भद्रपुर । सरकारले ल्याएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई पहिलोपटक झापामा चन्द्रगढी सामुदायिक वन र हातेमालो सामुदायिक वन उपभोक्ता समितिले लागू गर्ने भएका छन् ।
चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको सभाहल चन्द्रगढीमा आयोजित कार्यक्रममा दुवै समितिका अध्यक्षहरुले सो जानकारी गराएका हुन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हीराप्रसाद पोखरेलले वन सम्पदाको संरक्षण गर्दै पर्यटकीय क्षेत्रको विकास गराउने उद्देश्यका साथ वैज्ञानिक वन व्यवस्थापनलाई कार्यान्वयन गर्न लागेको बताए ।
उनले ८० वर्ष माथिका साल जातका रुखबाट अक्सिजन प्रदान गर्ने क्षमता समेत घट्ने भएकाले ती रुखहरुको उचित व्यवस्थापन गरी नयाँ बिरुवा उत्पादनमा जोड दिइने बताए ।
उनले सरकारले लागू गरेको ८० वर्षे वैज्ञानिक वन व्यवस्थापनलाई कार्ययोजना बनाई चन्द्रगढी सामुदायिक वनबाट माऊ रुख १२८ वटा तथा कटान हुने रुख १०२ वटालाई चुना लगाएर संरक्षण गरिएको बताए ।
त्यस्तै, हातेमालो सामुदायिक वन उपभोक्ता समूहको माऊ रुख ११५ वटा तथा कटान हुने रुख ३२७ वटा रहेका छन् ।
पोखरेलले वैज्ञानिक वन व्यवस्थापनबाट प्राप्त हुने आम्दानीले उपभोक्ताको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास गर्दै वन क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा परिणत गर्ने योजना रहेको बताए ।
सहायक वन अधिकृत राजन राईले वैज्ञानिक वन व्यवस्थापन योजनाले गरिबी न्यूनीकरण हुनुका साथै आर्थिक र सामाजिक रुपले समेत समृद्धि हुने बताए ।
कार्यक्रममा पत्रकार चिन्तामणि दाहालले ऐतिहासिक स्थल चन्द्रगढको स्तरोन्नतिमा समितिले उल्लेखनीय भूमिका खेल्नुपर्नेमा जोड दिए ।
हातेमालो वन उपभोक्ता समितिका अध्यक्ष प्रेमप्रसाद पौडेलको अध्यक्षता तथा चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिकी सचिव सकुन्तला पोखरेलको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत चन्द्र सिग्देलले गरेका थिए ।
चन्द्रगढी वन ४३०.५९ हेक्टर र हातेमालो सामुदायिक वन ३९१.२७ हेक्टरमा फैलिएको छ ।