बाहुनडाँगी । झापाको बाहुनडाँगीमा जिल्लामै पहिलो अर्गानिक हरियो चिया प्रशोधन केन्द्र (ग्रीन टी कारखाना) सञ्चालनमा आएको छ ।
प्रतिष्ठा कृषि फारम प्रालि बाहुनडाँगी–२ मा मङ्गलवारदेखि सञ्चालनमा ल्याएको उक्त कारखानाको बारेमा शनिवार आलडाँगीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
बाहुनडाँगीका व्यवसायी प्रसाद पाण्डे र मेचीनगरका कुन्दन निरौलाले १ करोड ४२ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याएको उक्त ग्रीन टी प्रशोधन केन्द्र जिल्लाकै पहिलो भएको दाबी गरेका छन् ।
पछिल्लो समय चियामा रासायनिक वस्तुको बृद्धि हुन थालेपछि सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै कारखाना सञ्चालनमा ल्याएको सञ्चालक प्रसाद पाण्डेले बताए । ‘दुई वर्षको प्रयत्नपछि सञ्चालनको अन्तिम तयारीमा पुगेका हौँ’, प्रालिका अध्यक्ष समेत रहेका पाण्डेले भने–‘ ग्रीन टीसँगै अर्थोडक्स, ह्वाइट टी, अग्र्यानिक चिया पनि उत्पादन हुनेछ ।’
प्रालिको व्यवस्थापन कुन्दन निरौलाले हेर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । आवश्यक चिया पत्ती आप्mनै ४० विगाहा क्षेत्रफलमा लगाइएको चिया बगानबाट आपूर्ति गरिने उक्त कारखानाबाट समग्र झापाली प्रत्यक्ष लाभान्वित हुने व्यवस्थापक निरौलाले बताए ।
३१ वर्षदेखि चिया क्षेत्रमा कार्यरत जगमिन्दरसिंह जित भुल्लरले चियाको गुणस्तर र बजार हेर्नेछन् । उनकै सहयोगमा अर्की सञ्चालिका प्रतिष्ठा पाण्डेले अन्तर्राष्ट्रिय बजार हेर्न भएकी छन् ।