घरबाटै अन्त्य गरौँ महिला हिंसा

  प्रकाशित मिति
१ फाल्गुन २०७२, शनिबार ०३:२८


leela rai

राष्ट्रिय स्तरका पत्र–पत्रिकामा होस् चाहे मोफसलकै या विभिन्न एफएम, रेडियो, टेलिभिजन जहाँ पनि महिला हिंसाका खबर देख्न, सुन्न र पढ्न पाइन्छ । यसरी सञ्चार माध्यममा दिनहुँजसो हेर्दा र पढ्दा आम मानिसमा नैरश्यताको अवस्था सिर्जना हुने देखिन्छ । पितृसत्ता हाम्रो संस्कारको जरामा गडेरे बसेका कारण असमानता र विभेद यथावत् छ । तसर्थ महिलामाथि हिंसा र अन्याय भइरहेको तथ्याङ्कले देखाउँछ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान भर्खरै मात्र सम्पन्न भयो । यस्ता अभियानहरू अगाडि पनि नभएका भने होइनन् । यद्यपि हाम्रो देशमा लैङ्गिक विभेदका कारण महिलामाथि दुव्र्यवहार, चरम अत्याचार, अन्याय एवम् हिंसाले निरन्तरता पाइनैरहेको छ भन्दा फरक पर्दैन । यी सबै हुनुमा पितृसत्ता दोषी देखिन्छ । पुरुषको वर्चस्व रहेको हाम्रो समाज महिलाको नेतृत्वमा डोहोरिन हिच्किचाएको यथार्थता प्रष्ट्याइरहनु पर्ने आवश्यकता देखिँदैन ।

यसको प्रमुख कारण भनेको असमानता र विभेद नै हो । हाम्रो समाजमा छोरा र छोरीप्रति राखिने धारणा अलग हुन्छ । सानैदेखि छोरीलाई आफू कमजोर र असक्षम छु भन्ने मानसिकतामा जगडिन बाध्य बनाइएको हुन्छ । समाजमा जबरजस्ती लादिएका यस्ता गलत धारणाका कारण पनि शारीरिक साथै मानसिक एवम् वौद्धिक रुपमा नै कमजोर छु भन्ने भावनाका कारण आफूमा भएको क्षमता, प्रतिभा प्रष्फुटन गर्न हिच्किचाइरहेको पाइन्छ । के यसो हुनुमा पितृसत्ता दोषी छैन त ?

हाम्रा समाजमा विधमान कु–संस्कार, कुरीति र गलत परम्पराका कारण पनि कतिपय निर्दोष महिला हिंसाको शिकार बनिरहेका छन् । तराई मूलका महिला दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छन् भने गरीब तथा अशिक्षित वृद्धालाई बोक्सीको आरोपमा मल–मुत्र खुवाउनुका साथै शारीरिक पीडा भोग्न बाध्य पारिन्छन् । यस्ता घटनामा पुरुष मात्र नभएर महिलाहरू पनि संलग्न भएको पाइन्छ । यसरी कतै सासु, नन्द आमाजूले बुहारीमाथि त कतै बुहारीले सासुमाथि गरिने अन्याय र अत्याचार नरोकिएसम्म महिला हिंसा अन्त्यको कल्पनासम्म गर्न सकिँदैन ।

महिलाको सफलतामा पुरुषको नाम जोडेर उसको क्षमताको उपहास गर्नु सभ्य समाजका लागि शोभनीय हुन सक्दैन । तसर्थ यसप्रति हामी महिला नै सर्वप्रथम सचेत हुन आवश्यक छ । खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गर्दै एकले अर्काको सफलतामा हौसला प्रदान गर्न सक्नुपर्दछ । यसमा राज्य पक्ष लगायत समाजका शिक्षित, वौद्धिक सभ्य पुरुषहरूले सकारात्मक भूमिका खेल्न पनि उत्तिकै आवश्यक हुन्छ ।

women

एकाइसौँ शताब्दीका महिला पुरुषको तुलनामा शारीरिक रुपमा केही कमजोर भए तापनि वौद्धिक रुपमा बरोबरी छन् भन्ने पुष्टि गरिसकेका छन् । आकाशमा प्लेन उडाउने साहसिक कामका साथै विभिन्न सङ्घ–संस्थामा प्रमुख भएर आफ्नो जिम्मेवारी र कर्तव्य सफलतापूर्वक निर्वाह गरी सकेका उदाहरणहरू पनि प्रशस्त भेटिन्छन् । तथापि हाम्रो समाजले महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन किन हुँदैन ?

अब पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नहुने हो भने नारी विद्रोहको अवस्था सिर्जना हुँदैन भन्न सकिँदैन । महिला अधिकार सुनिश्चित नभएका देशहरू विकसित हुन नसकेका उदाहरणहरू प्रशस्त छन् । त्यस मध्येको एउटा हाम्रो देश पनि हो ।

लैङ्गिक विभेदको अन्त्य भएका देशहरूमा द्रुतगतिमा विकास भएको पाइन्छ । तसर्थ सबैभन्दा पहिला घरबाट नै छोरा सरह छोरीलाई स्वतन्त्रता र आत्मनिर्भरताको बाटोमा अगाडि बढ्ने प्रेरणा दिनुपर्छ । त्यसका लागि उचित शिक्षा, संस्कार, व्यावहारिक ज्ञान तथा सीपबाट दक्ष र सक्षम बनाउन परिवारले महत्वपूर्ण भूमिका खेल्न अति आवश्यक हुन्छ । परिवार सभ्य भए समाज र राज्य नै सभ्य बन्न सक्छ । त्यसैले आजैदेखि विभेदको अन्त्य गर्दै सभ्य परिवारको परिचय दिने प्रण गरौँ । हिंसा रहित समाज निर्माणका लागि हामी जस्ता सचेत नागरिकबाटै सुरुवात गरौँ ।

यसपटकको संविधानले महिला हक, हित र अधिकारको व्यवस्था गरेको छ । यसको परिणाम स्वरुप देशको राष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा महिलाको उपस्थिति भएको छ । अब चाँडै प्रधान न्यायाधीशको पदमा पनि महिला नै आउने भन्ने चर्चाले महिला सशक्तिकरणमा थप हौसला र उत्साह थपिएको छ । आशा गरौँ, संविधान कागजको खोस्टोमा मात्र सीमित नहोस् ।
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: