गुड्ने भो पूर्व–पश्चिम रेल

  प्रकाशित मिति
२७ मंसिर २०७४, बुधबार १२:५९


मेचीनगर । नेपालमा पूर्व पश्चिम रेल कुद्ने दिन अब धेरै टाढा नरहेको सङ्केत मिलेको छ ।

रेल विभागले पूर्वी भाग अर्थात् काँकरभिट्टादेखि बुटवलसम्मको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सकेको छ ।

मेचीदेखि महाकाली जोड्ने करिब ९ सय ४५ किलोमिटर रेलमार्गको डीपीआर विभागले तयार गर्दैछ । त्यसमध्ये पूर्वी खण्डको ६ सय १९ किमिको डीपीआर तयार भएको हो ।

सहायक मार्गसहित रेलमार्गको कूल लम्बाइ १३ सय ७६ किमि हुने छ ।
झापाको काँकरभिट्टाबाट सुरु हुने रेलमार्गको अन्तिम विन्दु कञ्चनपुरको गड्डाचौकी नाका हुनेछ ।

बुटवलदेखि पश्चिम खण्डको डीपीआर निर्माणमा विभागका अधिकारीहरु जुटेका छन् ।
रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायका अनुसार उक्त खण्डको डीपीआर १० महिनाभित्र तयार पारिसक्ने लक्ष्य छ ।

‘निर्माण भने नयाँ सरकारको निर्णयबमोजिम हुनेछ’–उपाध्यायले भने ।
लालबन्दीदेखि बर्दिवाससम्मको ३० किमिमा निर्माण सुरु भइसकेको छ । उक्त खण्डमा कल्भर्ट र ग्राभेलिङको काम सकिएको छ । पुलका लागि टेन्डर आह्वान हुन सकेको छैन । सोही कारण आगामी चार वर्षमा पनि उक्त खण्डको निर्माण सकिने लक्षण देखिएको छैन ।

उपाध्यायका अनुसार ठेक्का लागेपछि पनि पुल निर्माण सक्न करिब तीन वर्ष लाग्छ । पुल बनेपछि मात्र रेलको लिक बिछ्याउन सुरु हुन्छ ।

मध्य भाग अर्थात् सिमराबाट पर्सा वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज हुँदै नवलपरासी जोड्ने भागको डीपीआर विवादित अवस्थामा छ ।

आरक्ष र निकुञ्ज क्षेत्र भएकाले विभागले त्यसको विकल्पबारे अध्ययन थालेको छ । सोही कारण मध्यभागको डीपीआर नै काम नलाग्ने भएको छ ।

पूर्वपश्चिम रेलमार्गको अवधारणामा सन् २००८ देखि काम सुरु भएको हो, जसको डीपीआरले अन्तिम रुप पाउन अझै वर्षदिन लाग्ने देखिएको छ ।

निर्माण सुरु भएका इलाकामा पनि कछुवा गतिमा काम भइरहेको छ । जसलाई नयाँ सरकारले गति दिने अनुमान गरिएको छ ।

उक्त रेलमार्ग निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापान सरकारसँग छलफल अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले असोज अन्तिम साता जापान भ्रमण क्रममा आफ्ना समकक्षी कासुनुरी ताकाहासीसँग त्यससम्बन्धि प्रस्ताव गरेका थिए ।

यसबारे काठमाडौंस्थित जापानी दूतावासका अधिकारीहरुसँग पनि केही चरणका छलफल भएका छन् । तर, निष्कर्ष निस्किइसकेको छैन ।

तर भावी बाम गठबन्धन सरकारको आर्थिक योजनाकार मानिएका पूर्व गभर्नर डा. युवराज खतिवडाले नयाँ सरकारले रेल मार्ग र पूर्वाधार विकासका ठूला योजना प्राथमिकतामा पर्ने बताइसकेका छन् ।

भावी प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सरकारले नेपालको पूर्वदेखि पश्चिमसम्म तीब्र गतिको रेलमार्ग बनाउने पटकपटक बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: