गोली चलेपछि एमाले अभियान स्थगित

  प्रकाशित मिति
२४ फाल्गुन २०७३, मंगलवार ११:३०


saptari 3राजविराज । मधेसी मोर्चाको कडा अवरोध छिचोलेर लावालस्करसहित अघि बढेको नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान मधेशको गढ एवम् २ नं. प्रदेशमा प्रवेश गरेको पहिलो दिन नै स्थगन भएको छ ।

सप्तरी सदरमुकाम राजविराजमा प्रहरीसँगको झडपमा प्रहरीले नै गोली चलाउँदा केही प्रर्दशनकारीको मृत्यु भएपछि परिस्थितिलाई दृष्टिगत गर्दै एमालेले ३ दिनका लागि अभियान स्थगन गरेको हो ।

एमालेको र्याली राजविराजमा जनसभा सकेर कञ्चनपुरतिर बास बस्न हिँडेको केहीबेर पछि प्रहरीसँग प्रदर्शनकारीको हिंस्रक झडप भएको saptari 1थियो ।

एमालेको कार्यक्रम सकिएलगतै प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप भएको थियो । त्यही क्रममा एमालेको कार्यक्रमस्थल औद्योगिक क्षेत्रको करिव १०० मिटर पर प्रहरीको गोली लागेर रञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

राजविराजमा अप्रिय घटना भएपछि सोमवार साँझ रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको एमाले स्थायी कमिटीको बैठकले अभियानको समीक्षा गर्दै अभियान ३ दिनलाई स्थगन गर्ने निर्णय गरेको छ ।

अभियान स्थगन गरिए पनि बाहिरबाट आएका एमालेका हजारौँ कार्यकर्ता सप्तरीमै छन् । उनीहरु अब घर फर्कने हुन् कि मधेसमै अड्डा जमाएर बस्ने हुन् भन्ने विषयमा केही बताइएको छैन ।

सोमवार विहान इटहरीबाट हिँडेको एमाले र्यालीले सुनसरी सदरमुकाम इनरुवादेखि नै मधेशी समर्थकको अवरोध झेल्नु परेको थियो । इनरुवामा एमालेलाई कालो झण्डा देखाइएको थियो भने प्रदर्शनकारीले एमालेका सवारी साधनमा ढुङ्गा हिर्काएका थिए ।

आइतवारदेखि नै हड्ताल, लाठी र राँके जुलुसका कारण दङ्गाग्रस्त जस्तो बनेको कोशी पश्चिम क्षेत्रमा एमालेको र्याली गयो भने ठूलै रक्तपात हुने अनुमान विपरीत अवरोध छिचोल्दै एमालेको लावालवस्कर सप्तरी सदुरमुकाम राजविराज पुगेर विशाल आमसभा सम्पन्न गर्न सफल भएको छ ।

सप्तरीमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा लावालस्कर पस्दै गर्दा बाटामा विरोधको कालो झण्डा देखाउनेहरु जति थिए, त्यति नै सङ्ख्यामा सूर्य चिन्ह र हसिया हथौडा अङ्कित पार्टी झण्डा बोकेर अभियानको स्वागतमा जुटेको मधेसी समुदाय पनि थियो ।

मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा एमालेले सभा गरेको छ । पहिले राजविराज बजारमा गर्ने भनिएको सभा प्रदर्शनकारीको विरोधका कारण सारेर औद्योगिक क्षेत्रमा लगिएको थियो । सो सभालाई पार्टीका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् ।
सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले दुई चार जनाले कालोझण्डा देखाउँदैमा एमालेको अभियान नरोकिने बताए ।

एमालेको कार्यक्रम विथोल्ने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले सोमबार विहानैदेखि चक्काजामसहित कोशीपश्चिमको भारदह, रुपनी, राजविराज लगायतका ठाउँमा प्रदर्शन गरेका थिए । तर, ठूलो सङ्ख्यामा परिचालित सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई रोके र एमालेको कार्यक्रम स्थलसम्म पुग्न दिएनन् ।

प्रदर्शनकारीलाई रोक्न प्रहरी सडक छेउको खेतसम्मै पुगेको थियो । र, त्यस क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच पटक पटक झडप समेत भएको थियो ।

बाहिर तनावपूर्ण अवस्था रहे पनि एमालेले औद्योगिक क्षेत्रभित्र आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।
झण्डै १० हजार सहभागी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले मधेसको रैथाने पार्टी भएको बताए ।

दुई चार जनाले भन्दैमा एमाले मधेस विरोधी पार्टी नहुने भन्दै उनले भने–‘एमाले मधेस पस्यो, अब अड्डा जमाएर बस्छ ।’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको अघिल्लो सरकारले तराई मधेसमा विकासका दर्जनौँ योजनाहरु ल्याएपछि विरोध भएको बताए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको धर्तीपुत्र आफूहरु भएको बताए ।
मैथिली भाषामा सम्बोधन गरेका उनले नजिकै रहेका एमाले अध्यक्ष ओलीलाई देखाउँदै भने–‘मभन्दा पुरानो धर्तीपुत्र केपी ओली हुन् ।’

ओलीलाई भेट्न घुइँचो
मधेस विरोधी भनी मोर्चाले प्रचार गरेका एमाले अध्यक्ष ओलीलाई नजिकबाट हेर्न र भेट्न चाहनेहरु खचाखच उपस्थित भएका देखिन्थे ।

राजविराजको कार्यक्रम सकेर कञ्चनपुरतिर जाँदै गरेकी स्थानीय बिना यादवले भनिन्–‘हम सब ओली जी के भेटक लेल बैसलछियै । मागेवाला चिज किछो नै छै । फगत उनका देख चाहैछी ।’ (हामी ओलीलाई भेट्नका लागि बसेका छौं, माग्ने कुरा त केही छैन । केवल उहाँलाई हेर्न चाहन्छौं ।)

विसहरियाका प्रतापनारायण चौधरीले भने–‘केपी ओली के सरकार जते मधेस में और अखुन्तक कोइ सरकार काम नहि केनेछै । ओली सरकार तराई मे सडक के खातिर बजेट देनेछै । ओली के सरकार तराई में दु दु जगह अन्तराष्ट्रिय एयरपोर्ट बनावे खातिर काम केनेछै ।’ (केपी ओलीको सरकार जति मधेसमा अरु कुनै सरकारले काम गरेका छैनन् । ओली सरकारले तराईमा सडकका लागि बजेट दिएको छ । ओलीको सरकारले तराईमा दुई दुई ठाउँमा अन्तराष्ट्रिय विमानस्थल बनाउन काम गरेको छ ।)

उनले एमाले तराईमा शक्तिशाली हुने देखेर मात्रै मधेसी मोर्चा विरोधमा उत्रेको वताए । उनले भने–‘राविराज के इ सभा औरो पार्टी के लिए बढका चिन्ता के विषय भेलछै । ओकरा सब के डर छै कि अगामि निर्वाचन मे एमाले सब से बढका पार्टी बन्ते । यहि खातिर उसब एमाले के इ अभियान के विरोध करैछै ।’ (राजविराजको यो सभा अरु पार्टीको लागि ठूलो चिन्ताको विषय भएको छ । उनीहरुलाई डर छ कि आउँदो निर्वाचनमा एमाले सबै भन्दा ठूलो पार्टी बन्ला । यसै कारण उनीहरुले एमालेको यो अभियानको विरोध गरेका हुन् ।)

चुनावमा ‘संशोधन’ गाँस्न हुन्न
काँकरभिट्टा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले स्थानीय चुनाव र संविधान संशोधनको विषयलाई एकैठाउँमा गाँस्न नहुने बताएका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी)को मङ्गलवार सुरुङ्गामा आयोजना हुने २४ औँ वार्षिक उत्सवमा प्रमुख अतिथि बन्न आइपुगेका काङ्ग्रेस नेता महतले यहाँ पत्रकारहरुसँगको भेटघाटमा कुनै हालतमा चुनावसँग अरु विषयको सौदाबाजी नहुने बताए ।
‘संशोधन र चुनाव भिन्न विषय हुन्’, उनले भने–‘दुबै आफ्ना प्रक्रियामा अघि बढ्छन्, तर संशोधन नभए चुनाव गर्नु हुँदैन भनेर कसैले भन्न मिल्दैन ।’

स्थानीय चुनाव तोकिएकै मितिमा हुने उल्लेख गर्दै नेता महतले संविधान संशोधनका विषयमा असन्तुष्ट मधेशी मोर्चालाई संशोधनको मुद्दा बोकेर चुनावमा जान सुझाव दिए ।

उनले चुनाव सम्पन्न गर्न सरकारले युद्धस्तरमा तयारीका कामहरु गर्नु पर्ने बताए ।
उनले एनएमसीको सहकारी सञ्चालन मोडालिटीबाट आफु प्रभावित भएको सुनाए । विदेशीले समेत एमएमसीबाट धेरै कुरा सिक्न सक्ने उनले बताए ।

बारले भन्यो–‘अवरोध नपुर्याउ’
झापा । नेपाल बार एसोसिएसनले नेकपा एमालेले तराईको विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा सञ्चालन गरेको सभा, सम्मेलन र गतिविधिमाथि बाधा अवरोध पु¥याएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका सचिव इन्द्रबहादुर अधिकारीले सोमवार प्रेस विज्ञप्ति जारी गरी तराई–मधेसमा शान्तिपूर्ण सभा सम्मेलन गर्दा अवरोध, प्रदर्शन, अमर्यादित र मानव अधिकारविपरीत क्रियाकलापप्रति बारको ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा राजनीतिक दलहरुले संविधानप्रदत्त राजनीतिक अधिकार प्रयोग गर्ने क्रममा पूर्व निर्धारित कार्यक्रममा हस्तक्षेप गर्ने, आक्रमण गर्ने, चक्काजाम गर्नेजस्ता मानवअधिकारको मर्मविपरीत कार्य नगर्न नगराउन आग्रह गरिएको छ ।

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: