घर निर्माण र राजनीति

  प्रकाशित मिति
१८ बैशाख २०७३, शनिबार ०७:३३


समाजको विकास व्रmमसँगै मानवीय सोच र संस्कृतिमा पनि परिवर्तन हुँदै गएको छ । हाम्रो समाजको गतिशीलताले मानिसको क्षमतालाई समेत फराकिलो बनाउँदै लगेको छ । त्यतिमात्र होइन, बदलिँदो परिवेशले मानिसलाई सेवाभावमा केही झुकाव राख्न पनि मद्दत गरिरहेको छ । तर पनि आधुनिक युगको उत्कर्षतर्फ उन्मुख भइरहँदा पनि हाम्रो समाजको राजनीति भने सङ्लिन सकिरहेको छैन ।
खासगरी, हाम्रो समाजमा व्रिmयाशील राजनीतिक दल र तिनका नेतृत्वले आफूलाई परिवर्तनका सम्वाहकका रुपमा समाजमा स्थापित गर्न सकिरहेका छैनन् । जबसम्म राजनीति सफा र राजनीतिक सोच सकारात्मक अनि फराकिलो बन्दैन, तबसम्म कुनै पनि देश विकास हुने र त्यहाँको सामाजिक गतिविधि सकारात्मक बन्ने कल्पनासम्म पनि गर्न सकिँदैन ।

गत हप्ता यस्तै एउटा मानवीय सेवामा दलगत राजनीति हावी भएको प्रसङ्गका बारेमा लेख्न मन लाग्यो । प्रसङ्ग हो, झापा मेचीनगर–७ स्थित अग्निपीडित स्थानीय वीरबहादुर गिरी (राजन) को घर निर्माणको । २०७२ सालको अन्तिम दिन सबै पुरानो वर्षलाई बिदाई र नयाँ वर्ष २०७३ लाई स्वागत गर्नमा रमाइरहेका बेला वीरबहादुर भने अघिल्लो दिन अर्थात् २०७२ चैत २९ गते भएको आगलागीबाट खरानी बनेको आफ्नो घरको अवशेषमा आफ्ना परिवारको भविष्य खोजिरहेका थिए । फुसको छानो र परालको घेराबारा भएको उनको घर एकैछिनको असावधानीले खरानी बनायो । वीरबहादुर र उनको पाँच जनाको परिवारलाई खुला आकाश मुनि ल्याएको थियो । चैत–बैशाखको चर्को घाम अनि नजिककै आउन लागेको मौसमी वर्षालाई सम्झिएर उनी भक्कानिँदै छरछिमेकसँग सहयोगको अनुरोध गरिरहेका थिए । परिवारका लागि अस्थायी बास त छिमेकीको सिकुवामा मिल्यो, वीरबहादुरलाई । तर, त्यसले उनको घर पुनर्निर्माण गर्ने कुरामा कुनै ठोस काम गर्न सक्ने थिएन । आर्थिक अवस्था कमजोर भएका वीरबहादुरको घर आगलागी भएको खबर बिस्तारै टोलबाहिर हुँदै मेचीनगरभर फैलियो । २०७३ बैशाख ८ गते नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य विश्वप्रकाश शर्माको फेसबुक स्टाटसमा काङ्ग्रेस कार्यकर्ताले एमाले कार्यकर्ताको घर बनाइदिने जानकारी आयो । त्यस लगत्तै त्यो स्टाटसको स्थानीयस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा एकाएक चर्चा सुरु हुन थाल्यो । नेता शर्माको स्टाटसमा भनिएझैं बैशाख ९ गते बिहान ८ः३० बजे मेचीनगर काङ्ग्रेसका कार्यकर्ताको एउटा ठुलो समूह शर्माकै नेतृत्वमा वीरबहादुरको आगलागीले खरानी भएको स्थानमा पुग्यो र जुट्यो घर निर्माणमा । बिहानसम्म खरानी मात्र भएको ठाउँमा बेलुकासम्म त वीरबहादुरको परिवारका लागि बस्न लायक एउटा सुन्दर घर निर्माण सम्पन्न भयो । वीरबहादुर पनि दङ्ग थिए । यहाँसम्म मानवीय सेवाको सकारात्मक चर्चा खुबै भयो र हुनु स्वाभाविक नै थियो । त्यस कार्यका बारेमा स्थानीय रेडियो र पत्रपत्रिकामा काङ्ग्रेस कार्यकर्ताले एमालेको घर बनाइदिए भन्ने भावमा जब समाचार प्रशारण÷प्रकाशन भयो, तब एमाले पार्टी पङ्क्तिभित्र निक्कै खैलाबैला मच्चियो । अनि सुरु भयो घर निर्माणभित्र राजनीतिक दाउपेच ।

वीरबहादुर आफू एमाले कार्यकर्ता भएको बताउँछन् र घर निर्माण गरिदिएर काङ्ग्रेसले गुन लगाएको पनि उसैदिन उनले पत्रकार माझ भनिसकेका थिए । एमाले कार्यकर्ता भएकै नाताले वीरबहादुरको घर बनिएको हो त भन्ने चर्चाकै बिच बैशाख ११ गते एमालेको स्थानीय नेतृत्वसहितको टोलीको अग्रसरतामा अग्निपीडित वीरबहादुरले काङ्ग्रेस कार्यकर्ताले बनाइदिएको घरकै अघिल्तिर उभिएर पत्रकार सम्मेलन गरे र भने– काङ्ग्रेसले मेरो पीडामा राजनीति गर्यो ।
वीरबहादुर आफ्ना नेतालाई साक्षी राखेर भन्दै थिए– काङ्ग्रेसले सहयोग गरेकै हो, तर मानवीय सेवामा राजनीति गरेर मेरो आस्थामाथि चोट पुर्यायो ।

यो घटनामा राजनीति हुनु पर्ने थियो या थिएन यो आमनागरिकले मूल्याङ्कन गर्ने विषय होला । तर, काङ्ग्रेस नेता विश्वप्रकाश शर्माले फेसबुकमा अघिल्लो दिन एमाले कार्यकर्ताको घर काङ्ग्रेसले बनाइदिने लेख्नुको पछि मानवीय सेवालाई अघि सारेर दलगत राजनीति गर्न खोजिएकै हो कि आगलागीको पीडाबाट ९ दिनसम्म छट्पटिरहेका आफ्ना कार्यकर्तातर्फ नफर्किएको एमाले काङ्ग्रेसको अगुवाइमा घर तयार भएपछि एकाएक सल्बलाउनु राजनीति हो भन्ने विषय सम्बन्धित दल र तिनका नेता–कार्यकर्ताले नै जानुन् । तर, कुरा के चाहिँ हो भने मानवीय सेवामा समर्पित भावमा जबरजस्ती दलगत राजनीति घुसाएर वितृष्णा फैलाउने कार्य भने सही मान्न सकिँदैन । त्यसैले भोलिका दिनमा मानवीय सेवाको कार्यलाई सर्वस्वीकार्य बनाउन सबै दलका नेता–कार्यकर्ताले बेलैमा सचेत बन्न जरुरी छ । नत्र मुलुक सेवा होइन, दानवीय सोच र सभ्यतातिर उन्मुख हुनेछ । र, त्यसले सोच्दै नसोचेको हिंसालाई सजिलै नित्याउन सक्ने खतरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: