गर्मी अझै बढ्छ ः मौसमविद

  प्रकाशित मिति
२७ बैशाख २०७६, शुक्रबार १०:३१


।। अर्जुन कार्की ।।

झापा । मेचीनगर–१५ स्थित हेल्दुबारीका ४५ वर्षीय लवकुश मर्डी बुधबार दिउँसो १ वजे मेचीपारीको बगरमा काम गर्दागर्दै बेहोश भए । मर्डी बेहोश भएर लडेको देखेर नजिकै काममा व्यस्त किसानहरुले उनलाई उठाए ।

मर्डीलाई ३÷४ जना साथीहरुले बोकेर खेतदेखि नहर छेउको शितलमा ल्याएर ओत लगाए । साथीहरुले उनको निधारमा पानीले भिजेको कपडाले पानीपट्टि गरे । दश मिनेटपछि होश फिरेका मर्डीले हल्का आराम भएको महसुस गरे ।

छिमेकी किसान मित्रहरुले मर्डीलाई सोधे–‘तपाईलाई के भएको थियो ?’
मर्डीले भने–‘विहान चिया नास्ता खाएर बगरको खेतको बालुवामा फलेको आलु खोतले । दिउँसो १२ वजे घर गएर खाना खाएर फेरि आलु खोतल्न आए । टनटलापुर घाममा बालुवामा फलेको आलु खोतल्दै गर्दा गर्मीले सहनै नसकेर होला म त बेहोश भएछु ।’

हेल्दुबारीको घरदेखि करिव एक किलोमिटर टाढा मेचीपारीको खेतमा आलु टिप्न एक महिनादेखि निरन्तर खेतमा धाउने गरेका छन् मर्डी ।

एक नम्बर प्रदेशको विभिन्न जिल्लामध्ये झापामा पछिल्लो एकहप्तादेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ ।

केही दिनयताको चर्को घामले जनजीवन पूरै प्रभावित भएको छ ।

वायुमण्डल सफा रहँदा सूर्यको किरणले शरीर पोल्ने गरी बढेको तापक्रम अझै केही सातासम्म बढ्ने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ ।

वायुमण्डलीय तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घर बाहिर निस्किनसमेत समस्या भएको छ । झापा, मोरङ, सुनसरी, सप्तरीसहित अधिकांश जिल्लामा चर्को गर्मीका कारण सर्वसाधारण पीडित बनेका छन् ।

अत्याधिक गर्मीले बजार, शैक्षिक संस्था, कलकारखाना, सरकारी कामकाज समेत प्रभावित हुन थालेको छ ।

मौसममा सुधार नआउँदा विशेषगरी स्वीमिङ पुल, कोल्ड सेन्टर, होटल तथा पसलमा ग्राहकको भीड बढ्न थालेको छ । ‘गर्मीले घरमा बस्न सकिँदैन’, भद्रपुर बजारमा भेटिएकी सरिता पोखरेलले भनिन्–‘आइसक्रिम खाँदा केही राहत महशुस भयो ।’

बालबालिकादेखि बृद्धबृद्धासम्मले नै चिसो र तरल पदार्थप्रति ध्यान दिइएको पाइन्छ । वायुमण्डलीय तापक्रम बढी रहँदा सोमबार झापाको तापक्रम ३७ डिग्री सेल्सियस पुगेको थियो ।

मङ्गलबार झापाको तापक्रम करिव ३४ डिग्री सेल्सियस पुगेको नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख पुर्ण चूडालले जानकारी दिए । उनले बुधबार झापाको तापक्रम करिव ३३ डिग्री सेल्सियस पुगेको बताए ।

गत वर्ष २०७५ को जेठ महिनामा झापामा पछिल्लो पाँच वर्षकै सबैभन्दा बढी ३८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । मौसम पुर्व अनुमान महाशाखा काठमाडौँकी मौसमविद मञ्जु वासी (नेवार)ले मङ्गलबार, बुधबार र विहीबारको तापक्रम करिव ३७ देखि ३३ डिग्री सेल्सियसको अनुपातमा रहने बताइन् ।

‘बङ्गलादेश तथा भारतको फानी (समुन्द्री आँधी)ले नेपाललाई पनि केहि अप्ठयारो पारेको छ, वासी भन्छिन्–‘तर, अहिले हावाको दवाव कम छ । जमिन तातिएर तापक्रम बढेकोले गर्मी स्वभाविकरुपमा बढेको हो ।’

वैशाख र जेठ महिनामा अत्याधिक गर्मीको प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले पठनपाठनलाई सुस्त पारेका छन् । यद्यपि, विद्यालयबाट फर्किने तथा टिफिनको समयमा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर तथा धरानका अनुसार वर्षा नभएका कारण पूर्वी क्षेत्र गर्मीको मारमा परेको छ ।

गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूलको जुसको व्यापार बढेको छ । बजारमा बरफ, आइसक्रिम, कुल्फी आदि र अन्य तयारी पेयपदार्थको माग अत्यधिक बढेको व्यापारीहरु बताउँछन् ।

दिउँसो सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।

गर्मी छल्न पेयपदार्थ पिउँनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन् । हावा हुरी र गड्याङगुडुङ्ग हुने वित्तिकै विद्युत आपूर्ति पनि बन्द हुने गरेको छ ।

चिसो अर्थात शितल हुने कपडा लगाउने, घाममा बाहिर ननिस्कने, पसिना बढि आएमा ज्वरोलगायतका विरामीले थला पार्न सक्ने भएकाले सचेत रहन चिकित्सकको सुझाव छ । पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने, घाममा निस्कँदा छाता ओढेर निस्किनु पर्ने चिकित्सकको भनाई छ ।

बेलाबेला पानी पर्दा वायुमण्डलीय तापक्रम घटाउन सहयोग गर्ने भए पनि पछिल्लो एक साता यता पानी परेको छैन । झरी हुने कतै, कुनै सम्भावना छैन, जसले गर्दा गर्मी बढ्ने क्रममा रहँदा सर्वसाधारण अझै बढी छटपटिरहेका छन् ।

मौसम पुर्व अनुमान महाशाखा काठमाडौँकी अर्की मौसमविद विभुति पोखरेलले आगामी शुक्रबार सामान्य हावाहुरीका कारण वर्षा हुन सक्ने दावी गरिन् । उनको भविष्यवाणी सही ठहरियो भने गर्मी पीडितहरुले केही राहत पक्कै पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: