गियर बदल्ने कहिले हो ?

  प्रकाशित मिति
१ मंसिर २०७५, शनिबार १०:४०


हिजोआज म आफैँ भारतीय मिडियाहरुमा एकाएक आकर्षित हुँदैछु । सायदै २०१९ को लोकसभा चुनावको गरमागर्मी समाचारले मलाई तानेको हुनसक्छ । अझ म सत्तारुढ भारतीय जनता पार्टीको हार हुन्छ कि हुँदैन भन्नेमा चासो राख्ने गर्दछु । विपक्षी काङ्ग्रेस लगायतका दलहरु कति गतिला हुन् त्यो चासो मेरा लागि छैन । केवल भारतीय जनता पार्टीको हारको कामना मेरा लागि किन आवश्यक भयो सोच्दैछु ।

सन् २०१४ मा जब मोदी भाषण गर्थे, मेरा लागि त्यो अत्यन्त कर्णप्रिय थियो । कति उनका भाषणहरु डाउनलोड गरेर पुनः सुन्ने गर्थेँ । अझ नेपालको संसदमा मोदीले गरेको भाषण त धेरैपटक सुनेको मध्ये एक हो । तर, जब मोदी भाषण एकातिर काम अर्कातिर गर्न थाले, अनि उनीप्रति तीव्र वितृष्णा फैलिन थाल्यो । आफु हिन्दु भएको र घण्टौँ देवस्थलमा पहँेलो वस्त्र धारण गरी पूजा अर्चना गर्ने मोदीले नेपाल जस्तो सानो र ८१ प्रतिशतभन्दा बढी हिन्दु भएको देशमा हिन्दुहरुको चाड दशँैको मुखमा नाकाबन्दी गरे । चाडवाडको बेला आम मानिसको जीवन नै तहसनहस बनाए । बालबालिका वृद्ध र सुत्केरीहरुले भोगेको नाकाबन्दीको यातना अहिले समेत ताजा नै लागेको छ ।

नेपालका ग्रामीण क्षेत्रमा कृषकहरुले पालेका गाई गोरुहरु बिक्री हुन छाडे । पहिला भारत बिक्री हुने गरेका साना–साना बाच्छाबाच्छीहरु समेत बिक्री हुन छाडे । परिणाम स्वरुप कृषकहरु भारतीय ब्यापारीलाई विना मूल्य दिन बाध्य भए । अहिले पनि केही कृषकहरु दुई केजी चिनीमा बाच्छाबाच्छी साट्नु परेको बताउँछन् । उनको आफ्नै देशमा गाई किनेर लाँदै गरेका मुस्लिमहरुलाई पिटीपिटी मारियो । डिजिटल इन्डिया र मेक इन इन्डिया नाम दिइए पनि उनको शासनकालमा यति धार्मिक अन्धता फैलियो कि कसैले विरोध गर्ने बित्तिकै उसलाई पाकिस्तानी भएको आरोप लगाउन थालियो । मोदी सत्ता र हिन्दु ज्यादतीको विरोध गर्नेहरुलाई गोली ठोकेर मार्न थालियो । सामाजिक न्यायको वकालत गर्नेहरुलाई अर्बन नक्सलीको आरोप करार गरी जेलमा हाल्ने काम गरियो ।

छिमेकमा मोदीको सामान्य बहुमतको उन्माद त्यो अवस्थामा देख्दा कतै हाम्रो दुई तिहाईले अझ बढी उन्माद त देखाउँदैन ? सामान्य मानिसलाई भ्रम पर्न सक्छ । विपक्षीहरु समेत दुई तिहाइको दम्भ नदेखाउन सरकारलाई सुझाएको देख्दा कतै सरकार दुई तिहाइको फुर्ती देखाउन थालेको हो कि प्रतिपक्षीको हौवा मात्र हो ? आजको प्रतिपक्ष हिजो निर्वाचनमा करारी पराजय भोग्दा समेत सामान्य प्रजातान्त्रिक नैतिकता समेत ख्याल नगरी भटाभट आफ्ना कार्यकर्तालाई नियुक्ति गरेको र अब यो सरकारले तिनका कार्यकर्तालाई किनारा लाउने हो कि भन्ने आशंकाको भरमा मात्र प्रतिपक्ष बोलेको हो भन्न कुनै विश्लेषण आवश्यकता पर्दैन ।

सरकारसँग नत दुई तिहाइको दम्भ त परै जाओस् दुई तिहाईको तागतको हेक्का समेत छैन । नत सरकारसँग जाँगर नै छ, नत समवेदना नै । दुई तिहाइको तागतको हेक्का भएको भए कुनै निर्णय गर्नुभन्दा पहिला कानुन आफ्नो पक्षमा छ कि छैन भन्ने यकिन गथ्र्यो । यदि कानुन आफ्नो पक्षमा नभएको भए कानुन संसोधन गर्न सक्थ्यो । आज सरकारका प्रायजसो निर्णयमा सर्वोच्चले निर्णय कार्यान्वयन नगर्ने आदेश दिदैनथ्यो । सरकार निर्णय गर्छ । तर, कार्यान्वयन हुँदैन अनि यस्तै हो दुई तिहाइको तागत ? शक्ति गुमाएको सरकारले दम्भ गर्यो भन्नु हास्यास्पद मात्र हो । यो प्रतिपक्षको आत्मरती भन्दा अन्याय हँुदैन होला ।

सरकारसँग जाँगर भएको राजधानीका सडकका खाल्डाखुल्डी पुर्नलाई कसैले रोक्ने थिएन । राजधानीमै सडकमा बनाएको खाल्डोमा नागरिकको ज्यानै जाँदा पनि समवेदित भएको देखिएन । निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन । हत्यारा पत्ता नलागे पनि ढिला भए पनि सरकारले हत्यारालाई कानुनको दायरामा ल्याउँछ भन्ने विश्वास समेत दिन सकेको छैन ।

दशैँको मुखमा राजधानीबाट घर फर्कने यात्रुहरुले सरकारले तोकेको भाडाभन्दा बढी तिर्न नपर्ने उद्घोषलाई लात मारेर व्यवसायीले दोब्बर भाडा लिँदा समेत सरकार भएको थाहा नै भएन । भाडा बढी तिरे पनि आरामले यात्रा गर्न पाए पनि हुने थियो । तर, सिट क्षमता भन्दा बढी निसासिएर यात्रा गरेका नागरिकहरुले सरकारलाई के भनेको होलान् ? चाडवाडको पूर्व सन्ध्यामा महँगो अनुगमनको नाटक गर्ने सरकारले अनुगमनबाट के कति प्रगति भयो ? कृत्रिम अभाव सिर्जना गरी वस्तुको मूल्यवृिद्ध गराउने ब्यापारी कति कार्वाहीको दायरामा आए ? त्यसको प्रतिवेदन नै आएन । मालदार भनिएका कार्यालयमा सेवाग्राहीले पाएको हैरानीको बारेमा देखाउँदा देखाउँदै सञ्चारमाध्यम थाकिसके, केही सुधारको छनक देखिएको छैन ।

विपी कोइरालाले आफू १५ वर्ष शासन गर्न पाए नेपालको अवस्था मध्यमस्तरको देशसरह बनाउने भनेका थिए । राजा महेन्द्रले उनको सरकार विघटन गरे । काङ्ग्रेस भित्रको आन्तरिक द्वन्द्व र राजाको स्वेच्छाचारी शासनका कारण त्यो सपना साकार नभएको मान्ने हो भने फेरि पनि २०४७ पछि नेपाली काङ्ग्रेसले लामो समयसम्म राजकाजमा रहँदा विपीको सपना साकार पार्नेतिर ध्यान दिएन । त्यो निरासाका कारण आज नेकपा सत्तामा रहेको त सबैलाई थाहा नै छ । एक वर्ष बित्न लाग्दा खासै आशा जाग्न सकेको छैन ।

भारतमा निर्वाचनका बेला राम मन्दिर बनाउने बाचा गरेको, वार्षिक २ करोड रोजगारी सिर्जना गर्ने र हरेक भारतीयका नाममा १५ लाख बैङ्क ब्यालेन्स गर्ने बादा गरेका मोदी सरकार आज निर्वाचनका बेला यी प्रश्नको सामना गर्न नसक्ने देखिएको छ ।

हाम्रो अब ४ वर्ष बाँकी छ । आफँैले वाचा गरेका बृद्धबृद्धालाई मासिक पाँच हजार के हुन्छ ? वार्षिक ५ लाखको रोजगार कहिलेदेखि सिर्जना गरिने हो ? रेल र पानीजहाज, ६ लेनको सडक आदि जे–जे छन् ती प्रश्न ४ वर्षपछि विपक्षीले मात्र हैन, आफ्नैले पनि सोध्नेछन् भन्ने ध्यान दिइएको छ कि छैन ? जाँँगर मरेको जस्तो देखिएको छ । खै ! गियर बदल्ने कहिले हो ? देशले तरक्की गर्ने हो भने दम्भै देखाए पनि त जायजै होला ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: