गाउँघरका बाटा पनि कालोपत्रे बन्दै

  प्रकाशित मिति
५ जेष्ठ २०७६, आईतवार ०९:४२


  अर्जुन कार्की

बनियानी । वषौँदेखि विकासबाट ओझेलमा परेको दक्षिण पूर्वी झापाको कचनकबल स्थानीय तहको चुनावपछि जुरमुराउन थालेको छ ।
अहिले कचनकबल क्षेत्रमा पुग्दा बाहिरकाहरु अचम्म मान्छन् । किनकि अहिले वाटाघाटा, विद्यालय, अस्पताल, विजुली, पानी, नाला, कुलो, पोखरी, मठमन्दिर, खेतीपातीमा आशलाग्दो काम भइरहेको देखिन्छ ।

विकासका कामहरु द्रुत गतिमा भइरहेका छन् । भद्रपुरदेखि कचनकबलसम्मको ३० किलोमिटर सडक तथा गाउँपालिका भित्रका सहायक बाटाहरुको कालोपत्रे र मर्मत कार्य तिव्ररुपमा भइरहेको छ ।

देशकै सबैभन्दा होचो ठाउँ भनिएर चिनिएको केचना यसअघि सरकारी बजेटको प्राथमिकतामा कहिल्यै परेन । मुलुकको सबैभन्दा होचो ठाउँलाई सरकारले वर्षौदेखि होचै व्यवहार गरेको स्थानीय जनताको गुनासो सुन्न पाइन्छ ।

भद्रपुरदेखि ३० किलोमिटर दक्षिण कचनकबल गाउँपालिकासम्मको दक्षिणी भेगका अधिकांश जनताले सडक, विद्युत, टेलिफोन, इन्टरनेट, शिक्षा, स्वास्थ्यमा पहुँच पुर्याउन सकेका थिएनन् ।

यहाँका जनतालाई राज्यले हेर्ने दृष्टिकोण अलिक विभेदकारी रहँदै आएको थियो । किनकि यहाँ बसोबास गर्ने अधिकांश समुदाय हेपिएका र पिछडिएका छन् । जसले गर्दा उनीहरुलाई नेता तथा कार्यकर्ताले सँधै भोट बैङ्कको रुपमा मात्र प्रयोग गरेका छन् ।

कचनकबल गाउँपालिकाले ‘कचनकबल स्तम्भ तथा केचना झिल व्यवस्थापन’ सम्बन्धी गुरु योजना तयार गरेको छ । कचनकबल–४ स्थित स्तम्भदेखि केचना बजारसम्मको २ हजार ३ सय मिटर क्षेत्रमा झिल पार्कको परिकल्पना गरिएको छ ।

उक्त पार्क ३ देखि ५ वर्षभित्र निर्माण गरिसक्ने तयारी गाउँपालिकाको छ । पार्कका लागि करिव २० करोड बजेटको गुरु योजना बनाइएको छ ।
कचनकबलमा बसोबास गर्ने माझी, राजबंशी, सन्थाल, हरिजन, गन्धर्व, मुस्लिम लगायत समुदायका भेषभुसा र संस्कृतिको पहिचान झल्किने गरिका सामग्री राखिने उनले बताए ।

यहाँ सन्थाल, गणेश, यादव, माझी, दलित, राजवंशी र मुस्लिम समुदायको बाहुल्य छ । राजवंशीले ‘झिल’ लाई केचना भन्ने गरेका छन् । केचनाको पुरानो नाम ‘छट झिल’ भएको कचनकबल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको भनाई छ ।

२०४४ सालमा राजा वीरेन्द्र हेलिकप्टर लिएर यहाँ आउँदा सिमेन्टको एउटा स्तम्भ अनावरण भएको थियो । त्यही स्तम्भनै होचो ठाउँको चिनो भएको बुझाई छ । पुरानो नाम ‘छट झिल’लाई राजा वीरेन्द्रले नै ‘कचनकवल’ भनी नयाँ नामाकरण गरिदिएको हुनसक्ने आलमको भनाई छ ।

माघ र फागुन महिनामा स्तम्भको छेउमा उभिएर सगरमाथा र कञ्चनजङ्घा हिमाल सजिलै देख्न सकिने छ । सूर्य उदाएको र अस्ताएको समेत यहाँबाट सजिलै अवलोकन गर्न सकिने गाउँपालिकाको भनाई छ ।

भद्रपुरबाट ३० किलोमिटर दक्षिणमा रहेको कचनकबल पुग्न सडक र यातायातको सुविधा केहि सहज बन्न थालेको छ । जीर्ण भइसकेको स्तम्भ मर्मत गर्न सङ्घीय र प्रदेश सरकारबाट पूर्वाधार विकासमा सहयोग आउन थालेको छ ।

आन्तरिक आयस्रोत समेत पर्याप्त नभएको गाउँपालिकाबाट स्तम्भ मर्मतका लागि तत्काल १४ लाख छुट्याइएकोमा यसपाली प्रदेश सरकारबाट ५० लाख थपिएको छ ।

पर्यटक भित्राउन सडक आवश्यक भएकोले यसै आर्थिक वर्षमा ग्राभेल गर्नका लागि गाउँपालिकाले बजेट छुट्याएको हो । बनियानीदेखि स्तम्भ स्थलसम्म पुग्ने सडकसमेत राम्रो नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन नसकिएको आलमको बुझाई छ ।

कचनकबलको सीमापारी कादो गाउँका किसानले खेतीपाती मनग्ये गरेका छन् भने नेपालतिर जग्गा बाँझै रहने गरेको छ । अध्यक्ष आलमले स्थानीय किसानले कृषि राम्ररी नबुझेकाले यस्तो समस्या आएको बताए । अहिले कृषिका लागि २ करोड रुपैयाँ बजेट छुट्याएका छौँ ।

उनका अनुसार सुपरजोन लगायत कृषिजन्य कार्यक्रमका लागि किसान अहिले जागरुक हँुदै गरेको अवस्था छ । विदेश गएर थाकेकाहरु आफ्नो गाउँ आएर रोजगार प्रवर्धनमा लागेको उनको दावी छ । विदेश गएर फर्केका किसानहरु अहिले खेतीतिर आकर्षित हुन थालेको उनले दावी गरे ।

कृषि प्रविधिक केन्द्र स्थापना, १५ सय शैयाको अस्पताल निर्माण लगायतका काम पनि भइरहेको उनको भनाई छ । अध्यक्ष आलमले मोती मावि र सुकुनाढिकी माविलाई नमुना विद्यालय बनाउनका लागि हालै १ करोड ५० लाख रुपैयाँको बजेट छुट्याइएको बताए ।  ‘यहाँका जनताको चेतनाको स्तर कम भएकोले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाएका छौँ’, अध्यक्ष आलमले भने–‘कम्प्युटर शिक्षाका लागि ७ वटा विद्यालयमा शिक्षक नियुक्ति गरिएको छ ।’

गाउँपालिकाले विपन्न परिवारलाई तालिम, किसानलाई कृषिका उपकरण, पोखरी तथा घरघरमा शौचालय, नाला, बाटाघाटा मर्मत, धान खेतीका लागि बिउ लगायतका सामाग्री वितरण र अनुदान दिइरहेको जनाएको छ ।

‘समृद्धिको मुख्य आधार बन्न सक्ने कचनकवलको वृहत पर्यटकीय प्रवद्र्धन गर्ने योजना छ’, अध्यक्ष आलमले भन्छन्–‘आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्नलायक बनाउनुको विकल्प छैन, रिङरोडको निर्माण, माछापालन र होमस्टेको समेत व्यवस्था गर्ने योजना बनाएका छौँ ।’

स्थानीय पत्रकार समेत रहेका बनियानीका शिक्षक घनश्याम अर्यालका अनुसार स्थानीय चुनावपछि गाउँपालिकाले काचुली फेरेको छ । बनियानी बजार तथा गाउँघरका सहायक बाटाहरु पनि कालोपत्रे र ग्राभेल हुन थालेको उनले बताए ।

स्थानीय चुनावमा राप्रपाबाट अध्यक्षमा जितेका आलमले छोटो समयमा गाउँपालिकाको काचुली फेर्न अहम् भूमिका खेलेको अर्यालको भनाई छ ।
……………….

वारी बाँझै ः पारी हराभरा
झापाको कचनकबल–४ लोदाबारी भारतसँग सिमा जोडिएको छ । नेपाल र भारत छुट्याउने सिमामा एउटा पिलर छ । पिलरमा ११९ (९) लेखिएको छ ।
दशगजाबाट दक्षिण भारतपट्टिको भूभागमा त्यहाँका किसानले जमिनलाई भरपुर प्रयोग गरेका देख्न पाइन्छ । उक्त जमिनमा फर्सी, खोर्सानी, केरा लगायतका कृषिजन्य वस्तुको खेती छ ।

यता, वारी भने जमिन बाँझो छ । जमिन प्रशस्त छ तर खेती भने लगाएको पाइँदैन । नेपालपट्टिको बाँझो जमिनमा किसानहरुले खेती गरेका छैनन् ।
वारीका स्कुलमा पारीका विद्यार्थी

कचनकबल गाउँपालिका वडा नम्बर ५ को श्री आधारभूत र बुद्ध आधारभूत विद्यालयमा अधिकांश विद्यार्थीहरु सिमा नाघेर भारतबाट पढ्न आउने गरेका छन् ।
सिमामा विद्यालय भएकाले उताका विद्यार्थी यता पढ्न आउने गरेको गाउँपालिकाको भनाई छ । भारतीय स्कुल अलिक टाढा भएकाले सबै कुराले यता सहज भएकाले पढ्न आउने गरेको स्थानीयको भनाई छ । करिव २० जना भारतीय विद्यार्थी उक्त विद्यालयमा पढ्न आउने गरेका छन् ।


.

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: