ राखेको छु । चीनमा सन्यात्सेन,माओत्सेतुङ,चाउ एन लाई ,देंगस्याओपिंग थिए । जसले मार्गदर्शक बनेर एउटा गतिशील योजना बनाएर सुदूर भविष्यको यात्रामा देशलाई अगाडी बढाए ।

त्यसैको परिणाम आजको शक्तिशाली चीन भएको छ । हाम्रो मातृभूमिले त्यस्ता सुपुत्र पाउनै सकेन । दलाली युगको अन्त्य गर्छु भन्नेहरु नव दलाल भए । अपराध र राजनीतिको मित्रता बलियो बनेको छ । संसदमा अपराधी राजनीतिज्ञ बनेर धेरै पटक छिरेको हामी साक्षी छौं ।

न्यायपालिका वेथितिको घर भएको छ । न्यायालयको निष्पक्षताको भाष्य फेरिएको छ । आम जनता न्याय मरेको विभत्स तस्वीर हेर्न बाध्य छन् । भ्रष्ट आचरणका न्यायाधीश राजनैतिक शक्तिको आडमा नेतृत्वमा पुग्दा न्यायको बलात्कार हुँदैछ । राजनीतिले शिक्षा,स्वास्थ्य, मानवअधिकार सबै अंगलाई काम नलाग्ने बनाउँदैछ ।

पल्लो चौरबाट अवाज आउन कम भयो । फेरि साइरन बज्यो । ‘सायद मदनकी श्रीमती गर्मी भएर शीतल निवासतिर लागिन् होला ।’ एक हुल मानिस भात खुवाउने ठाउँतिर दौडिए । हामी पनि त्यतै लाग्यौं । मनकारीहरुले भात खुवाए । भोलि भेट्ने भन्दै ती दुवै युवा पनि हिंडे । बा र म पनि बाटो लाग्यौं । यसरीनै हामीले पनि मनायौं यस पटकको गणतन्त्र । गणतन्त्रको जय होस् !

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: