घरदैलो घुम्ती पसल सञ्चालन गर्दै वाणिज्य संघ

  प्रकाशित मिति
१० बैशाख २०७७, बुधबार २०:०२


मेचीनगर । लकडाउनका कारण सर्वसाधारणको दैनिकी सहज बनाउनका लागि मेची उद्योग वाणिज्य संघले ताजा सब्जी घरदैलो घुम्ती पसल सञ्चालनमा ल्याएको छ ।

लकडाउनका बखत दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक खाद्य वस्तु, र सागसब्जीको अभाज नहोस् भन्ने उद्देश्यले संघले नगरका १५ वटै वडामा ताजा सब्जी घरदैलो घुम्ती पसल सञ्चालनमा ल्याएको हो ।

यस्तो परिस्थितीमा उपभोक्ताहरुलाई खाद्यान्नको अभाव नहोस र विचौलियाबाट ठगिनु नपरोस भन्ने उद्देश्यले लकडाउन शुरु भएदेखिनै सर्वसुलभ मुल्यमा छिटो छरितो ढंगले यस्ता सामग्री उपलब्ध गराउदैँ आएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिदैं गएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनका अवस्थाबाट गुज्रिरहेको छ’ अध्यक्ष तिम्सिनाले भने–‘यस्तो अवस्थामा मेचीनगर क्षेत्रमा खाद्यान्न तथा सागसब्जी आपूर्ति एवम् ढुवानी कार्यमा आम उपभोक्ताहरुको सहजताका लागि दैनिकजसो हामी विहान, दिउसो तथा साँझपख प्रत्येक उपभोक्ताहरुको चुल्हो चुल्होमा पुग्ने गरेका छौँ ।’

संघले यस्तो कार्यको सहजिकरण एवम् समन्वयका लागि नगरका विभिन्न वडाहरुमा संघका जिम्मेवारी पदाधिकारीहरुलाई सम्पर्क व्यक्तिकारुपमा तोकेको उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले जानकारी दिए ।

क्षेत्रीका अनुसार नगरको वडा नम्बर १ देखि ४ सम्म संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, सचिव रविचन्द्र नेपाल र कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेलाई सम्पर्क व्यक्तिकारुपमा निर्णय गरी जिम्मेवार प्रदान गरेको छ ।

यसैगरी, वडा नम्बर ५ र ६ मा सहजिकरण एवम् समन्वयका लागि महिला उपाध्यक्ष वीना तामाङ, कार्यकारिणी सदस्य अञ्जु थापा, विपेन्द्र लामा, उषा नेपाली श्रेष्ठ, टोलबहादुर सुनुवार र गणेश मैनालीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

कार्यकारिणी सदस्यहरु भूमि पौडेल र संदिप ओलीलाई ७, ८ र १५ नम्बर वडामा, कार्यकारिणी सदस्यहरु राजुकुमार पोद्घार, झुनादेवि बानियाँलाई वडा नम्बर ९ मा सहजिकरण एवम् समन्वयका लागि सम्पर्क व्यक्तिकारुपमा पठाएको संघले जनाएको छ ।

उपाध्यक्ष क्षेत्री, बाणिज्य उपाध्यक्ष कल्याण खड्का, महासचिव ध्रुव कनालले वडा नम्बर १० र ११ मा सहजिकरण तथा समन्वयन गर्ने छन भने वडा नम्बर १२ र १३ मा कार्यकारिणी सदस्य धनबहादुर तामाङ, वडा नम्बर १४ मा कार्यकारिणी सदस्य उमेश सुवेदी र संघका सहायक निर्देशक गणेश गिरीले जिम्मेवारी प्राप्त गरेका छन् ।

खाद्यन्न तथा ताजा तरकारी लगायतको बिक्री वितरण कार्यलाई व्यवस्थित, आवश्यक सुरक्षा र भिडभाडलाई कम गर्ने गरी नगरमा १४ वटा सवारी साधन परिचालन गरिएको संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।

कुनै पनि उपभोक्ता विचौलियाको फन्दामा नपरुन्, सस्तो र सुलभ मुल्यमा आफुले खोजेको खाद्य वस्तु उपभोक्तालाई घरघरमा उपलब्ध गराउनु संघको मुख्यः दायित्व रहेको अध्यक्ष तिम्सिनाले बताए ।

(समाचारको श्रोत लक्ष्मी उप्रेती)

 

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: