काँकरभिट्टा । मेचीनगर नगरपालिकाले मेचीनगर–६ काँकरभिट्टाको भानुटोलस्थित गोसखानका बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई जग्गा खाली गर्ने म्याद तीन दिन थपेको छ ।
यस अघि दिएको पाँच दिने म्याद विहीवार पूरा भएको थियो । नगरपालिकाका उपप्रममुख र प्रमुख प्रशासकीय अधिकृतले विहीवार परिवारलाई भेटेर अरु ३ दिन म्याद थप गरिएको जानकारी दिएका थिए ।
सो स्थानमा गत पुस २० गते आगलागी हुँदा तिनै २० परिवारको टहरा (धनमाल) खरानी भएको थियो । नगरपालिकाले समेत उनीहरुलाई त्यसबेला सहयोग गरेको थियो ।
३ दिनभित्र घरटहरा खाली नगरे नगरपालिकाले कानून बमोजिम (बल प्रयोग) गरेर जग्गा खाली गराउने चेतावनी दिदै आएको छ ।
विहीबार नगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ प्रहरी टोलीसहित भानुटोल पुगेका थिए । उनीहरुले त्यस ठाउँमा बहुउद्देश्श्यीय व्यापारिक भवन बनाउने जानकारी दिदै घरटहरा हटाइदिन आग्रह गरेका थिए । तर सुकुम्बासीहरुले ठाउँ नछोड्ने बताएका थिए ।
बहुउद्देश्यीय भवन निर्माण गर्न आर्थिक वर्ष २०७५÷०७६ मा नै निर्माण प्रारम्भ गर्ने गरी नगरपालिकाले ४५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ ।
सो स्थानमा छविलाल लिम्बु, कुमार लिम्बु, मौले तामाङ, दिलकुमारी राई, फुलमाया राजवंशी, शान्तिदेवि श्रेष्ठ, सुवास शिवाकोटी, रतनबहादुर साम्सुहाङ, मानबहादुर तामाङ, प्रेमकुमारी श्रेष्ठ, त्यस्तै मदन कडेल, मानबहादुर गुरुङ, देशबहादुर लिम्बु, गोपाल मिश्र, विक्रम लिम्बु छन् । धनविर तामाङ, भुपाल तामाङ, तिर्थकुमारी गुरुङ, चन्द्रकुमारी खड्का र हरिबहादुर कुँवरको टहरा रहेको छ ।
………………..