गलत काम गरेको पुष्टि भए कुर्सीमा बस्दिन

  प्रकाशित मिति
१० आश्विन २०७५, बुधबार ११:३६


मेचीनगर । धुलाबारीको जग्गाको विषयमा उत्पन्न विवादका बारेमा मेचीनगर नगर प्रमुख बिमल आचार्यले आफुले गरेका काम कानुन सम्मत रहेको बताउँदै गलत काम गरेको पुष्टि भए प्रमुखको कुर्सीमा नबस्ने घोषणा गरेका छन् ।

नगर प्रमुख आचार्यले मङ्गलबार पत्रकारहरुसँगको भेटमा धुलाबारीको जग्गाको बिषयमा नगरपालिकाको सम्बन्धित शाखाबाट कानुन सम्मत रुपमा आएको फाइललाई नगर प्रमुखको अधिकार भित्र रहेर आफुले अगाडि बढाएको दाबी गरे ।

नगर प्रमुख आचार्यले जनताबाट निर्वाचित भएर नगरपालिकामा गइसकेपछि पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने र आफुले सोही अवधारणामा काम गरेको दाबी गरेका हुन् ।

धुलाबारीको जग्गाको विषयमा यसअघि नै नगरपालिकामा प्लटिङको नक्सा तथा मालपोतले अंशबण्डा गरेको बारेमा उप–प्रमुख सहित पटक–पटक छलफल भएको अवस्थामा एकाएक उप–प्रमुखकै अगुवाईमा कार्यपालिका सदस्यहरुले दलगत रुपमा विज्ञप्ति जारी गरेर केही थाहा नपाएको भन्नुले आफु आश्चर्यमा परेको प्रमुख आचार्यले बताए । आफु यो विषयमा खुल्ला छलफल गर्न तयार रहेको समेत उनको भनाइ छ ।

नगरपालिकाको नाममा दर्ता भएका बिगौँबिगा जग्गा नगरपालिकालाई कुनै शुल्क नबुझाई बर्षौँदेखि विभिन्न व्यक्तिहरुले भोगचलन गरिरहेका तर त्यस बिषयमा आफुले प्रक्रिया अगाडि बढाउँदा कसैले चासो नदिएको उनले गुनासो गरे ।

प्रमुख आचार्यले कानुन सम्मत प्रक्रियामा रहेको धुलाबारीको जग्गाका बिषयमा मात्र यति धेरै कुरा किन भइरहेको छ भनेर आफुले नबुझिरहेको उल्लेख गरे । नगर प्रमुख आचार्यका अनुसार नगरका अन्य जमिनमा भएको अतिक्रमण रोक्ने प्रक्रिया आफुले सुरु गर्दा कसैबाट सहयोग नपाएको गुनासो समेत गरे ।

नगरपालिकाको सिफारिसलाई लत्याएर मालपोत कार्यालयले जग्गा अंशबण्डा पास गरेपछि सबै मिलेर मालपोत कार्यालयलाई दबाब दिनुपर्ने अवस्थामा नगरकै प्रतिनिधिहरु आफुलाई बदनाम गराउन लाग्नुले समस्या थपिएको प्रमुख आचार्यको भनाइ छ ।

मेची पुल निर्माणको प्रक्रियामा ४४ घर स्थानीयको थातथलो उठ्ने अवस्थामा उनीहरुका लागि आफुले सम्माजनक पुनर्वासको लागि लागिरहेको र यस बिषयमा सङ्घ र प्रदेश सांसदहरुलाई समेत जानकारी गराएर अगाडि बढेको भएपनि अहिलेसम्म क्षतिपूर्तिको प्रक्रिया टुङ्गोमा पुग्न नसकेको बताउँदै प्रमुख आचार्यले धुलाबारीको जग्गाको विषयको विवाद उठान गरेर नगरपालिका भित्रै सहजरुपमा काम गर्ने वातावरण बिगार्ने प्रयास भएको बताए ।

मेचीनगर वडा नं. १० स्थित धुलाबारी उत्तर तर्फको साविक चिया विकास निगमको कार्यालय रहेको स्थानको सुवासराज काफ्लेको नाममा रहेको ५ बिगाहा १८ कठ्ठा जग्गा व्यवसायिक प्रयोजनका लागि प्लटिङ गरी नगरपालिकाबाट मापदण्ड अनुसार ५ प्रतिशत जग्गा खाली स्थानका लागि छोडेर नक्सा स्वीकृत भए पनि मालपोत कार्यालय झापाले उक्त जग्गा अंशबण्डा पास गरी व्यवसायिक प्रयोजनबाट हटाएर ब्यक्तिगत जग्गाका रुपमा परिणत गरिदिएपछि उक्त खुल्ला स्थानका लागि छोडिएको ५ कठ्ठा १८ धुर जग्गामा जग्गाधनी काफ्लेले होटल बनाउने प्रयोजनका लागि नगरपालिकामा नक्सा स्वीकृतिको लागि पेश गरेका थिए ।

जग्गाधनीले प्रस्ताव गरेको ९ तले होटलको नक्सा सम्बन्धी अध्ययन गरि जानकारी दिने भवन तथा शहरी विकास विभाग काठमाडौँका लागि प्रक्रिया अगाडि बढाएपछि विवाद उत्पन्न भएको थियो ।

सोही विषयलाई लिएर नेकपा मेचीनगरले असोज २ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो भने असोज ३ नगर प्रमुख आचार्यले प्रेस विज्ञप्ति जारी गरी स्पष्ट पारिसकेका छन् ।

तर, असोज ७ गते उप–प्रमुख मीना उप्रेतीको अगुवाईमा नेकपा संसदीय दल मेचीनगरले प्रेस विज्ञप्ति नै जारी गरी नगर प्रमुख आचार्यले आफुहरुलाई जानकारी नगराई एकलौटी ढङ्गबाट धुलाबारीको जग्गामा बन्ने होटलको नक्सा स्वीकृतिको प्रक्रिया अगाडि बढाएको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: