झापा । मङ्गलबार दिउँसो बेइजिङ र नयाँदिल्लीबाट लगभग उस्ताउस्तै समयमा एउटा समाचार सार्वजनिक भयो ।
भारतीय सैनिकले एक विज्ञप्ति जारी गर्दै लद्दाखको गल्वानमा उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा परी एक अधिकृतसहित आफ्ना तीन जना सैनिकको मृत्यु भएको जानकारी दियो ।
सोमबार रातिको उक्त घटना गल्वानमा पछिल्लो समय देखिएको तनाव मत्थर पार्न दुई देशबीच वार्ता चलिरहेका बेला भएको थियो । पछिल्लो समय गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरेर गस्ती गरिरहेको भारतको दाबी छ ।
केहीबेरमै बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले सोमबारको घटनाको पुष्टि ग¥यो। सोमबार भारतीय सैनिकले यसअघिको सहमति विपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेको चीनको भनाइ छ ।
‘त्यसपछि भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको हो,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।
झडपका क्रममा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको भारतको दाबी छ । तर बेइजिङले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन ।
यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनापछि मंगलबार भारतका तीन वटा सैनिक संगठनका प्रमुखहरूसँग छलफल गरेका छन्। उक्त छलफलमा विदेश मन्त्री एस जयशंकर पनि सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुबै देशका अधिकारीहरूले परिस्थितिलाई थप बिग्रन नदिन वार्ता भइरहेको जनाएका छन्। तर यो घटना यत्तिकै मत्थर हुने सम्भावना भने झिनो छ किनकी ४५ वर्षपछि भारत–चीन सीमामा पहिलो पटक भारतीय सैनिकको मृत्यु भएको हो ।
भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ । त्यसमध्ये अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन ।
भारत स्वतन्त्र भएपछि सन् १९६२ मा चीन(भारतबीच युद्ध भएको थियो। उक्त युद्ध चीनले जितेको थियो । त्यसपछि पनि सीमाका विभिन्न ठाउँमा दुई देशका सेना आमनेसामने भइरहन्थे। तर सन् १९७५ यता सीमामा दुबै देशका सैनिकले एकअर्काको ज्यान लिएका थिएनन् ।
१९७५ मा अरूणाञ्चलको तुलुङ लामा दुई देशका सैनिक भीडेका थिए । लद्दाखमा त सन् १९६२ को युद्धपछि दुबैतिर अहिलेसम्म कुनै हताहती भएको थिएन ।
पछिल्लो समय भारत र चीनबीचको व्यापार बढ्दै गएको छ। संसारकै पहिलो र दोस्रो ठूलो जनसंख्या भएका यी छिमेकीबीच व्यापार बढ्नु स्वभाविक हुने नै भयो। व्यापार र सहकार्य बढेका बेला सीमामा कुनै हताहती नहोस् भनेर सीमा गस्ती गर्ने दुबै देशका सैनिकहरू बिना हतियार हिँड्थे । उनीहरू विवाद हुँदा धकेलाधकेल र मुक्का हानाहानमात्र गर्थे ।
भारत र चीन दुबै आणवीक शक्ति राष्ट्र हुन्। तर पछिल्लो समय चीनले आफ्नो सैन्य क्षमता व्यापक रूपमा बढाएको छ । अहिले भारतको भन्दा चीनको सैन्य क्षमता ६२ गुणा ठूलो भएको बताइन्छ। अमेरिकापछि रक्षामा ठूलो बजेट खर्च गर्ने चीन दोस्रो राष्ट्र हो ।
राष्ट्रपति सीले सत्ता सम्हालेदेखि नै उनी चीनको क्षमता लुकाएर राख्ने होइन प्रदर्शन गर्ने पक्षमा छन् । सोहीअनुसार चीनले भारतीय सीमामा अतिक्रमण बढाएको भारतीयहरूको बुझाइ छ ।
केही दिनअघि द वायरसँगको अन्तर्वार्ताका क्रममा भारतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननले पछिल्लो समय सीमामा भइरहेको विवाद निकै चिन्ताजनक भएको बताएका थिए ।
‘चीन अहिलेसम्म कायम रहेको यथास्थितिलाई बदल्न खोज्दैछ। दोक्लममा उ दुई कदमअघि बढेर एक कदम पछि हटेको थियो । अहिले गल्वानमा पनि सैनिक भारत नियन्त्रित भूमिमा धेरै भित्रसम्म छिरेका छन् र एक कदम पछि हटेर पहिलाको भन्दा नयाँ परिस्थिति सिर्जना गर्न खोज्दैछन्,’ मेननले भनेका छन् ।
सोमबारको घटनामा हतियार प्रयोग भएको थियो कि थिएन भन्ने खुलेको छैन । पछिल्ला केही दिनदेखि लद्दाखमा दुई देशबीच तनाव जारी छ ।
मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल भएको थियो । उक्त धकेलाधकेलमा परी दुबैतर्फका केही सैनिकहरू घाइते भएका थिए ।
चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर केही किलोमिटभित्र भारतीय भूमिमा आएपछि तनाव भएको भारतको दाबी छ ।
सीमामा तनाव बढेपछि दुबै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति पनि बढाएका छन् ।
पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको दाबी छ । चिनियाँ सञ्चारमाध्यमहरूले आपतकालीन अवस्थामा कसरी चिनियाँ फौज लद्दाखको सीमासम्म पुग्न सक्छ भनेर केही दिनअघि एक भिडिओ सार्वजनिक गरेका थिए ।
चीन र भारतको सीमामा भइरहेको तनावबारे अमेरिकाले पनि चासो राखेको छ । मेको सुरूमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा विवाद समाधान गर्न अमेरिका मध्यस्ता गर्न तयार रहेको बताएका थिए । ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए– ‘दुबै देशलाई अमेरिकाले मध्यस्थता गर्न चाहेको मात्र नभई समस्या समाधान गर्न पनि सक्षम भएको जानकारी गराइसकेका छौँ ।’ (सेतोपाटीबाट)