घटनास्थल छेउमा अधुरै छ पुल

  प्रकाशित मिति
१ कार्तिक २०७३, सोमबार १६:१५


2-mahamai-2
माइखोलाको अधुरो पुल ।

दानावारी । वारि पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पारि पूर्व सभामुख सुभाष नेम्वाङको निर्वाचन क्षेत्र । सीमानामा पर्ने माइखोलामा पुल छैन । वर्खामा ज्यान माया मारेर बाढीमा हेलिनु वा खटेरा डुङ्गामा त्राहीत्राही हुँदै आउजाउ गर्नुको विकल्प थिएन । दक्षिण इलामको दानावारी–८ र महमाई–८ स्थित माइखोलामा गत शुक्रवार (असोज २८ गते) पुल नहुनुको यही नियतिको शिकार भए दसैँ मान्न हिँडेका सर्वसाधारण ।

कोही टिका लगाउन महमाईतिर जाँदै थिए, कोही टिका लगाएर फर्किदै । सबैलाई हतारो थियो माइखोला पार हुने । जनही सय रुपैयाँ असुलेर गुन्द्रुक खाँदे जसरी यात्री चढाए डुङ्गा सञ्चालकले । ५० देखि ६० जना चढेको डुङ्गा उर्लिदो भेलमा डुब्यो । ८ जनाको लाश भेटिएको छ, वेपत्ता कति भए यकिन छैन । जीवितै उद्धार गरिएका ३४ जनाले अर्को जन्म पाएको अनुभूति सुनाएका छन् ।

दसैँको उल्लासलाई शोकमा परिणत गर्दै मुलुकलाई नै स्तब्ध पारेको यो घटनापछि ‘दोष कसको’ भन्ने वहस चलेको छ । कसैले क्षमताभन्दा बढी यात्रु खाद्ने डुङ्गा सञ्चालकलाई दोष दिएका छन् भने कतिले एउटा पुल पनि बनाउन नसक्ने राज्य र जनताको प्रतिनिधित्व गर्ने नेतालाई । कसै कसैले आत्मसुरक्षामा ध्यानै नदिइ डुङ्गामा चढ्न जाने यात्रुलाई पनि दोष दिएका छन् । दुर्घटना कसैको रोजाई हुन्न, यो एउटा आकस्मिक घटना नै हो । तर बर्षौदेखि जनताले भोगिरहेको दुःख नदेख्ने र एउटा पुल समेत बनाउन नसक्ने हाम्रो राज्य र सोही क्षेत्रका जनप्रतिनिधि यस्ता दुर्घटना निम्तिनुमा नैतिक रुपले जिम्मेवार छन् । उनीहरूले यसको अनुभूति अलि बढी मात्रामा गर्नै पर्छ ।

2-mahamai-3
डुंगा दुर्घटनास्थलमा सर्वसाधारण ।

झापाबाट दानावारी हुँदै महमाई र लारुम्बा जाने यो चल्तीको बाटो हो । हिउँदमा खोलामा हेलिएरै भए पनि बस चल्ने गर्छ । बर्खाको असारदेखि असोजसम्म डुङ्गामा भर पर्नुको विकल्प छैन । जहाँ डुङ्गा बग्यो, त्यहाँबाट ८ सय मिटर उत्तरमा पक्की पुल बनाउन पूर्व सभामुख सुभाष नेम्वाङले २०६९ सालमा शिलान्यास गरे । चुनावमा भोट माग्दा नेम्वाङ र खनाल दुबैले माइखोलामा पक्की पुलको आश्वासन पटकपटक दिएका थिए । २०६९ असार २६ गते काठमाडौँको सूर्य इलाइट जेभीले निर्माण सुरु गरेको पुलको एघार पिल्लरमध्ये अहिलेम्ममा २ वटा पिल्लरमा मात्र स्ल्याव हालिएको छ । अरु पिल्लर बुच्चै छन् ।

पूर्व सभामुख नेम्वाङ र पूर्व प्रधानमन्त्री खनालले आफ्नो चुनाव क्षेत्रमा पर्ने यति महत्वपूर्ण पुलको काम द्रुत गतिमा अघि बढाउनका लागि राज्यलाई अग्रसर गराउने सामथ्र्य राख्दैनन् भनेर कसैले पत्याउन सक्दैन । चार वर्षमा पक्की पुल बनिदिएको भए यस्तो कहालिलाग्दो दुर्घटना व्यहोर्नु पर्ने थिएन ।

विगत १२ वर्षदेखि यहाँ डुङ्गा सञ्चालनलाई व्यवसाय बनाइएको छ । महमाईका परशुराम बाँस्तोलाले बर्खाका चार महिनामा ३ वटा डुङ्गा चलाएर लाखौँ आर्जन गर्थे । इलाम जिविसले वार्षिक रुपमा कहिले ५ हजार र कहिले १० हजार रुपैयाँ कर असुल्ने गथ्र्यो । स्थानीय पुलिस र दादाहरूले पनि डुङ्गा सञ्चालकबाट सलामी पाउने गरेको आरोप छ । तर राज्यले कर समेत असुल्ने डुङ्गा सेवा सुरक्षित र भरपर्दो हुनु पर्छ भन्नेतर्फ न त इलाम जिविस, न त सुरक्षा निकायकै ध्यान गयो । दुर्घटना भइसकेपछि मात्र यात्रु सुरक्षाका विषयमा सबैको ध्यान आकर्षित भएको छ ।

2-mahamai
जोखिम मोलेर मायखोला पार गर्दै । (फाइल फोटो )

शुक्रवार दिउँसोको त्यो दुर्घटनापछि यात्रुको चाप र आवश्यकतालाई ध्यानमा राखेर फेरि डुङ्गा सञ्चालनमा ल्याइएको छ । तर यसपटक यात्रुको सुरक्षामा बढी ध्यान दिइएको छ । नेपाली सेना र नेपाल प्रहरीले स्थानीय गाविसलाई दिएको १७ वटा लाइफ ज्याकेट यात्रुलाई लगाउन दिएर मात्र डुङ्गाको यात्रा गराउन थालिएको छ ।
प्रहरी र स्थानीय गाविसका कर्मचारी डुङ्गा सेवाको अनुगमनमा निरन्तर खटिन थालेका छन् । चन्दालघाट र कोदोवारी गरी दुई गौडामा डुङ्गा चलाइएको छ । हरेक यात्रुको नाम र ठेगाना रेकर्ड गर्न थालिएको छ । एउटा डुङ्गामा १५ जना भन्दा बढीलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।
यात्रुको सुरक्षामा अहिले जस्तो व्यवस्था यस अघि पनि गरिएको भए विपत झेल्नु पर्ने थिएन भन्छन् स्थानीयवासी । दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णमा श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा हार्दिक समवेदना । आठ आठ जनाले ज्यान गुमाएपछि चेत खुलेको राज्यले अब चाहिँ छिटै त्यो पुलको निर्माणलाई उच्च प्राथमिकता देला कि !

(२०७३ कार्तिक १ गते लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: