घमण्डको परिणाम……..

  प्रकाशित मिति
५ भाद्र २०७८, शनिबार १५:०९


              गगन ढकाल

कुरा धेरै अगाडिको लेख्न पटक्कै मन लाग्दैन, झनै एकादेशबाट त सुरु गर्न मनै लाग्दैन ।
अलि पुरानो कुरा नलेख्नुको कारण सायद भुल्ने बानी परेर होला, एकादेशबाट सुरु गर्न मन नलाग्नुको कारण चाहिँ ज्ञानको दायरा नपुगेर हो । त्यसैले केही महिना अगाडिको कुरा सुनाउछु सुन्नुहोस् ।

अपुई ! के भाको तपाई, कुरा सुन्नु भन्ने बित्तिक्कै मुख मोड्ने ? त्यसतो पाइदैपाइदैन अब तपाईले जुनै हालतमा पनि सुन्नै पर्छ । आफैं सोच्नुहोस्न् थोरै त, नसुन्न पाइने भा किन सुन्नुहोस् भन्थे र, नसुन्नुहोस् भनि हाल्थे नि । लु अब मैले कुरा सुरु गरे हैत ।

एकदिनको कुरा हो त्यस दिन म बडो प्रसन्न मुद्रामा आफंै माथी अचम्मित हुँदै बसिरहेको थिए । आफ्नो बुद्धिमता र तार्कितामा गर्व महसुस गर्दै । हुन पनि किन गर्व महसुस नगरौं त ? पूरै पन्ध्र जना उपस्थित बहसमा कसैलाई चुइक्कै बोल्ननदी एक्लै बोलेर सबैलाई आफूतिर आकर्षित गरेको थिए । साच्चै मैले त्यस दिन चौंध ओटा मष्तिस्कको बिचार भन्दा तार्किक बिचार प्रतिपादन गरेको थिए । चौधैँ ओटा मष्तिस्कले मेरो कुरामा गम्भीरताका साथ मनन गर्दै सुनेका थिए ।

बडो प्रसन्न मुद्रामा सुरिलो मुस्कान साथ बसिरहेको मलाई अचानक मेरो कानहरुले भन्न लागे “हामी हिडेका अब ! तेरो बाकी जीवन सुखद् रहोस् ।” तिनीहरुको कुरा सुनेर मेरो मन क्रोधित भयो र मैले कानहरुलाई भने “किन मैले के चोट दिएर तिमेरुलाई कैले केही नराम्रो भने जस्तो, गरे जस्तो लाग्दैन । कैले कुनै किसिले तिमेरुलाई पीडा दिने बिरामी पनि पारे जस्तो लाग्दैन । बरु मैले त उल्टै सकेसम्म धेरै काम अरु अङ्गलाई लगाएर तिमेरुलाई विशेष आराम गर्ने समय दिएको छु । यति गर्दा गर्दै पनि किन मेरो शिरलाई कुरुप देखाउन चाहन्छौँ ?, किन मेरो सुन्दरतालाई तिमेरु लिलाम गर्न चाहन्छौँ ? के मिल्छ र तिमारुलाई मबाट गएर ?

कानहरुले मेरो कुरा ध्यानपुर्वक सुने र भने “त्यस्तो हैन तैले हामीलाई कुनै पीडा दिएको छैनस्, कुनै लछारपछार काम पनि लगाएको छैनस् तर….. ।” उनीहरुको कुरालाई तर मै रोकेर मैले भने “तर के तर ? किन तिमेरु मलाई हेर्दै आश्चर्यजनक किसिमको कुरुप बनाउन चाहन्छौं ? तिमेरुलाई त थाहै छ मलाई धेरै मान्छेको अगाडि बसेर÷ उभिएर भाषण गर्नुपर्छ किन तिमेरु मलाई छाडेर जान लागेउ ?” मेरो यति कुरा सुनेर कानहरुले भने “त्यस्तो हैन, हामी तेरो कानको बाहिरी आवरण जान लागेको हैन हामी कान भित्रको ध्वनी श्रवणयन्त्रमात्र जान लागेका हौँ ।

हामी जादा तेरो रुपलाई कुनै असर पर्दैन । यसै नि तलाई हाम्रो कुनै जरुरत पनि छैन । तँ कसैको कुरा सुन्ने हैनस् तँलाई आफुमात्र बोल्न पाए, आफ्नो मात्र कुरा सुनाउन पाए, सबैलाई चुप लगाउन पाए भइहाल्छ त्यसैले हामीले जाने निधो गरेका हौँ । हामीले तँलाई हाम्रो निर्णय सुनाएका हौँ तँसँग कुनै सल्लाह मागेका हैनौं ।”

कानहरुको यति कुरा सुनेपछि मैले बोले “मेरो रुपमा केही असर पर्दैन भने जाओ तिमेरु । मलाई कसैको कुरो सुन्नु छैन किनकी म आफैं सबै कुरो जान्दछु । खुब नाप्येर हिडेका छौँ के के न गर्लाउ भन्ने लाग्या होला जाओ तर एउटा कुरा, पछि कुनै दिन फर्केर शरण माग्दै चाहिँ फेरि नआउनु अब हिडेकै हौँ भने जाओ । जानेलाई जानदेउ जानेको के को माया भन्ने गीत झैँ आजबाट मेरो हृदयमा, शरीरमा तिमारुलाई कुनै स्थान छैन । लाग अब तिमेरु आफ्नो बाटो मलाई तिमेरुको कुनै माया छैन ।

मेरो निर्दयी वाणी सुनेपछि मेरा दुवै कानबाट ध्वनि श्रवणयन्त्रहरु मतिर एकपटक पनि नफर्की सरासर आफ्नो बाटो लागे । उनीहरुले बाटो लाग्ने बेला भनेका थिए जोसँग सुन्ने शक्ति अधिक हुन्छ तर सुन्नलाई कानमा ध्वनी श्रवणयन्त्र हुँदैन उसैको कानमा आफुहरु डेरा जमाई बस्नेछौँ ।

कानबाट ध्वनी यन्त्र गएपछि एकसाता त लगातार पुस्तकहरु पढेर पुस्तकमै रमेर मैले आफ्नो दिन काटिरहेको थिए । कत्ति आनन्द श्रवणयन्त्र नहुँदा कुनै किसिमको हो हल्लाले पनि नअल्मलाउने, कसैले तथानाम गालि गरे पनि नसुनिने सारै आनन्द लग्ने भयो । एक महिना मैले भरपूर मात्रामा यो आनन्द उठाए । तर एक दिन अत्याअधिक अल्छी लाग्यो । कति पढ्ने पुस्तक मात्रै भन्ने लाग्यो र सोचे श्रवण यन्त्रमात्र गएको हो मेरो आखाँ त छनि भनेर ।

त्यस पछि मैले चलचित्र हेर्न थाले वार्तालाप बिनाको चलचित्र पनि वाक्कै लाग्दो हेर्नै सकिन । तत् पश्चात आफ्नो सबैभन्दा मनपर्दो गायक विपुल क्षेत्रीको गीत सुन्न मन लाग्यो तर श्रवणयन्त्रको अभावमा सुन्नै सकिन मन दुःखी भयो । मलाई आफ्नो सबैभन्दा मनपर्ने गीत हिन्दी केसरी फिल्मको तेरे मिट्टी नामक गीत पनि सुन्न मन लागेर हुरुक्कै भए तर सुन्न सकिन । यति मात्र हैन नेपाली साहित्य जगतको प्राथमिककालिन कथा विक्रमबेतालको कथा पढ्न मन लाग्यो पुस्तक कतै पाइएन साथीहरुलाई मेसेज गरेर सोध्दा यु–ट्युबमा सुन्न सकिने कुरा जानकारमा आयो श्रवणयन्त्र नभएकाले त्यसको ज्ञानबाट पनि म बञ्चित भए ।

मलाई बिस्तारै सुन्नु पर्ने कुराहरुको फेहरिस्त याद आयो । धेरै रहेछन् अर्थात् हुँदा रहछन् सुन्नु पर्ने कुराहरु तर मैले नसुनेर श्रवणयन्त्रलाई आराम मात्र दिएर ठूलो गल्ती गरेछु, धेरै ज्ञान गुमाएछु । कानलाई रुपसँग मात्र तुलना गर्नु नहुनेरहेछ भन्ने कुराले अहिले पोल्दै छ मलाई । यी कुराहरुले कति सम्म पोल्यो त्यो पनि सुन्नुहोस् अब । मैले श्रवणयन्त्रको निम्ति व्रत बस्ने सम्म निर्णय गरेर अनेक अलौना बिलौना गरे पशुपतिनाथदेखि चारधामसम्मको दर्शन गरे ।

धेरै जनाको सल्लाहस्वरुप इलामको गजुरमुखी पनि गए तर पनि मेरो श्रवणयन्त्र फर्केर आएन । आज म श्रवणयन्त्रको अभावमा अरुको तर्कबितर्क सुन्न नसेको कारण प्रभावकारी ढगंले तर्क समेत गर्न नसक्ने भएको छु । पागल जस्तो बेसुरमा बर्बराउने भएको छु । साच्चै कहिलेकाही अरुको पनि कुरो सुन्नुपर्ने रहेछ । सबै कुरा आफै मात्र जान्दछु भन्ने घमण्ड गर्नु नहुने रहेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: