गाउँका ‘राजा’

  प्रकाशित मिति
२८ आश्विन २०७३, शुक्रबार १६:४०


coverमुलुकमा राजा हटेको दस वर्ष भइसकेको छ । अर्थात् राजतन्त्र अन्त्य भई मुलुक गणतन्त्रमा प्रवेश गरिसकेको छ । तर, अझै पनि राजा छन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । हो, झापामा मात्र बसोबास गर्ने एक समुदायमा अहिले पनि राजाले ‘राज’ गरिरहेका छन् । लोपोन्मुख किसान समुदायमा राजा राख्ने प्रचलन रहिआएको छ । समुदायमा हुने गरेका झैझगडा तथा बिहेवारीमा राजाको भूमिका निर्णायक हुन्छ । अचम्म त के छ भने यो समुदायमा हुने गरेका मुद्दा मामिला प्रहरी कहाँ अक्सर पुग्दैन । अर्थात् समाज बोलाएर राजाले मुद्दाको छिनोफानो आफँै गर्ने गर्दछन् ।

यिनीहरू राजालाई ‘महतो’ भन्छन् । महतो समुदायकै उच्च पद हो । त्यसपछि वकिल र सिपाही हुन्छन् । ‘महतोले समाजका मुद्दा÷मामिला मिलाउने तथा संस्कार र संस्कृति जगेर्नामा जोड दिन्छन्’–समुदायका अगुवा एवम् पूर्व राजा जोगीले भने । किसानमा पुस्तैनी महतो राख्ने प्रचलन छ ।

भाविर किसान करिव १६ वर्ष राजा भए । यिनको मृत्युपछि भतिजा सिक्ला किसान राजा बनाइए । राजाको निश्चित कार्यावधि हुँदैन । राजाको मृत्युपछि जेठो छोरा राजा हुन पाउने चलन भए पनि भाविरका तिनवटी छोरी मात्रै भएकाले भतिजा सिक्ला राजा बनेका हुन् । तर, सिक्ला दुई वर्ष अघि वैदेशिक रोजगारका लागि विदेसिएपछि उनको जिम्मेवारी बुवा सुर्तुलले पाएका छन् ।

किसान जातिभित्र हुने विवाह, मृत्युलगायतका संस्कारमा राजा नभई हुँदैन । ‘राजाविना हाम्रो सबै कर्म अपूरो हुन्छ’, जोगी किसानले भने–‘राजालाई गाउँका मुखियाका रूपमा हेरिन्छ ।’ कुटपिट, लेनदेन, सम्बन्धविच्छेद, अन्तरजातीय विवाह सबै मुद्दा राजाले मिलाउँछन् । कुटपिट गर्नेहरूबाट जरिवानावापत् जाँड र दुईवटा धोती लिइन्छ भने अन्तरजातीय विवाह गर्नेलाई खसी र रकम तिराइन्छ । अनि भेला बोलाएर भोजभतेरको आयोजना गरिन्छ । अन्तरजातीय विवाह गर्दा जरिवानावापत् कम्तिमा पाँच हजार रुपैयाँसम्म लिइने गरेको किसान समुदाय विकास प्रतिष्ठानका अध्यक्ष कहरु किसान बताउँछन् ।

?
?

जीवनस्तर उकासिदै
सरकारले किसान जातिलाई लोपोन्मुख जातिका रूपमा मासिक भत्ता दुई हजार रुपैयाँ दिँदै आएको छ । त्यसले जीविकोपार्जनमा थोरबहुत सघाउ पुर्याएको अध्यक्ष कहरुले बताए । २०६० सालयता वैदेशिक रोजगारीले समेत किसानको जीवनस्तर व्रmमशः उकासिन थालेको छ । हालसम्म यो समुदायबाट ३० जनाभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् ।

किसान जाति शैक्षिक रूपमा पनि पछौटे छ । खासगरी झापाको मेचीनगर, धाइजन, शान्तिनगर, बाहुनडाँगी र बिर्तामोडलगायत क्षेत्रमा किसानको बसोवास छ । मूलथलो भारतको झारखण्ड र विहार भए पनि उनीहरू वर्षौँदेखि झापामा बस्दै आएका छन् । ‘हाम्रो पूर्खा इन्डिया हुँदा बगानमा काम गर्थे’, कहरु भन्छन्–‘काम छाडेर नेपाल छिरे अनि जङ्गल फाडेर बसोबास गरेको पाइन्छ ।’

नेपाल आएर बसोबास गरेको चार पुस्ता बितिसकेको उनी बताउँछन् । झारखण्डमा यिनीहरूलाई किसान तथा बङ्गालमा नगसिया भन्ने गरिन्छ । किसान र भारतका उराव जातिको भाषा, रहनसहन र स्वभावमा समानता भेटिन्छ । किसानको मातृभाषा भारोपेली समूहमा पर्छ । यिनीहरूको आफ्नो छुट्टै लिपी छैन ।

२०४८ सालको जनगणनामा किसानको जनसङ्ख्या करिव २ हजार ५ सय थियो । २०५८ मा थोरै बढेर २ हजार ८ सय ७६ पुग्यो । २०६८ सालको गणनामा किसानको जनसङ्ख्या ह्वात्तै घटेको छ । जसअनुसार १ हजार ७ सय ३९ छ । किसान समुदायका अगुवा भीमले अघिल्लो जनगणनामा पश्चिमका किसान र पूर्वका किसान जातिलाई एकै ठान्दा जनसङ्ख्या बढी देखिएको बताए । उनी भन्छन्–‘पश्चिमका किसान र पूर्वका किसान फरक हुन् ।’

बाग्लुङ, पर्वतलगायत जिल्लाका किसान दलित समुदायभित्र पर्छन् । पूर्वका किसानचाहिँ आदिवासी जनजाति हुन् । झापामा मात्र किसानको सङ्ख्या १ हजार ३७ छ । मोरङमा पनि किसानको थोरै सङ्ख्या बसोवास छ । किसानको जीविकोपार्जनको मूल स्रोत खेती किसानी नै हो । त्यो पनि अर्काको अधियाँ । ‘अर्काको खेत नजोती, धान नकाटी, दाइँ नगरे बेलुका भोकै भइन्छ’, मेचीनगर–४ मा बसोबास गरिरहेका जोगी किसानले भने–‘अहिलेसम्म अर्काकै कामले जीविका चल्दैछ ।’

कुनै समय जमिनदार रहेको यो समुदायलाई परिस्थितिले सुकुम्बासी बनाएको छ । धुलावारीमा कुनै बेला १० औँ बिघा जमिनका मालिक किसान परिवार अहिले सुकुम्बासी बनेका छन् । ‘हाम्रो जग्गा पहाडियाले हडपेका हुन्’, उनले भने–‘त्यही भएर हामी सुकुम्बासी भएका छौँ ।’

फेरिँदै संस्कृति
किसान समुदायले हिन्दु धर्म मान्छन् । दसैँ, तिहार, तीज, फागुलगायतका पर्व विशेषगरी मनाउने गरेका छन् । तर, चाडपर्व उनीहरू भिन्न तरिकाले मनाउँछन् । दसैँमा यिनीहरू टीका लगाउँदैनन् । भोजभतेर गरेर तथा नयाँ लुगा लाएर यो पर्व मनाउने गरेको अध्यक्ष कहरु बताउँछन् । पछिल्लो समय युवा पुस्ताले भने संस्कृति अनुरुप नै चाडपर्व मनाउन थालेका छन् । तीजमा यिनीहरू कर्मा पूजा गर्छन् । ‘कदमको रुखको हाँगा गाडेर गरिने पूजा नै कर्मा पूजा हो’, कहरुले भने–‘यसलाई हाम्रो समुदायमा प्रकृति पूजा पनि भन्छौँ ।’ विशेष गरी यो समुदायका महिला प्रकृतिलाई पुज्न ब्रत बस्ने गर्दछन् ।

(लोकतन्त्र पोस्टको दसैँ तिहार विशेषाङ्कमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: