चक्रदाईको जीवन चक्र

  प्रकाशित मिति
२५ भाद्र २०७४, आईतवार ०९:२६


21476270_1108627189269606_4
धुलावारी । जीवनमा उनी आफै कति पटक रोए । कुनै बहानामा कति पटक मुस्कुराए होला, सायद उनैलाई थाहा छैन । अमिताभ बच्चनको गर्जन वा हाम्री करिश्माको मानन्धरको मुस्कान होस्, अक्षयकुुमार एक्सन होस् या हाम्रो निखिल उप्रेतीको स्टन्ड होस् । उनले सबै सबैलाई नजिकबाट हेरेका छन् ।

उनी एउटा भिन्न जीवन बाँचे । उनका कहीँ आँशुमा आँखा कहिले आशा भएर पातालमा डुबे, कहिले उत्साह र उमङ्गको दृश्यहरुमा स्वर्गको अनुभूतिको उडान पनि गरे ।

पातालदेखि स्वर्गसम्म आनन्दको उडान भर्ने यिनी ३८ वर्षदेखि एउटै विन्दुमा खडा छन् । जहाँ थिए त्यही छन् । उनलाई जीवनप्रति न कुनै गुनासो छ, नत के के नै प्राप्तिको हवाइ आनन्द छ । उनी हुन् मेचीनगर–१० धुलावारी फिल्म हलका प्राविधिक कर्मचारी ६३ वर्षीय चक्रबहादुर धिमाल ।

उनले बाँचेको जीवनको जिम्मेवारी थियो । सायद बाँच्दासम्म उनी रहनेछन् त्यही फिल्म हलको प्रोजेक्टर रुममा । उनी छोराहरु सचिन धिमाल र ज्ञानबहादुर धिमालका कुशल अभिभावक हुन् । श्रीमती लेका धिमालका मायालु सहयात्री पनि । छोराहरुले पढिन्जेल त्यही कमाइबाट पढे । परिवारलाई माया दिए अनि परिवारले पत्रत्रनि उनीमाथि ठूलो भरोसा राखेर जीवन चलाए । आफ्नो सानो आकारको कमाईमा जिन्दगीका ठूला सपनाहरु गुजारे उनले ।

२०१२ सालमा झापा शनिश्चरेमा जन्मिएका धिमाल २०३५ सालमा परिवारसहित मेचीनगर बसाई सरेर आएका थिए । परिवारको जिविकोपार्जनका लागि उनले सुरुका २ वर्ष मजदुरी गरे । २०३७ सालमा धुलावारीको तृष्णा चलचित्र मन्दिरमा जेनेटर अपरेटरको रुपमा काम गर्न थालेका धिमालले ७ वर्षपछि फिल्म देखाउने अपरेटरको जिम्मेवारी पाए । उनको पसिनाको मोल पहिलो महिना हातमा पर्दा ४५ रुपैयाँ थियो । अहिले पुगेको छ ८ हजार ।

हुन त उनले अन्य क्षेत्रमा काम नपाएका होइनन् तर खै के भयो कहिले पनि विचलित बनेन् आफ्नो पेशाप्रति । तपाई पक्कै धुलावारी हलमा फिल्म हेर्न पुग्नु भएको छ म जस्तै । मैले जस्तै तपाईले पनि देखेको हुनुपर्छ यस्तो अनुहार । हलभित्रबाट माथि रहेको एउटा प्वालमा हेर्दा पावरवाला चस्मा लगाएका एकजना मानिस सधैँ उभिरहेका हुन्थे । अहिले पनि उनी त्यही ठाउँमा उभिनैरहेका हुन्छन् । शुक्रवार फिल्म हल पुग्दा २ रुपैयाँ चलचित्र हेर्ने दर्शकको थेगिनसक्नु भीड थियो । आफ्नो काममा व्यस्त रहेका उनले भने–‘काम हो सानो ठूलो हुँदैन । परिवार पाल्न त गर्नै पर्यो नि । मलाई यसमै आत्मा सन्तुष्टि मिलेको छ ।’

उनको जीवनमा त खासै परिवर्तन आएको छैन । तर, धुलावारी हलले थुप्रै परिवर्तन पाएको छ । पहिले फिल्म हलहरुमा रिलवाला चक्का प्रयोग गरिन्थ्यो तर, २०६४ सालदेखि धुलावारी हल पनि डिजिटल प्रविधिमा प्रवेश गर्यो । तर उनको जिन्दगी चाहिँ डिजिटाइज हुन सकेन ।

उसबेलाका जवान अभिताव अहिले पर्दामा सेतै फुलेको देखिन्छन् । र, हाम्रा चक्र दाईको जीवन चक्रले पनि टाउकाभरि सेतो कपाल उमारिसकेका छ । तर, पनि उनको आशाको किरण हराएको छैन । उनले अतितलाई सम्झदै भने–‘यस हलमा खुट्टा राख्न समेत ठाउँ हुँदैनथ्यो कुनै समय १२ वर्षयता खासै भीड हुँदैन । अहिले आएका नयाँ फिल्महरु पनि केही दिन राम्रै चल्छन् । तर, अलिक दिन पछि उही हुने गरेको छ ।’

उनले राष्ट्रियस्तरका हजारौँ कलाकारहरुलाई हलको पर्दामा हेरेका छन् । तर, प्रत्यक्ष रुपमा भने कमैलाई मात्र भेट्ने अवसर पाएको बताए । त्यसमा राजेश हमालको धेरै फिल्म हलमा सो गराएका छन् ।

तीनजना नातिका हजुरबुबा बनिसकेका उनी कामबाट बचेको समय उनै नातिहरुसँग रमाउने गर्छन् । दिउँसो १२ बजे र बेलुका ७ बजेको प्रदर्शनपछि उनी खुल्ला पंक्षीझैँ हुन्छन् । अर्थात उनी परिवारसँग रमाउने गर्छन् । ‘अब त कति पो बाँचिएला,’ उनले भने–‘जति बाँचिन्छ त्यतिन्जेल यसैमा काम गर्छु ।’
हलका सञ्चालक मुकुल श्रेष्ठले चक्र दाई हाम्रो अभिभावक भएको बताए । उनले भने–‘यस हलमा कति कर्मचारी आए, गए तर उहाँ निरन्तर हामीसँग रहेर काम गरिरहनु भएको छ ।’

यसरी एउटै हलमा ३८ वर्ष बिताएका चक्र धुलावारीका हरेक कुराका साक्षी हुन् । फिल्म सुरु हुन्छ । फिल्म सकिन्छ । रिलबाट प्रारम्भ हुन्छ । रिलमै टुङ्गिन्छ । तर, चक्रको रियल लाइफको पर्दा कहिले गिर्छ अहिले भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: