चन्द समूहबाट सुरक्षा खतरा : प्रधानसेनापति थापा

  प्रकाशित मिति
१ पुष २०७७, बुधबार १८:४४


झापा, १ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले ‘गैर संवैधानिक प्रक्रियामा रहेका र हिंसात्मक समूहका सम्भावित गतिविधिबारे जानकार रहन’ हालै दिएको निर्देशन शान्ति सुरक्षा कायम राख्न सघाउने उद्देश्यमा केन्द्रित रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति थापाको उक्त धारणा मोरङको मिक्लाजुङ गाउँपालिकामा अवस्थित एउटा माध्यामिक विद्यालयका प्रधानाध्यापकको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अघिल्लो साता हत्या गरेपछि बाहिर आएको थियो ।

आफ्ना प्रधानसेनापतिको अभिव्यक्तिलाई शान्ति सुरक्षाबारे उनले नियमित रूपमा राख्ने गरेको धारणाका रूपमा नेपाली सेनाले प्रस्तुत गरेको छ । तर एक जना सुरक्षा विश्लेषकले चन्द समूहका बारेमा सरकारसँग उपयुक्त दृष्टिकोण र रणनीति नरहेको टिप्पणी गरेका छन् ।

दुई साता अघि सुदुरपश्चिमका ब्यारेकहरूको भ्रमणमा निस्किएका प्रधानसेनापति थापाले अघिल्लो साता पूर्वी पृतनाको भ्रमण गरेका थिए ।

त्यसक्रममा फौजहरूलाई निर्देशन दिनेक्रममा ‘गैरसंवैधानिक र हिंसात्मक गतिविधि गरिरहेका समूह’का बारेमा धारणा राखेका थिए ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेल भन्छन्, ‘गैरसंवैधानिक प्रक्रियामा रहेका हिंसात्मक प्रकृतिका समूहहरूको सम्भावित गतिविधिसँग जानकार रहन र सबै परिस्थितिमा स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपालको संविधान र प्रचलित ऐन नियम अनुसार सबै प्रकारको सहयोग गर्न सक्ने गरी तयार रहन उहाँले निर्देशन दिनुभएको छ ।’

उनी भन्छन्, ‘ब्यारेकहरूमा निस्कँदा प्रधानसेनापतिले आन्तरिक सुरक्षाका चुनौतीका लागि तयार रहनु भनेर निर्देशन दिने एक किसिमको अभ्यास नै छ । यसलाई त्यही अनुसार हेर्नुपर्छ ।’

आफ्नो चार वर्षे कार्यकालको तेश्रो वर्षमा रहेका प्रधानसेनापति थापाले सुदूरपश्चिम र पूर्वका सैनिक ब्यारेकहरूको भ्रमण मंसिर यता गरेका छन् ।

अन्य पाँच वटा नेपाली सेनाका क्षेत्रीय मुख्यालयहरूको उनले चाँडै भ्रमण गर्ने बताईएको छ ।

(बीबीसी)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: