गवारो र नेक व्लास्टले धान, फौजी किराले मकै सखाप

  प्रकाशित मिति
१५ जेष्ठ २०७७, बिहीबार १४:५७


भद्रपुर, १५ जेठ । ‘कोराना रोगसँग त लडौँला भन्ने थियो अब भोकले पो मर्ने भइयो’, झोलाभरि सुकेका चैते धानका बाला बोकेर बुधबार झापा गौरादह नगरपालिकाको कृषि शाखा कार्यालयमा हस्याङ्–फस्याङ् गर्दै आएका विमला धमला र सुजाता भट्टराईले भने, ‘मुखमा आइसकेको बाली थन्क्याउन पाइएन, पाक्न नपाउँदै धानका बाला सुके, अब के खाएर बाँच्ने ।’

उनीहरुको जस्तै पीडा इमानसिंह तामाङ र सीता कार्कीको पनि छ । उहाँहरुले लगाएको खेतमा धान पहेलपुर भएर पाकेको छ तर बालामा चामल हैन भुस मात्र छ । तामाङले १५ कठ्ठा र कार्कीले १८ कठ्ठामा लगाएको चैते धान पुरै रोगले कामै नलाग्ने भएको छ । गतबर्ष १८ कठ्ठामा सय मन धान फलाएकी कार्कीले भन्नुभयो, ‘धान पाक्यो अब काट्नु पर्ला भनेर सोच्दै थिएँ एकाएक बाला पो सुक्न थाल्यो ।’

नगरपालिकाका अध्यक्ष रोहितकुमार साहले दैनिकजसो किसानहरु गवारो र नेक ब्लास्ट रोगले सखाप पारेको धानका बाला र निवेदन लिएर नगरपालिकाको कृषि शाखामा आइरहेको बताए । उनका अनुसार नगरपालिकाको वडा नम्बर १, २ र ४ का किसानको धान रोगले सखाप पारेको छ ।

एक हजार हेक्टर क्षेत्रमा लगाइएको धान बालीमध्ये ४५० हेक्टर जमिनको किसानको धान सबै सुकेर गएको पालिका प्रमुख साहले जानकारी दिँदै भने ‘थप क्षति हुन नदिन कृषि विज्ञहरुलाई ल्याएर रोग नियन्त्रणको उपाय खोजिरहेका छौ ।’ क्षति पुगेका किसानको तथ्याङ्क कर्मचारी खटाएर लिइरहेको उहाँले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह, कृषि क्याम्पस गौरादहका प्रमुख कृष्णहरि देवकोटा, बाली संरक्षण प्रयोगशाला विराटनगरको टोलीसहितले बुधबार गौरादहका रोग प्रकोप क्षेत्रका वडाका निरीक्षण गरेको छ । टोलीले निरीक्षणपछि रोग निदानका लागि वडा नम्बर १ स्थित कृष्णप्रसाद साहको तीन कट्टा धान बालीमा किटनाषक औषधि छिटेर नमूना परीक्षण समेत गरेको ज्ञान केन्द्रका प्रमुख सिंहले बताए ।

झापामा १९ हजार ८ हेक्टरमा चैत धान बालीको रुपमा हर्दिनाथ –१ जातको धान लगाइएको छ । धान बालीमा लागेको रोग समयमै उपचार गरे निर्मूल हुने ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले बताए । उनका अनुसार नमूनाका लागि ग्रास सिल र साइडोक्स नामक औषधि छिटिएको छ ।

किसानले विउमै उपचार नगर्दा यो समस्या आएको कृषि क्याम्पस गौरादहका प्राध्यापक कृष्णहरि देवकोटाले बताए । उनले किसानले परिश्रम गर्न जाने पनि प्राविधिक ज्ञानको अभावमा समयमै रोगको निदान गर्न नसकेको बताए । उनले भने ‘बाली लगाएपछि कुन समयमा के गर्ने भन्ने प्राविधिक ज्ञान नै किसानलाई छैन । विउमै उपचार गरेको भए या समस्या आउन सुरु हुने वित्तिकै किटनाषक औषधि बालीमा छिटेको भए पनि यस्तो सखाप हुने स्थिति आउने थिएन ।’

प्रदेश नम्बर १ को झापामा मात्र धान खेतीमा यो रोगको प्रकोप देखिएको हुँदा यसको निदान गरेर फैलिन नदिन प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरिएको बाली संरक्षण प्रयोगशाला विराटनगरकी अधिकृत सरस्वती श्रेष्ठले बताए ।

मौसमले समेत यो रोग फैलिन साथ दिइरहेको ज्ञान केन्द्रका प्रमुखको भनाई छ । उनी भन्छन्, ‘यतिबेला तापक्रम ३५ डिग्रीभन्दा पनि माथि हुनुपर्ने हो तर ३० पनि नघटेको अवस्था छ । यस्तो बेला यो रोगले बालीमा सजिलै आक्रमण गर्छ ।’

मकैमा पनि उस्तै
झापामा धानसँगै मकैमा पनि फौजी किराको प्रकोप देखिएको छ । झापाको सयौं हेक्टरमा लगाइएको मकै बालीमा सुत्लो चेप्ने बेलामा फौजी किराले आक्रमण गरेको किसानहरुले बताएका छन् । झापाका ३६ हजार ५सय हेक्टरमा किसानले बसन्ते सिजनको मकै खेती गरेका छन् ।

अर्जुनधारा नगरपालिका १, ४, ८, ९, कमल गाउँपालिकाको वडा नम्बर १ र कचनकवल गाउँपालिकाको वडा नम्बर २, ४ का किसानले लगाएको मकै खेतीमा बढी फौजी किराको प्रकोप देखिएको ज्ञान केन्द्र प्रमुख सिंहले बताए । उनका अनुसार रोग नियन्त्रणका लागि स्थानीय तहहरुलाई किटनासक औषधि समेत वितरण गरिएको छ ।

फौजी किराको प्रकोपबाट झापामा ३७० हेक्टर जमिनमा लगाएको मकै बाली नष्ट भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: