गाली गर्नेलाई भोट नदिने

  प्रकाशित मिति
३१ बैशाख २०७४, आईतवार १३:०२


 

स्थानीय तह निर्वाचनको दोस्रो चरणमा मतदान हुने दिन आउन अब एक महिना मात्र बाँकी छ । उम्मेद्वारी दर्ता गर्न अब १९ दिन बाँकी छ । राजनीतिक दलहरुले उम्मेद्वार छनोट गरेर मैदानमा उतारिसकेको अवस्था भने छैन । खासगरी ठुला भनिएका काङ्ग्रेस र एमालेमा अझै उम्मेद्वारको छनोट बाँकी देखिन्छ भने अन्य दलहरुले झापाको हकमा लगभग उम्मेद्वारको छनोट गरिसकेका छन् ।

मैदानमा केही उम्मेद्वार भोट माग्न सुरु गरे पनि काङ्ग्रेस र एमाले भने दलको चुनाव चिन्हमा भोट माग्ने कार्यक्रम गरिरहेका छन् । काङ्ग्रेस र एमालेका उम्मेद्वार नै तोकेर मैदानमा नपुगे पनि सम्भावित उम्मेद्वारहरु यतिबेला आफ्नो सक्रियता देखाएर पार्टीको टिकट हत्याउने दाउमा छन् । तर, मतदाता भने फरक सोच राखेर बसेको पाइएको छ । स्थानीय तह निर्वाचनका बारेमा रिपोर्टिङका क्रममा गाउँबस्ती घुमिरहँदा यसपालि धेरैजसो मतदाताको एउटा विषयमा समान धारणा पाइएको छ । त्यो विषय भनेको दलका नेताहरुले खासै महत्व नदिएको तर आम मतदाताले निकै चासोका साथ हेरिरहेको विषय भनेको नकारात्मकतालाई अस्विकार गर्ने देखियो । जति–जति निर्वाचनको दिन नजिक आउँदैछ, त्यति–त्यति दलका नेता तथा कार्यकर्ताहरु एक अर्कालाई गाली गर्ने तहमा उत्रिरहेको विषय बहुसङ्ख्यक मतदातालाई पटक्कै मन नपरेको देखियो । ‘नेता बन्ने मान्छे त सबैको भावनाको कदर गर्ने पो हुनुपर्छ’, बाहुनडाँगीका एक सर्वसाधारणले भने । उनले मनपरी गाली गर्ने पनि नेता हुन्छ भने ? त्यस्तो मान्छेलाई त भोट दिन हात लाग्दैन छेउमा बसेका अर्का अलि बुर्जुक मतदाताले थपे ।
बाहुनडाँगीको भावना ज्यामिरगढी पुग्दा पनि मेल खायो । ज्यामिरगढीका एक युवा मतदाताले त अलि आक्रोस नै पोखे । उनले भने, ‘आफ्नो कुरा केही छैन अरुलाई गाली गरेर नेता बन्ने रे !’ उनको आक्रोसले युवा के चाहिरहेका छन् भन्ने पनि प्रष्ट बुझ्न सकिन्थ्यो । दलका नेता र कार्यकर्ता आफूहरु अगुवा हो हामीले भनेपछि गाउँका मान्छेले मान्छन् भन्ने थोत्रो मानसिकतामा अहिले पनि रमाइरहेका बेला अबको निर्वाचनमा मतदाताले नकारात्मकतालाई पूर्णरुपमा अस्वीकार गर्ने पक्का छ । यसभन्दा अघि गाउँमा जान्ने बुझ्ने भनिएको एक वा दुई मान्छेलाई प्रभावमा पार्दा पूरै गाउँको भोट पाउने दिन अब छैन । पछिल्ला वर्षमा त झन् सामाजिक सञ्जालका स्टाटस्लाई हेर्ने हो भने दलका कार्यकर्ताको असहिष्णुताले पराकाष्ठा नाघेको छ । आफूलाई राम्रो भन्नेलाई अरुको हदैसम्मको चरित्र हत्या गर्ने प्रवृत्ति यतिबेला मौलाएको छ । आमनेसामने हुँदा बोल्न नसक्ने एउटा पात्र सामाजिक सञ्जालमा खुलेर गालीगलौजमा उत्रेको देखिन्छ । तिनलाई लाग्दो हो, चुनाव पछाडि समाजमा स्थापित मूल्यमान्यता आपसी सद्भाव, सम्बन्ध अनि सहयोग सबै सकिन्छ । तर, ती सबै भ्रममा बाँचिरहेका छन् । त्यो गालीगलौजले अरु कसैलाई होइन, स्वयम् ऊ र ऊ आवद्ध दललाई नोक्सान पु¥याइरहेको छ । राजनीति राम्रो नबनुञ्जेल देशको अरु कुनै क्षेत्र सम्बृद्ध बन्न सक्दैन भन्ने सत्यलाई अङ्गिकार गर्दै युवाको राजनीतिमा सकारात्मक हस्तक्षेप जरुरी भएको बेला आशलाग्दा युवा समाज फेसबुक र ट्युटरमा गाली सिवाय केही नदेख्ने गरी लागेका छन् ।

अहिलेका मतदाता दलका कार्यकर्ता र नेता भन्दा धेरै विवेकी छन् । तिनले यसपालि दल होइन, असल व्यक्ति छनोट नगरी स्थानीय स्तरमा विकास सम्भव छैन भन्ने बुझेका छन् । शान्तिनगरका एक महिला मतदाता जो विगतदेखि नै सक्रिय राजनीति गर्दै आउनु भएको छ । उहाँको भनाइलाई यहाँ उल्लेख गर्न मन लाग्यो । आफ्नो पार्टी भएर अव बसिन्न, खराब मान्छे उम्मेद्वार आफ्नै पार्टीले बनायो भने पनि भोट हाल्न सकिन्न । राम्रो मान्छे जुनसुकै पार्टीबाट उठे पनि भोट त्यतै हालिन्छ । ती महिलाको यो अभिव्यक्ति सामान्य अभिव्यक्ति होइन । यसले अहिले मतदाताभित्रको सकारात्मकता जागेको प्रष्ट हुन्छ । मानिस अब विकल्पतिर सोच्न थालिसके । जस्तो भएपनि आफ्नो पार्टीले उठायो, भोट त दिनैपर्छ भन्ने हिजोको धारणामा आमूल परिवर्तन आइसक्यो ।

राजनीतिक दललाई अर्को पनि भ्रम रहेछ । गाउँ घुम्दा प्रष्ट बुझिन्छ । त्यो के भने पार्टीले टिकट नदिउञ्जेल विरोधका कुरा आउँछन् तर उम्मेद्वार छनोट भएर मैदानमा गइसकेपछि सबैले सहयोग गर्छन् भन्ने विचार सबैजसो पार्टीभित्र स्थापित भएको पाइयो । तर, वास्तविकता त्यस्तो छैन । दुवागढीका एक मतदाता भन्छन्, ‘सांसदको चुनाव भए पो पार्टीको मान्छे हेर्ने, यो त हाम्रै गाउँठाउँ बनाउने चुनाव हो । यसमा त राम्रो अनि सबैको साझा भएर काम गर्न सक्ने मान्छेलाई भोट दिने हो ।’ उनले फेरि थपे, ‘सांसदको चुनावमा पार्टी हेरौँला अहिले चैँ चुप लागेर बस्ने हो, उम्मेद्वारका अनुहार हेर्ने हो अनि असल मान्छेलाई भोट दिने हो ।’ यो भनाइ भित्र लुकेको सकारात्मकताको गहिरो खोज दलका नेताले बुझ्न जरुरी छ । अनि आफ्ना बेलगाम कार्यकर्तालाई मनपरी गालीगलौज गर्न छुट दिने काम अब बन्द गर्नु पनि नेतृत्वको जिम्मेवारी भएको छ । नत्र परिणाममा उथलपुथल आउने सम्भावनालाई नकार्न सकिने अवस्था छैन । जय चुनाव ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: