मेचीनगर, १८ जेठ । भारतको मुम्बई लगायतका सहर हुँदै आइपुगेका झापाको गारीगञ्ज गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण भएको छ ।
प्रादेशिक अस्पताल कोशी अस्पताल विराटनगरको प्रयोगशालामा थ्रोट स्वावको परीक्षण गर्दा आइतबार ती ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ घर भएका २३, ३७ र ३९ बर्षीय ३ जना पुरूष र वार्ड नं. ५ घर भएका १८ बर्षीय १ जना पुरूषमा कोरोना पुष्टि भएको हो ।
संक्रमित ४ जनालाई गौरीगञ्ज गाउँपालिकाले स्थापना गरेको वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई थप उपचारका लागि कोरोना अस्पताल पठाउन कुरा भइरहे पनि टुङ्गो लागिनसकेको जनाइएको छ ।