गुणस्तरहीन सिमेन्टले उपभोक्ता ठगिँदै

  प्रकाशित मिति
३० बैशाख २०७३, बिहीबार ०७:३१


विर्तामोड । केही सिमेन्ट कम्पनीहरूले गुणस्तरहीन सिमेन्ट उत्पादन गरी बजारमा पठाएपछि उपभोक्ता ठगिएका छन् । वीरगञ्जमा रहेको अरनिको सिमेन्ट इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित एड्भान्स सिमेन्ट प्रयोग गरी बनाउँदै गरेको घर ‘सेटिङ’ नहुँदा फेरि निर्माण गर्नु परेपछि उक्त सिमेन्ट गुणस्तरहीन भएको तथ्य फेला परेको हो ।

विर्तामोड नगरपालिका–५ र ९ मा निर्माणाधीन घरमा प्रयोग गरिएको उक्त सिमेन्ट कमसल भएको पाइएका छ । एड्भान्स सिमेन्ट झापाका बजारमा छ्याप्पछ्याप्ती पाइने गरेको छ । घर निर्माणका लागि धनपति सत्याल र अरुण सुवेदीले एड्भान्स सिमेन्ट प्रयोग गरेका थिए । तर, ढलाई गरेको ३० दिन बित्दा पनि सिमेन्टले काम गरेको छैन ।

‘घरको पिलरबाट बुरबुर बालुवा निस्कन्छ’, पिलर देखाउँदै घरधनी सत्यालले भने, ‘धेरै दिन बित्दा पनि पिलर सेटिङ भएन ।’ सिमेन्टमा खराबी भएको शङ्का लागेपछि घरधनीले कम्पनीलाई सोबारे जानकारी गराएका थिए । कम्पनीका बजार प्रतिनिधि सञ्जयकुमार अधिकारीले २०÷२१ दिनपछि सिमेन्ट सेट हुन्छ भनेर जवाफ दिएका थिए ।

एड्भान्स सिमेन्ट घरधनीले स्थानीय गौतम हार्डवेयरबाट खरिद गरेका थिए । सो सिमेन्टबाट निर्माण गरिएको घरको पिलरहरू कामै नलाग्ने भएपछि घरधनीले पटक–पटक कम्पनीसँग कुरा राख्दा पनि आनाकानी गरिरहेको थियो ।

कम्पनीले इन्जिनियर ल्याएर जाँचबुझ पनि गरेको थियो । घरको पिलरको फोटो तथा नमुना समेत लिँदा सिमेन्टमा खराबी रहेको परीक्षणमा आएका स्वयम् इन्जिनियरले बताएका थिए । त्यसको केही दिनपछि कम्पनीका प्रतिनिधिहरू सुटुक्क आएर सिमेन्टमा खराबी भएको भन्दै पुनः घर निर्माण गरिदिने सहमति गरेको बुझिएको छ ।

पीपीसी सिमेन्टमा मात्र प्रयोग गर्न मिल्ने फ्ल्याई एस नामक तत्वको अत्याधिक प्रयोग भएका कारण सिमेन्टमा समस्या आएको हुन सक्ने विज्ञहरू बताउँछन् । फ्ल्याई एस थर्मल पावर प्लान्टमा पानी उमाल्न र बायलरमा आगो बाल्न प्रयोग गरिने पत्थर कोइलाको खरानी हो । जसको रासायनिक महत्व पछिल्लो समयमा अनुसन्धानबाट पत्ता लागेको छ । यसको उचित प्रयोग सिमेन्ट उत्पादनमा फाइदाजनक मानिन्छ । तर, ओपीसी सिमेन्टमा फ्लाई एस मिसाउन नहुने र सामान्यतया पीपीसी सिमेन्टमा २८ प्रतिशत मात्र प्रयोग गर्न मिल्ने विज्ञहरू बताउँछन् ।

गुणस्तरहीन सिमेन्ट बिक्री गरेर उपभोक्तालाई ठगिरहे पनि प्रशासन भने बेखबर छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरु निरौलाले गुणस्तरहीन सिमेन्ट र रड प्रयोग भइरहेको गुनासो आएको बताए । यद्यपी प्रशासनले अनुगमन भने गरेको छैन । ‘हामी यही हप्ताभित्र अनुगमन गर्दैछौँ’, उनले भने । विराटनगरबाट गुणस्तर मापन केन्द्रका प्रतिनिधि आएपछि घरेलु कार्यालयको सहकार्यमा अनुगमन गरिने उनले जानकारी दिए ।

केही महिना अघि वीरगञ्जबाटै उत्पादित रुद्राक्ष सिमेन्टले बनाएको झापाकै एक व्यक्तिको घरको ढलान पनि ‘व्र्mयाक’ भएका कारण कम्पनीले पुनः नयाँ लटको सिमेन्ट प्रयोग गरेर निर्माण गरिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: