ग्याँस दुर्घटनाका घाइतेको उपचारमा आर्थिक अभाव, कहाँबाट ल्याउनु ४० लाख ?

  प्रकाशित मिति
३० भाद्र २०७८, बुधबार २१:०९


घाइते ८५ वर्षीया आमा मंगलादेवी खनाल ।

झापा, ३० भदौ । खाना पकाउने सिलिन्डर चुहावटको कारण भएको आगलागीमा गम्भीर घाइते एकै परिवारका तीन जनाको उपचारमा आर्थिक अभाव भएको छ ।

दुई दिन अघि झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ मा कनकाई ग्यासको सिलिन्डर फेर्दा ग्याँस चुहिएर भएको आगलागीमा घरमूली ४२ वर्षीय रोमनाथ खनाल, उनकी पत्नी ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षीय छोरा पंकज खनाल गम्भीर घाइते छन् ।

रोमनाथ खनाल ।
दुर्गा खनाल ।
पंकज खनाल ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ । उपचारमा आर्थिक समस्या भएपछि आर्थिक सहयोग संकलन गर्न समिति गठन गरिएको छ ।

गोविन्द खतिवडाको संयोजकत्वमा गठित १७ सदस्यीय सहयोग संकलन समितिले खनाल परिवारको उपचारमा सघाउन देश विदेशमा रहनु भएका नेपालीलाई अपिल गरेको छ । उपचारमा लगभग रु. ४० लाख खर्च लाग्ने चिकित्सकहरुले बताएको हुँदा चन्दा संकलन गर्नुको विकल्प नभएको समितिका संयोजक खतिवडाले बताए ।

सोमवार साँझ ५ बजेतिर घरको भान्साकोठामा नयाँ सिलिन्डर फेर्दै गर्दा ग्याँस चुहावट भएर आगलागी भएको र सो दुर्घटनामा परिवारका चार सदस्य घाइते भएको प्रहरीको सर्जमिन मुचुल्कामा उल्लेख छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार सो आगलागीमा खनाल परिवारको रु. २० लाख मूल्य बराबरको भौतिक सम्पत्ति समेत क्षति भएको छ ।

घाइतेमध्ये गम्भीर अवस्थामा रहेका खनाल दम्पत्ति र छोराको शरीरका विभिन्न भाग जलेको छ भने ८५ वर्षीया आमा मंगलादेवी खनालको खुट्टामा आगोले पोलेको छ । घटनापछि खनालको घरमा ताला लागेको छ । घाइते अवस्थाकी आमा मंगलादेवी आफन्तको आश्रयमा बस्न थालेकी छन् ।

नातेदार ज्ञानप्रसाद पोखरेलले घरका सबै सदस्य घाइते भएर उपचारका लागि अस्पताल भर्ना भएपछि घरमा ताला लागेको बताए । उनले खनाल परिवारको आर्थिक अवस्था नाजुक भएको र उपचारमा लाग्ने खर्च व्यहोर्न नसक्ने बताए ।

उपचारका लागि नातेदारहरुले स्थानीय अर्जुनधारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र कनकाई ग्याँस उद्योग गुहारिरहेका छन् ।

अर्जुनधारा नगरपालिकाले खनालको घर क्षतिग्रस्त भएको हुँदा घर पुनर्निमाणका लागि रु. ५० हजार र उपचारका लागि रु. एक लाख दिने भएको नातेदार पोखरेलले जानकारी दिए ।

कनकाई ग्याँस उद्योगका सञ्चालक जेवी कार्कीले ग्याँस सिलिन्डर दुर्घटना भएमा क्षतिपूर्ति दिनका लागि एनएलजी इन्स्योरेन्स कम्पनीसँग कम्पनीले बिमा सम्झौता गरेको हुँदा यस घटनामा पनि बिमा कम्पनीले आवश्यक पहल गर्ने बताए ।

उद्योगले पनि उपचारमा केही आर्थिक सहयोग गर्ने कार्कीले आश्वासन दिएका छन् ।

अर्जुनधारास्थित खनाल परिवारको घर । जसको भित्री सबै कोठा र पछाडितिरको भाग आगलागीमा जलेर क्षतिग्रस्त भएको छ ।
प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: