घरेलु डाक्टर अधिकारीको १०३ वर्षको उमेरमा निधन

  प्रकाशित मिति
१० माघ २०७८, सोमबार १८:३३


।। डम्बर बराल ।।

मेचीनगर, १० माघ । गाउँघरमा घरेलु डाक्टरका रुपमा परिचित समाजसेवी वीरबहादुर अधिकारीको आज १०३ वर्षको उमेरमा निधन भएको छ ।
१०३ वर्षीय अधिकारीकोे मेचीनगर–५, जागरण टोल स्थित आफ्नै निवासमा सोमबार बिहान ५ बजे निधन भएको हो ।

उनले आफ्नो जीवनको सम्पूर्ण समय सामाजिक योगदानमा खर्च गरेका छन् । अघिकारीले हजारौंको जीवन बचाएर समाजले कहिल्यै भूल्न नसक्ने गुन लगाएर गएका छन् । उनले डाक्टरले उपचार सम्भव नहुने भनेर फर्काएका विरामीहरुलाई पुर्नरजीवन दिइएको गाउँलेहरुको भनाइ छ ।

घरेलु जडिबुटीका माध्यमबाट जन्डिस, बाँझोपन, महिलाहरुको महिनावारी गडबडी लगायतका विरामीका लागि उहाँको उपचार पद्वति भरपर्दो रहेको स्थानीय पर्शुराम घिमिरेले बताए । ‘म आँफैलाई पनि डाक्टरले बिदा दिएको व्यक्ति हुँ’, घिमिरेले भने–‘मलाई उहाँले नै बाचाउँनु भयो ।’

उनका अनुसार उहाँको शरिरमा तागत रहुन्जेलसम्म सधैजसो घरेलु औषधि लिन विरामीको घुईचो लाग्ने गर्थो । शनिवार र मंगलबार त झन भीड हुन्थ्यो ।

‘बिहानदेखि १२ जबेसम्म औषधि बनाउँदै उहाँको समय बित्थ्यो, त्यसपछि जडिबुटी खोज्न गाउँ पस्नु हुन्थ्यो । हामी सवैका अभिभावक आजबाट विदा हुनु भयो,’– घिमिरेले भने ।

परिवारका अनुसार उहाँले जीवनभर एलोपेथिक औषधि नखाएको बताईएको छ । पछिल्लो ३ वर्ष यता उहाँलाई पित्त थैलीमा स्टोन देखिएको उनका छोरा अमृत अघिकारीले बताए । स्टोनकै कारण उहाँले करिव एक महिनादेखि खानपान छोड्नु उनले बताए ।

उनी भन्छन, ‘बुबा यसअघि कहिल्यै विरामी पर्नु भएन । स्टोन देखिएपछि खाना रुच्न छोड्यो, त्यसपछि कमजोर हुनु भयो ।’ उहाँको निधनको खवरले गाउँ नै स्तब्ध बनेको छ । टाडा–टाडाबाट भेट्न आउने विरामी तथा शुभचिन्तकहरु मर्माहत बनेका छन् ।

उनका एक जना छोरा अमृत अघिकारी, ६ जना छोरीहरु कृष्णकुमारी राउत, यसोदा राउत, रामकुमारी निरौला, रेवता सुवेदी, अनुपा खड्का र अम्बिका बस्नेत छन् ।

उनका १३ नाती, १० नातिनी र १७ पनाति–पनातिनी रहेको परिवारले जनाएको छ । उनकी श्रीमती कृष्णकुमारी (कला)को १३ वर्षअघि नै निधन भएको थियो । स्व.अधिकारीको आजै दिउसो स्थानीय मेची नदीमा दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: