मेचीनगर, २५ वैशाख । झापाको डिभिजन बन कार्यालयमा एक एक वटा सरिसृप, पंक्षी र जनावर पाहुना बनेका छन् । ती पनि घाइते अवस्थामा । बन कार्यालयका प्रमुख विष्णुलाल घिमिरे र त्यहाँका कर्मचारीहरुले ती पाहुना जीव स्याहारिरहेका छन् ।
विहीवार दिउँसो मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक बन नजिकै दिलमाया योङहाङको घरमा अन्दाजी ३ महिनाको रतुवा मृग घाइते अवस्थामा फेला पर्यो । पेटमा काँडे तारले चिरिएको घाइते अवस्थामा फेला परेको सो मृग संरक्षणका लागि डिभिजन बन कार्यालय भद्रपुरमा पुर्याइएको छ । स्थानीय पाथिभरा भेट्सले मृगको पेट सिलाएर निःशुल्क उपचार गरिदिएको छ ।
बुधवार भद्रपुरस्थित राष्ट्रिय समाचार समितिको कार्यालयमा फेला परेको घाइते हुचिललाई पनि डिभिजन बन कार्यालयमै राखिएको छ । राति मात्र डुल्ने सो चराको पखेटा र खुट्टामा कागले ठुँगेर चोट लागेको छ ।
केही दिन अघि बाह्रदशीको जङ्गलमा ४५ केजी तौल भएको १२ फिट लामो अजिङ्गरलाई समेत बन कार्यालयमा राखेर उपचार भइरहेको छ । अजिङ्गरको टाउकोमा चोट छ ।
बन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले मृग, हुचिल र अजिङ्गरलाई खोरमा राखेर उपचार भइरहेको बताए । घाइते जीव फेला परेको खबर आउनासाथ डीएफओ घिमिरे आफै उद्धारमा जाने गरेका छन् भने तिनको उपचार र स्याहारमा पनि आफै खटिने गरेका छन् ।
‘पाहुनालाई जसरी नै हामीले यिनीहरुको उपचार र आहाराको व्यवस्था मिलाएका छौं’–घिमिरेले भने ।