भद्रपुर, २६ चैत । कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा हुनसक्ने घुसपैठ रोक्न झापाको सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको छ ।
भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी बलले तीन दिनभित्रमा ५८ वटा अस्थायी पोस्ट थप गरेको जनाएको छ । झापाको सीमा क्षेत्रमा सशस्त्रको ८ वटा स्थायी पोस्टहरु पहिल्यैदेखि तैनाथ थिए ।
आवतजावत हुने मुख्य गौडाहरुको पहिचान गरी ५८ वटा नयाँ स्थानमा पाल टाँगेर अस्थायी पोस्ट खडा गरी सीमा सुरक्षालाई सुदृढ तुल्याइएको सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताए ।
लकडाउन उल्लङ्घन गर्दै सीमा क्षेत्रमा हुनसक्ने चोरी–तस्करी, लागू औषधको कारोवार, अनाधिकृत प्रवेशलाई रोक्न सशस्त्र प्रहरी वल सक्षम रहेको उनले बताएका छन् ।
भारतको विहार र पश्च्मि बङ्गाल प्रान्तमा कोरोना सङ्क्रमणबाट मृत्युसमेत भइरहेको अवस्थामा खुला सीमाबाट हुने लुकीछिपी आउजाउले कोरोना भाइरस फैलिने जोखिम भएका कारण त्यसलाई रोक्न नेपाल सरकारको निर्देशन बमोजिम सशस्त्र प्रहरी वलले सीमा क्षेत्रमा ध्यान केन्द्रित गरेको उनले जनाए ।
झापाको उत्तरी सीमा पश्चिम बङ्गालको दार्जीलिङ जिल्लासँग जोडिएको छ भने भद्रपुरदेखि गौरीगञ्जसम्मको सीमा क्षेत्र विहारको किसनगञ्ज जिल्लासँग जोडिएको छ । सशस्त्र प्रहरी वलका २५० भन्दा बढी सुराक्षाकर्मी पहिल्यैदेखि सीमा सुरक्षामा तैनाथ थिए भने अहिले १०० भन्दा बढी जनशक्ति थप परिचालन गरिएको छ ।
लकडाउन र नाका बन्द भए यता झापाको बाहुनडाँगी, भद्रपुर, केचना, गौरीगञ्ज, टाघनडुब्बा लगायतका सीमा क्षेत्रबाट २६ व्यक्ति अनाधिकृत रुपमा नेपाल प्रवेश गरेको फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
‘दक्षिणी सीमा क्षेत्रमा वारिपारि नै मकैबारी बढेको कारण लुकीछिपी प्रवेश गर्नेहरुले फाइदा उठाउन खोजेका छन्,’ प्रहरी उपरीक्षक कोइराला भन्छन्–‘तर स्थानीय समुदाय सजग भएकाले भारतबाट प्रवेश गर्नेलाई पक्रेर उहाँहरुले प्रहरीलाई खबर गर्न थाल्नुभएको छ ।’
लकडाउन र नाका बन्द हुँदा लागू औषधका प्रयोगकर्ता र कारोवारीहरु समेत सीमा क्षेत्रमा सलबलाउन थालेका छन् । काठमाडौंबाट नक्कली डाक्टर बनेर कार चढेर आएका दुई युवालाई काँकडभिट्टा इलाका प्रहरी कार्यालयले केही दिन अघि पक्राउ गरेर क्वारेन्टाइनमा राखेको छ । उनीहरु लागू औषधको खोजीमा काँकडभिट्टा नाका आएका हुन् ।
(अम्बिका भण्डारी/रासस)