२०५४ को निर्वाचनमा एमालेबाट खजुरगाछी वडा नं.६ को वडा अध्यक्षमा निर्वाचित भएर जिविस सदस्य समेत भएका र आसन्न निर्वाचनको गौरीगञ्ज गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार बनेका ५० वर्षे श्याम ढकालले भने–‘लामो समयपछि निर्वाचन भएकाले पुस्ता हस्तान्तरण भएको देखियो ।’ ढकाल ०५१ सालको मनमोहन नेतृत्वको सरकारको नागरिकता आयोगको सदस्य समेत रहेका थिए । गौरीगञ्ज गाउँपालिकामा मुख्य दल एमाले, काङ्ग्रेस र माओवादी केन्द्रले सबै स्थानीय तहका लागि उम्मेद्वार टुङ्गो लगाइसकेका छन् । अहिलेका धेरै दोस्रो पुस्ताबाट चुनावी अभियानमा उम्मेद्वार बनेका छन् ।
निर्वाचनमा युवापुस्ता भित्रिएको मात्र छैन, चुनावी मुद्दा समेत नयाँ भित्रिएका गौरादह नगरपालिका वडा नं. १ मा एमालेको तर्फबाट वडा अध्यक्ष पदका उम्मेद्वार बनेका नगेन्द्र भण्डारीले बताए । त्यसो त नेपाली काङ्ग्रेसको तर्फबाट वडा नं.२ को वडा अध्यक्षको उम्मेद्वार रहेका हेमन्त कार्की पनि चुनावी मुद्दाहरुमा अहिले युवा लक्षित मुद्दाहरु जल्दोबल्दो भएर आएको बताउँछन् ।
भर्खरै प्रजातन्त्र आएकाले त्यतिबेलाका उम्मेद्वार नागरिकता, वर्गीय उत्थान र अधिकार प्राप्तिका मुद्दा लिएर निर्वाचनमा होमिएका थिए । अहिलेको निर्वाचनमा अधिकार प्राप्तिको मुद्दा गौण भएको देखिन्छ । त्यतिबेला गाउँमा ग्रावेल, कालोपत्रे सडक कल्पनाभन्दा बाहिर थिए । अहिलेका उम्मेद्वार कालोपत्रे सडक, सिँचाई, युवा रोजगारलाई मुख्य मुद्दाका रूपमा अघि सार्दै छन् । त्यसताका स्थानीय निकायले अधिकार पाउनुपर्नेमा दलहरूको जोड हुन्थ्यो । अहिले आफ्नो गाउँ र नगरको विकास र समृद्धिको रेखा आफैले कोर्ने सम्भावनासहित उम्मेद्वार अघि बढेका छन् । जातीय विभेदविरुद्धका नारा पनि अहिले ओझेलमै परेका देखिन्छन् ।
गौरादह नगरपालिका–१ का गोविन्दबाबु अधिकारी ओमनमा रोजगारी गर्छन् । निर्वाचनका बेला पहिलोपटक गाउँमा रहेका अधिकारीलाई केही नेता, कार्यकर्ताका आश्वासन सुन्दा पत्याउन गाह्रो भएको छ । प्रचारमा आउने उम्मेद्वार र कार्यकर्ताले दिने आश्वासन उनले पत्याउन नसकेका हुन् । गौरादह–१ कै लालपानी खोलामा हालसम्म पनि पुल बन्न नसक्दा आसपासका जनताको लागि ठूलै समस्या भएको छ । ‘चुनावी प्रचारप्रसार पहिलोपटक देखेको हँु, सजिलै पूरा गर्न सकिनेभन्दा असजिला वाचा गर्दारहेछन्,’ उनले भने । भोट माग्न आएका उम्मेद्वारले निर्माणाधीन अवस्थामा रहेको किस्ने सिँचाइको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्ने आश्वासन दिएका छन् । कसैले त निर्माणाधीन सिँचाईबाट असारमा नै धान रोपाइँ गर्न सकिने योजना सुनाएका स्थानीयले बताए ।
यतिमात्र होइन, बिजुली र खानेपानीको समस्या पनि भोग्दै आएका स्थानीयलाई उम्मेद्वारले सबै पूरा गर्ने आश्वासन दिन थालेका छन् । ‘घरैपिच्छे धारा र सिँचाइ सुविधा दिने भन्छन्,’ आइते मर्डीले भने, ‘अघिल्ला चुनावमा पनि बिजुली र पानीकै माग गरेका थियौँ, समस्या उस्तै छ ।’
काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेद्वार घर–घर पुग्न थालेका छन् । ‘अहिलेसम्म राजनीतिक दलकै कार्यकर्ता मिलेर सरकारी बजेट र विकास योजना उपभोग गरे, कहिल्यै बिजुली र पानीको समस्याबारे बोलेनन्’ स्थानीय सुशीला सोरेनले भनिन्, ‘यसपाली केही गर्न सक्ने र योजनामा रकम नखाने उम्मेद्वारलाई भोट दिने सोचमा छौँ ।’
कसले कहाँबाट उम्मेद्वारी दोहो¥याउँदै छन् ?
साविक गाविसहरुमा २०५४ को स्थानीय निकायको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु मध्ये थोरै मात्र आसन्न निर्वाचनमा पनि उम्मेद्वार रहेका छन् । गौरीगञ्जको वडा नं.७ नेपाली काङ्ग्रेस र वडा नं.८ एमालेले जितेको थिए भने बाँकी सबै वडाहरुमा सद्भावना विजयी भएको थियो ।
खजुरगाछीमा भने वडा नं.४, ५, ६ र ८ मा एमाले, ३, ७ र ९ मा नेपाली काङ्ग्रेस र १ र २ मा राप्रपा विजयी भएका थिए । उम्मेद्वारी दोहो¥याउनेमा २०५४ को निर्वाचनमा एमालेबाट खजुरगाछी वडा नं.६ का वडा अध्यक्षमा निर्वाचित भएर जिविस सदस्य समेत भएका श्याम ढकाल आसन्न स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार बनेका छन् ।
साविक गौरादह गाविसमा ०५४ को स्थानीय निकायको निर्वाचनमा सबै वडाहरु एमाले विजयी भएको थियो । अहिले पूर्व निर्वाचित जनप्रतिनिधिहरु मध्ये वडा नं. ५ मा वडा अध्यक्षमा विजयी भएका हेमबहादुर थापा अहिले वडा नं. ३ को वडा सदस्यको उम्मेद्वार भएका छन् ।
वडा नं. ६ बाट वडा सदस्य विजयी भएकी डालिका गिरी अहिले पनि वडा नं. २ मा वडा सदस्यकै उम्मेद्वार रहेकी छन् । वडा नं.७ को वडा अध्यक्ष पदमा विजयी भएका रमेश गौतम हाल वडा नं. २ को वडा सदस्य पदको उम्मेद्वार रहेका छन् । जनपक्षीय प्रधानपञ्च चिरञ्जीवि दाहाल भने अहिले नेपाली काङ्ग्रेस तर्फबाट वडा नं.३ को वडा अध्यक्षमा उम्मेद्वार बनेका छन् ।
त्यसैगरी महारानीझोडामा वडा नं. १, ३, ४, ५, ६ र ८ गरी ६ वटा वडामा एमाले विजयी भएको थियो भने वडा नं. २, ७ र ९ मा राप्रपा विजयी भएको थियो । आसन्न निर्वाचनमा उम्मेद्वारी दोहोर्याउने मध्ये गाविस अध्यक्षमा विजयी भई जिल्ला विकास समितिको सदस्य समेत भएका मणिन्द्र कार्की हाल ४ नं. वडाको वडा अध्यक्षको पदका उम्मेद्वार भएका छन् । वडा नं. ३ मा वडा अध्यक्षमा विजयी भएका हरिप्रसाद घिमिरे हाल ५ नं. को वडा सदस्य पदको उम्मेद्वार छन् ।
साविक जुरोपानी गाविसमा वडा नं.१ मा सद्भावना विजयी भएको थियो भने बाँकी आठवटा वडाहरुमा एमाले विजयी भएको थियो । आसन्न निर्वाचनमा उम्मेद्वारी दोहोर्याउनेहरुमा गाविस अध्यक्ष पदमा विजयी भएका अमर सिवाकोटी हाल ७ नं. को वडा सदस्य पदका उम्मेद्वार भएका छन् । वडा नं.३ को वडा अध्यक्ष भएका गोपाल घिमिरे हाल ८ नं. वडाको वडा सदस्य पदमा उम्मेद्वार रहेका छन् ।
वडा नं. ५ का वडा अध्यक्ष नारायणप्रसाद विमली हाल ७ नं. वडाको सदस्य पदमा उम्मेद्वार भएका छन् । वडा नं.८ का वडा अध्यक्ष भएका बलराम खरेल हाल ७ नं. को वडा अध्यक्ष पदका उम्मेद्वार भएका छन् ।
कोहोवरा गाविसमा वडा नं.१ का वडा अध्यक्ष भएका मदन अधिकारी हाल गौरादह नगरपालिकाको मेयर पदका उम्मेद्वार बनेका छन् । बैगुनधुरा गाविसमा वडा नं. १, ५ र ६ गरी तीन वटा वडामा नेपाली काङ्ग्रेस विजयी भएको थियो भने बाँकी ६ वटा वडामा एमाले विजयी भएको थियो । आसन्न निर्वाचनमा सबै पार्टीका उम्मेद्वार नयाँ रहेका छन् ।
(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
………………