गतिशील ज्ञानेन्द्र

  प्रकाशित मिति
२ पुष २०७३, शनिबार १५:११


gyanendra-ghimire2
भनिन्छ – ‘निरन्तरताले नै मानिसलाई सफल, सक्षम र असल बनाउँछ ।’ वास्तवमै हामीले निरन्तर कुनै काम गर्यौँ भने साधारण देखिने कामबाट पनि असाधारण सफलता हासिल गर्न सक्छौँ । झापा मेचीनगर–१० काँकरभिट्टाका ज्ञानेन्द्रकुमार घिमिरे पनि सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका एक जना कुशल, असल र सफल सामाजिक व्यक्तित्व हुन् ।
काँकरभिट्टाको मिनिमार्केटमा रहेको घिमिरेको कौशिला खुकुरी पसलमा पुग्दा प्रायः उनी कसैको मुद्दा मिलाउन वा कुनै सामाजिक कार्य गर्ने योजना व्यस्त हुन्छन् । ‘सामाजिक कार्यकर्ताको कामै यही हो’, उनले भने – ‘विभिन्न खाले समस्या बोकेर आउने सर्वसाधारणलाई फकाइफुल्याई गर्नु पर्छ, साधारणदेखि जटिलसम्मका मुद्दा बोकेर आउनेलाई उचित सल्लाह दिनुपर्छ ।’

खुकुरी पसल सञ्चालन गर्ने ज्ञानेन्द्रकुमार घिमिरेका जीवनका धेरै उकाली ओराली ‘खुकुरीको धार’ हुँदै अघि बढेका छन् । उनीसँग कोइलाखानीमा जीवन जोखिममा पारेर बिताएका कालातीतदेखि सामाजिक क्षेत्रमा स्यावासी पाएका सुखद् स्मृति पनि छन् । त्यसैले उनी मेचीनगरका सामाजिक अगुवाका रुपमा दरिएका हुन् । घिमिरे भन्छन् – ‘मैले केही गरेको छैन, केही गर्ने अवसर समाजबाटै पाएको हुँ ।’

घिमिरेको ‘कौशिला खुकुरी पसल’ छ । कुराकानीको थालनी पनि त्यहीबाट भयो ।

‘तपाई रिस उठ्दैन ?’
उनले सहज उत्तर दिए – ‘कति रिसाउनु ? अब त कसैले कुटे पनि रिस उठ्दैन ।’

–‘खुकुरीको पसल छ, कहिलेकाही त आक्रोशमा खुकुरी निकालेर जान पनि मन लाग्दो हो नि ?’
उनले मुस्कुराउँदै भने –‘त्यस्तो हुँदैन, यो मेरो व्यवसाय हो । त्यस्तो भावना कहिल्यै आउँदैन ।’ उनको व्यवसायप्रतिको निष्ठा यसबाटै प्रष्ट हुन्छ ।

वि.सं. २०२१ साल असार ३२ गतेका दिन बुबा तुलसीराम र आमा जलपादेवीको कोखबाट कान्छो सन्तानका रुपमा ज्ञानेन्द्रकुमार जन्मिएका हुन् । उनका १० जना दाजुभाइ दिदीबहिनी छन् । ओखलढुङ्गाको बिलन्दुबाट नेपाल प्रहरीमा कार्यरत अन्तरे दाजु डिल्लीरामका साथमा २०३७ सालमा झापा आएका उनीले ओखलढुङ्गाको च्यानमस्थित प्रबुद्ध माविबाट एसएलसी पास गरेका छन् ।

कोइलाखानीको कथा
झापा बसाई सुरुमा सहजै थियो घिमिरेका लागि । तर, उमेरसँगै जिम्मेवारी बढ्न गयो । उनले कहिले गाडी बुकिङको काम गरे । कहिले पान दोकान गरिहेरेँ । तर, सन्तोसजनक आन्दानी कहीँबाट पनि भएन । उनी भन्छन् –‘त्यसैले पैसा कमाउने सोच बोकेर मेघालयको जयन्तियातर्फ लागियो ।’ मेघालयको बसाई सहज थिएन । नेपालीले पाएको दुःख कथाझैँ सुनेका घिमिरे त्यो प्रताडना प्रत्यक्ष भोग्न विवश भए ।

‘नेपालीमाथि ठूलो विभेद र अन्याय थियो, हत्या हुँदा पनि बोलिदिने कोही हुँदैनथ्यो’, कहालीलाग्दो विगत सम्झिए उनले – ‘कोइलाको कामभन्दा त्यहाँका नागरिकको दुव्र्यवहार डरलाग्दो थियो ।’ २०४० सालदेखि २०४७ सालसम्म कोइलाखानीको काममै बित्यो । र, नेपाल फर्किएपछि उनी खुकुरीको दोकानतिर लागे ।

मेघालयबाट फर्किएपछि ज्ञानेन्द्रकुमार घिमिरेले व्यापार बृद्धिमै ध्यान केन्द्रित गरे । र, २०५३ सालमा जलथलकी लिला बिमलीसँग वैवाहिक बन्धनमा बाँधिए । २०५४ सालदेखि आफ्नै व्यवसाय सुरु गरेका घिमिरेले २०६० सालबाट खुकुरीको पसल सञ्चालन गरेका हुन् । एक छोरा र एक छोरीका अभिभावक ज्ञानेन्द्र र लिला एउटै व्यवसायमा निरन्तर लागे सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् ।

मेचीनगरका धेरै सामाजिक तथा व्यावसायिक सङ्घसंस्थामा उनले नेतृत्व गरिसकेका छन् । राष्ट्रिय उद्योग व्यापार सङ्गठन, नर्थ प्वोइन्ट स्कूल र घरबाहल समन्वय समितिमा अध्यक्षको जिम्मेवारीमा रहेका घिमिरे काँकरभिट्टा खानेपानीका सचिव तथा पूर्वी नेपाल यातायात व्यवसायी सङ्घका मुख्य सल्लाहकार हुन् । मेची सामुदायिक सेवा केन्द्र, मेची उद्योग वाणिज्य सङ्घ आदि सङ्घसंस्थामा क्रियाशील घिमिरे नेकपा माओवादी केन्द्र मेचीनगर–१० का अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: