गैताल राजनीति गर्नेहरु बेइमानीको बोरा भरिरहेका छन्

  प्रकाशित मिति
१ फाल्गुन २०७७, शनिबार १९:४०


।। पारस तिम्सिना ।।
आज जनयुद्ध दिवस फागुन १ गते । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६ औं वर्षगाँठ मनाइँदैछ ।

माओवादीले २०५२ फागुन १ गते देशमा सशस्त्र युद्धको घोषणा अर्थात हतियार उठाएको दिन पनि हो–आज । देश बिदेशमा यो दिनलाई सबै नेपालीले एकपल्ट नसम्झने भनेर बसिरहे तापनि सम्झन बाध्य हुन्छन् ।

जीवनको एक दशकभन्दा बढी समय त्यो पनि केही गर्ने यात पढ्ने उमेर युद्धमा बिताएपछि आज देश तथा बिदेशमा रोजगारीको सिलसिलामा भौतारिन परेको बिडम्बनालाई बिर्सन खोजेर के गर्ने र आजकै दिनलाई सम्झी रगत बगाउन तयार भएर घर छोडी होलटाइमर भएर पार्टीमा लागेको तितो यथार्त साँक्षी छ ।

बिगत सम्झेर पछुताउन चाहिँ खोजेको होइन तर जनयुद्धको उपलब्धी माथि हाल आएर गरेको बेइमानीमाथि प्रश्न चाहिँ गर्नै खोजेको हो भन्दा फरक पर्दैन । पार्टी राजनीति होइन हामीले बैज्ञानिक युद्धमोर्चामार्फत सत्ता कब्जा गर्ने हो मात्र नभनी सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्दै रगत तताउने नेताहरु आज लाज नमानिकन गैताल राजनीति गर्दै बेइमानीको बोरा भरिरहेका छन् भन्न कुनै आइतबार पर्खनु पर्दैन ।

एमालेलाई भाइकांग्रेस हो भन्ने तिनै नेताले कम्युनिष्ट एकताको महान प्रकृया भएको र समाजवादी सत्ता स्थापनाको एउटा खुड्किलोमा अघि बढिरहेको नौटंकी पनी राता–रात भन्सारबाट माल छिराउन खोज्दा पोकेहरु आतिएर बाटामै लडेझै भयो कम्युनिष्ट पार्टीको एकता प्रकृया भनी लेख्दा आपत्ति नहोस् । राज्यसत्ता प्राप्तिको लडाइमा होमिएका ती महान् सहिद, बेपत्ता र घाइते परिवारलाई बिर्सिएर राजनीतिमा हाम फालेका नेताहरुबाट के आशा र अपेक्षा गरिरहेका होलान्–परिवारहरु ? थकान महसुस भइसकेको अवस्था छ ।

एउटा संविधानसभाबाट बल्ल–तल्ल निर्माण भएको संबिधानलाई त ओलीको पुच्छ्र भएर आदि–आदि सरकार चलाउने प्रलोभनमा फँसी कत्लेआम गर्ने प्रचण्डबाट वर्तमान अवस्थामा केही पनि आश गर्ने ठाउ चाहिँ देखिदैन । ओलीको हातमा सबैथोक जिम्मा लगाएर जसरी प्रचण्ड ढुक्क भई आदि सरकार चलाउन बसेका थिए, त्यसरी नै ओलीले पनि भएका सबै उपलब्धीलाई निडरतापूर्वक लगेर भैसी बस्ने आहालमा डुबाइदिए–लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्थालाई ।

राजनीति त सामन्तवादीहरुले जनतालाई शोषण गर्न गर्दछन् । नेपालको परिप्रेक्ष्यमा नेपाली कांग्रेस र एमाले भनेका सामन्तवादी पार्टी हुन् भन्दै माओवादी नेतृत्वले गरेको स्कुलिङ सम्झदा त अहिले के भनेर तत्कालिन नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई सम्मानका शब्दहरुले यहाँ सम्मान गरौँ सोचमा घुसिरहेकै छैन, लाज मात्र लागिरहेको छ । रणनीतिक प्रत्याक्रमणको पहिलो र दोस्रो योजना हुँदै देश युद्धमैदानमा फँसिरहदा साँच्चै सत्ता आउने नै हो भन्ने हुनु हाम्रो लागि स्वाभाबिक कुरा हो । उमेर समूहले गर्दा पनि होला बन्दुकबाटै सत्ता कब्जा हुन्छ भन्ने बुझाई रहेकै हो । र, संसारको इतिहासमा पनि बन्दुकबाटै सत्ता कब्जा भएको पढ्न पाएकै हो । तर, २१ औँ शताब्दीमा त्यो सम्भव छैन ।

अबको युद्धमोर्चा फरक हुनुपर्छ भन्ने बुझाई आउँदा–आउँदै कम्युनिष्ट पार्टी दलाल पुँजीवादको दबदबामा फँस्न जाँदाको परिणाम भएका सम्पूर्ण उपलब्धीहरु नै गुमाउन पुग्यो । अब देशमा अझै ओलीको रोडम्याप भनेको सेना परिचालन गरेर ५० औँ बर्ष यो देशको अर्थतन्त्रलाई पछाडि धकेल्ने गरीको कदम चाल्ने नै हो भन्न सकिन्छ । संसद पुनःस्थापनाको नौटंकी आन्दोलन हैन अब लोकतान्त्रिक गणतन्त्रको हत्यारा वर्तमान सरकारका आसेपासेलाई जेलसम्म पुर्याउने, थुन्ने गरीको तेस्रो महान जनआन्दोलन संयुक्त मोर्चा निर्माण गर्नुको कुनै बिकल्प छ जस्तो लाग्दैन मलाई । वर्तमान संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संथागत बिकासको लागि सबै लोकतान्त्रिक राजनीतिक दल एक ठाउँमा उभिने दिन आइसकेको छ । मरिसकेको राजतन्त्रलाई कुनै–न कुनै बहानामा ल्याउने खेलमा लागेकालाई समर्थन गरेर देशलाई पछाडि धकेल्ने कि लोकतान्त्रिक गणतन्त्रको अपहरणमा परेको बच्चालाई बचाएर मलजल गर्दै अघि बढ्ने ? प्रश्न यो हो जस्तो लाग्छ ।

अन्त्यमा, सशस्त्र विद्रोह र २०६२/६३ सालको जनआन्दोलनसँगै स्थापना भएको संविधानसभा र त्यसको जगमा बनेको संविधानको पक्षमा, ओली सरकारको असंबैधानिक कु का बिरुद्धमा मोर्चाबन्दी तेस्रो जनआन्दोलनमा जानुको बिकल्प छैन । चेतना भया । अस्तु ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: