घुमघाम चलन बढ्दै

  प्रकाशित मिति
८ कार्तिक २०७३, सोमबार १२:५४


jamunkhadi-1
मेचीनगर । धुलावारी उच्च माध्यमिक विद्यालयका विद्यार्थी आइतवार पाँच दिने शैक्षिक भ्रमणमा निस्किएका छन् । उनीहरू ताल नगरी पोखरा, धार्मिक नगरी जनकपुर र बुद्ध नगरी लुम्बिनीको अवलोकनमा गएका हुन् ।

त्यसो त कञ्चनपुरस्थित महाकाली सहकारी संस्थाको जम्बो टोली भर्खरै झापा र इलामको घुमफिर सकेर फर्किएको छ । पश्चिमेलीले झापा र इलामको चियावारीलाई घुमफिरको मुख्य गन्तब्य बनाएका छन् ।

दसैँ सकिने वित्तिकै ठूलो सङ्ख्यामा नेपालीहरू घुमघाममा निस्किने चलन सुरु भएको छ केही वर्ष यता । त्यसो त पर्वकै बेला ठूली पाथिभरा, मुक्तिनाथ, खप्तड क्षेत्र लगायतको धार्मिक यात्रामा निस्कनेहरू पनि बढ्दै गएका छन् ।

धुलावारी क्याम्पसका विद्यार्थी केही दिन अघि मुस्ताङ हेर्न गएका छन् । यताका उता जाने र उतातिरका यता आउने गर्नाले यस अघि त्यति चर्चामा नआएका स्थानीय पर्यटकीय स्थलले समेत भाउ पाउने सङ्केत मिलेको छ ।

समग्रतामा नेपालीमा घुमफिर संस्कृति फस्टाउँदो छ । यसले आन्तरिक पर्यटनको प्रवर्धनमा ठूलो सघाउ पुग्ने देखिन्छ । जिल्ला वाहिरका चल्तीका पर्यटकीय क्षेत्रमा मात्र नभएर पछिल्लो समय आफ्नै जिल्लाका रमणीय स्थलमा घुमघाममा जाने प्रचलन आशलाग्दो पाराले मौलाएको छ ।

पर्यटन प्रवर्धनबाट विगतदेखि नै छिमेकी जिल्ला इलामले प्रशस्त लाभ उठाएको देखिन्छ । त्यहाँका श्रीअन्तु, कन्याम, माइपोखरी, गजुरमुखी, राँके र सानी पाथिभराले झापाका पाहुनालाई लोभ्याउँदै आएको छ ।

झापाका सर्वसाधारण मात्र होइन, सरकारी कर्मचारी र युवाहरूको ठूलो सङ्ख्या गर्मीमा चिसो वातावरण खोज्दै कन्याम र हर्कटे पुग्ने गर्छन् । त्यहाँ पुगेर केही घन्टा बिताउँदा उनीहरूले खाना, नास्ता र घुमघाममा निकै खर्च गर्दै आएका छन् ।
तर पछिल्लो समय घुमघामका लागि झापामै सुन्दर स्थल उपलब्ध भएकाले आन्तरिक पर्यटकहरू जिल्लाभित्रै रमाउने गरेका छन् ।

सुरुङ्गाको जामुनखाडी सिमसार क्षेत्र आन्तरिक पर्यटक आकर्षण गर्नेमा अग्रपङ्तिमा देखिएको छ । वर्षेनी २ लाख पर्यटक भित्र्याउन सफल जामुनखाडी सिमसारमा नौका विहारका लागि पोखरी र डुङ्गा उपलब्ध छन् भने पिकनिक र हाइकिङका लागि जङ्गली परिवेश निकै रमाइलो छ ।

जामुनखाडीमा वार्षिक करोड बढी रकम आन्तरिक पर्यटकले तिरेको शुल्कबाटै आम्दानी हुने गरेको छ । त्यहाँ दर्शक लोभ्याउन जङ्गली जीव जन्तुको संरक्षण गर्दै मिनी चिडियाखाना सञ्चालन गरिएको छ ।

माइपश्चिमको दोमुखा, शनिअर्जुनको अर्जुनधारा जलेश्वर धाम, पृथ्वीनगरको किच्चकबध, शिवसताक्षीको सताक्षी मन्दिर र बाहुनडाँगीको कृष्णथुम्कीले पर्यटक लोभ्याइरहेका छन् ।

धाइजनको बाँसबारी, मेचीनगरको खुट्टेडाँगी र थोप्ले विरान सामुदायिक बनले पोखरी, झोलुङ्गे पुल र मिनी चिडियाखाना स्थापना गरेर पर्यटक भित्र्याउन थालेका छन् । सुरुङ्गाको सुकेडाँगीस्थित धनुषकोटी धाम, कनकाई कोटी होम, चन्द्रगढी सामुदायिक वन र जलथल क्षेत्रमा समेत पर्यटकीय पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।

धार्मिक उद्देश्यले हजारौँको सङ्ख्यामा ओइरो लाग्ने आन्तरिक पर्यटकलाई मनोरञ्जन पुर्याउने लक्ष्यले सञ्चालनमा ल्याइएको शनिश्चरेको फन पार्क लगायतका नयाँ क्षेत्र पनि पर्यटकका लागि नयाँ गन्तब्य बनेका छन् ।

विगत लामो समयदेखि वेस्याहार रहेको झापा सदरमुका चन्द्रगढीस्थित महेन्द्र पार्कलाई रङरोगन गरेर आकर्षण तुल्याउन भद्रपुर नगरपालिका र लायन्स क्लव अफ भद्रपुर संस्थागत रुपमै लागिपरेका छन् ।

त्यहाँको फुलवारी, पानीको फोहोरा र अन्य संरचनालाई मर्मत गरिएका छन् भने गेट टल्काइँदै छ । तर आन्दोलनकारीले अवेशमा भत्काएको पूर्व राजा महेन्द्रको शालिकको स्थानमा अब के राखिन्छ, यकिन हुन सकेको छैन । पार्कभित्रको भुइँमा भने रङ्गीविरङ्गी टायल विच्छ्याइने भएको छ ।

घुमघाम संस्कृति बढ्नुले पर्यटकीय स्थलमा चहलपहल मात्र बढेको छैन, आम्दानीको स्रोत पनि वृद्धि भएको छ । सामुदायिक बन समिति, जिल्ला विकास समिति, नगरपालिका, गाविस र पर्यटन कार्यालय लगायतका संस्थाहरू पर्यटकीय प्रवर्धनमा जुटेका छन् । उनीहरूले पूर्वाधार विकासमा समेत लगानी थप्दै जानु खुशीको कुरा हो ।

घुमघाम संस्कृति पछिल्लो समय संसारभर मौलाएको छ । कतिपय मुलुकमा सरकारले नै आफ्ना नागरिकलाई घुमघाममा प्रोत्साहित गर्न बजेट उपलब्ध गराउने गरेको छ । नेपालमा समेत ज्येष्ठ नागरिक, विद्यार्थी र कर्मचारीलाई घुमघामका लागि विभिन्न कोषबाट रकम उपलब्ध हुने गरेको छ ।

स्वास्थ्य र अध्ययनका लागि घुमघाम लाभदायक मानिन्छ । दिमागी रिफ्रेस र शारीरिक स्फुर्तीका लागि भ्रमण उपयुक्त मानिने गरेको छ । विद्याथीहरू छुट्टिको सदुपयोग घुमघामबाटै गर्न थालेका छन् । नेपालीमा फस्टाउँदो यो संस्कृति सबै दृष्टिले राम्रो मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: