चलन बदल्ने अभियानमा एनएमसी

  प्रकाशित मिति
३१ भाद्र २०७३, शुक्रबार १०:४१


ramchandra

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले भर्खरैदेखि डेरी सञ्चालनमा ल्याएको छ । डेरी सञ्चालनको छोटो समयमै यसले राम्रो र गुणस्तरीय दूध, दही, घिऊ, पनिर, आइसक्रिमलगायतका सामाग्री उपभोक्ता माझ पुर्याउन सफल समेत भएको छ । यी विषयलाई लिएर एनएमसीका सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीसँग अशोक अधिकारीले गरेको कुराकानी 

अहिले तपाईको दैनिकी कसरी बितिरेहको छ ?
सयपत्री नेपालको आफ्नो व्यवसायलाई अलिकति व्यवस्थित बनाउने कार्य गर्दै छु । सँगसँगै अध्ययन, लेखनको काम पनि गर्दै छु । एउटा–दुइटा किताबको सामग्री मसँग तयारै छ । ती सामग्रीलाई एकै ठाउँमा जबम गर्ने र आफ्नो हिसाबबाट फाइनल गर्ने । सुद्धासुद्धि र अरु काममा साथीको सहयोग दिन्छु । तर, कुन राख्ने कुन नराख्ने भन्ने विषयमा फाइनल गर्दै छु । एउटा सहकारीकै विषयमा र एउटा अर्कै बिषयवस्तुको पुस्तक निकाल्ने तयारीमा छु । अरु समय सहकारीकै लागि दिने गरेको छु ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसीको वार्षिक कार्यक्रम के–कसरी अघि बढिरहेका छन् ?
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड एनएमसी आफ्नो गतिमा अघि बढिरहेको छ । हामी यसको संस्थागत सुशासन, संस्थागत विकास, योजनाबद्ध विकासलाई बढी महत्व र ध्यान दिन्छौँ । सँगसँगै शुद्ध सहकारी, सहकारीभन्दा अर्थोक केही पनि होइन । सहकारीका नाममा कहिलेकाही मान्छेलाई खुशी बनाउने बहानामा अलिक बढी नाफा बनाउने होइन । सहकारीको जिस्ट कुरा, सहकारी भनेको यसका सदस्यहरुको जीवनमा खोजिने आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन हो । माध्यम सहकारी हो । त्यसका लागि हामी कोसिस गरिरहेका छौँ । संस्थागत सुशासन र विकासका आधार तयार गरिरहेका छौँ । केही नयाँ कार्यक्रम यस पटकबाट ल्याइरहेका छौँ । ‘सामाजिक योगदानमा मेरो एक रुपैयाँ’ कार्यक्रम छ । युवा स्वरोजगार कार्यक्रम ‘उद्यमशीलताका लागि युवा अभियान’ शुरु हुँदैछ । कागती कार्यक्रम निरन्तर छ । यस पटक २० हजार कागतीका बिरुवा वितरणको तयारी छ । एनएमसी डेरीको काम चलिरहेको छ । लक्ष्य अनुरुप हामी निरन्तर अघि बढिरहेका छौँ ।

एनएमसीको वित्तीय स्थिति कस्तो छ ?
एनएमसीको साउन मसान्तसम्मको तथ्याङ्क भन्नसक्छु । अहिले हामी ३३ हजार सदस्य छौँ । शेयर पूँजी ३३ करोड बनेको छ । कोषहरुमा बाँडफाडपछि पनि २४ करोड जति रकम छ । डिपोजिट ३ अर्ब ६० करोडभन्दा माथि छ । ३ अर्ब ५१ करोड रुपैयाँ लगानी भएको छ । भाखा नाघेको कर्जा एकदम कम छ । ९ हजार २ सय जना मानिसका बीचमा हाम्रो कर्जाको कारोबार चलिरहेको छ । २ सय जनाको ब्याज आउन बाँकी होला । ५–७ जनाको म्याद नाघेको होला । सारमा भन्नुपर्दा, सम्पतीको गुणस्तर (एसेट क्वालिटी) राम्रो छ ।

कुन–कुन क्षेत्रमा लगानी गर्नु भएको छ ?
हाम्रो लगानी धेरै चाहिँ व्यवसायिकतामै छ । हामी बिजिनेस गर्न नै पैसा लगानी गर्छौं । कसैको व्यवसायले राम्रो छ, सफल छ, आम्दानीको स्रोतले धानिरहेको छ भने हामी घर निर्माण गर्न पनि लोन दिन्छौँ । अथवा जग्गा किन्न पनि दिन्छौँ । जग्गा छ, र छेउको अर्को जग्गा किन्नु प¥यो भने त्यसका लागि पनि दिन्छौँ । मानिसलाई व्यवसायिक बनाउन, व्यवसायिक कर्जा, कृषि कर्जा, सवारीसाधन खरीद गरेर व्यवसाय गर्ने कर्जा दिन्छौँ । कर्जाका प्रडक्टहरु धेरै छन् । तर, सबैभन्दा धेरै चाहिँ मानिसलाई व्यवसायिक बनाउनका लागि नै कर्जा दिइन्छ । कृषिमा व्यवसायिक बनाउन अलि बढी प्रोत्साहित गछौँ । ३ लाखसम्मको कर्जा १० प्रतिशत व्याजदरमा दिन्छौँ । उद्यमशिलताको विकास गर्नकै लागि हो । उद्यमशिलताको विकास सानैबाट हुन्छ । र, बढाउँदै लगेपछि आत्मनिर्भर हुन्छन् । हाम्रो कोसिस पनि उद्यमशिलताको विकासमै केन्द्रित छ ।

भौगोलिक सेवा क्षेत्र चाहिँ कति हो ?
झापा जिल्ला यसको कार्य क्षेत्र हो । झापा जिल्लामै पनि १५ वटा कार्यालयमध्ये १४ वटा माई पूर्व छन् । माई पश्चिम दुधेमा मात्रै एउटा कार्यालय छ । अब यो वर्ष शिवगञ्ज जान सक्छौँ । अर्को कुनै क्षेत्र पनि हुन सक्छ । क्रमशः विस्तार गर्दै छौँ । अब विस्तार गर्ने क्षेत्र सहरभन्दा गाउँ धेरै हुने छन् । गत वर्ष हामीले गोलधाप, शरणामतिमा विस्तार ग¥यौँ । ग्रामीण क्षेत्रमा पनि धेरै सम्भावना देखिरहेका छौँ ।

विभिन्न स्थानमा खुलेका सेवा केन्द्रलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
हाम्रा सेवा केन्द्र सशक्त छन् । चुस्तदुरुस्त छन् । तथ्याङ्क पनि अप टु डेट छन् । त्यहाँ काम गर्ने मान्छे पनि अप टु डेट र प्रधिविको पहुँच नभई हामी सेवा केन्द्र खोल्दैनौँ । न्यूनतम ५ सय सदस्य भएमात्रै सेवा केन्द्र खोल्छौँ । र, खोल्दा प्रविधिमार्फत केन्द्रीय नेटवर्कसँग जोडेर, समिति निर्माण गरेर, विषयका जानकार र तालिम प्राप्त कर्मचारी पठाएर मात्रै सेवा केन्द्र खोलिन्छ । हाम्रो पोलिसी त्यहाँ इम्प्लिमेन्ट गर्ने भएकाले सबै सेवा केन्द्र व्यवस्थित छन् । र, गत वर्ष अन्तिममा खोलिएका दुधे र गोलधाप बाहेक सबै सेवा केन्द्र नाफामा छन् । दुधे र गोलधाप पनि यो वर्षदेखि नाफामा जाने छन् ।

एनएमसीमा कति जनशक्तिले रोजगारी पाएका छन् ?
बैङ्किङ कारोवारतिर २ सय ५२ जना हुनु हुन्छ । एनएमसी डेरीमा ५४ जना हुनु हुन्छ । ३ सय ६ जनालाई प्रत्यक्ष रोजगारी । र, एनएमसीबाट अप्रत्यक्ष रुपमा कति स्वरोजगार हुनु हुन्छ भन्ने चाहिँं रिसर्चकै विषय हो । डेरीतिर धेरैले रोजगारी पाउनु भएको छ । ४६–४७ वटा पार्लर छन् । डेरी बिक्री केन्द्रमा औषतमा २ जनाको दरले रोजगारी पाउनु भएको छ । दुध सङ्कलन गर्न र १२ वटा चिलिङ भ्याट सञ्चालन गर्न २४ जना जनशक्ति परिचालन गरिएको छ ।

एनएमसी डेरीको अवधारणा कसरी आयो ? र अहिले स्थिति के छ ?
एनएमसी डेरी के कारणले सुरु गर्यो भन्ने कुरालाई बुझ्न जरुरी छ । हामी एउटा सहकारी हौं । सहकारी आफैं धनी हुँदैन । सहकारीले सदस्यलाई धनी बनाउने हो । तर, सदस्यलाई सेवा प्रवाह गर्न उसले एउटा आफ्नै निश्चित तहको क्षमता राख्नुपर्छ । ऊ आफैं क्षमतावान भएन भने अरुलाई सेवा दिन सक्दैन । त्यसैले आफूसँगै सदस्यको क्षमता विकास गर्नुपर्छ । सदस्यलाई व्यवसायिक बनाएर क्षमता विकास गर्न सक्छौं । बजारमा बस्नेले कुनै न कुनै हिसाबले व्यवसाय गरेका छन् । तर, गाउँमा बस्ने मानिसलाई अवसर धेरै छैन । बैदेशिक रोजगारमा धेरै गएका छन् । गाउँमा पशुपालन र कृषिको सम्भावना छ । अरबौंको कृषि सामाग्री आयात गर्न आवश्यक छैन । तर, गाउँमा मानिसलाई टिकाउनका लागि निश्चित योजना चाहिन्छ । हामीले गाउँमा कृषकलाई टिकाउन र कृषितर्फ आकर्षित गर्न गाइपालनतर्फ आकर्षित गर्यौं । दूध खरिद गर्नका लागि पहल त थाल्यौं तर कसैलाई बेच्न मात्र दुध खरिद गर्दा त्यो दीगो नहुने रहेछ । त्यसैले सहकारी आफैंले दूध खरिद गर्नुपर्ने र डेरी सञ्चालन गर्ने भन्ने निष्कर्षमा पुग्यौं । बजारमा चलन बदल्नुपर्छ भन्ने मनस्थितिमा पुग्यौं । हाम्रा खाद्य सामाग्री अशुद्ध रहेछन् । जुन डेरी प्रडक्ट हामीले प्रयोग गरिरहेका छौं । ती पनि खानयोग्य रहेछन् भन्ने निष्कर्षमा पुग्यौं र नै हामी चलन बदल्ने अभियानमा डेरी स्थापना गर्न पुग्यौं ।

अहिलेसम्ममा १३ करोड लगानी गरेर उद्योग सञ्चालन गरेका छौं । अहिले नाफा गर्न नसकेको भए पनि यतिका मानिसलाई उन्नतशील बनाउने अभियानमा जोडेका छौं । रोजगारीको सिर्जना गर्न सकेका छौं । र, पैसा तिरेर स्वस्थ र शुद्ध सामाग्री खान पाएका छौं । अहिले हामी १५ महिनामा छौं । पछिल्लो समय सञ्चालन खर्च उठाएर केही बचत गर्न सफल भएका छौं । साउन लागेपछि दूधको अभाव भएको छ । चाडबाडको सिजनमा माग बढेको छ । किसानलाई मिल्क होलिडे गर्न नदिन हामीले किसानबाट महंगोमा किनेर डीडीसीलाई सस्तोमा बेचेका पनि छौं ।

दैनिक उत्पादन क्षमता कति छ ?
आठ हजार २ सय लिटर दुध संकलन हुन्छ । र, त्यो सबै दूधका उत्पादन बजारमा पुगेका छन् । ५५ सयदेखि ६ हजार लिटर दूध विक्री हुन्छ । दही १५ सय लिटरको बनाइन्छ । पनिर, आइसक्रिम, योगर्ट, मोही बन्छ ।

एनएमसी डेरीका उत्पादनको विषयमा प्रश्न पनि उठ्ने गरेको छ नि ?
हामीले जति बेलादेखि गाइवस्तु पाल्न सिक्यौं, दूध दही खाना सिक्यौँ । त्यतिबेलादेखि हामीले एउटै खालको स्वाद लिँदै आयौं । यो अप्रशोधित दूध हो । दूध खान्छौँ, दही खान्छौं, मोही खान्छौं, घिऊ पनि त्यही परम्परागत शैलीबाट उत्पादन गछौं । तर, यसो गर्दा धेरै प्रकारका सामग्री बन्दैन । यी कच्चा दूधका परिकार हुन् । उद्योगमा चाहिँ कस्तो हुन्छ भने जुन कच्चा दूध आउँछ त्यसलाई फिल्टरेसन गरिन्छ, चिलिङ हुन्छ, पास्चराइज हुन्छ, होमोजिनाइज्ड हुन्छ । यो सबै प्रशोधनको प्रक्रिया हो । यो चाहिँ लाखौ करोडौँको मेशिनबाट बेस्सरी घोल्ने, त्यसभित्रका मिनरल, ल्याक्टोज, प्रोटिनलाई घोलेर खानका लागि अझै उपयुक्त बनाइन्छ । गाइभैंसीको दूध मेशिनले अझै पोषणयुक्त बनाउने होइन, तर ७२ डिग्रीको तापव्रmममा १५ सेकेन्ड मात्रै तताएर माइन्समा झारेपछि दूधमा हुने पौष्टिक तत्व सुरक्षित हुन्छन् । आठ एसएनएफ तीन फ्याटको दूध बजारमा पुर्याउनुपर्छ । यो नेपाल सरकारले तोकेको गुणस्तर मापदण्ड हो । बजारमा पाइने खुल्ला दूध यी सबै पौष्टिकतत्वयुक्त हुँदैन । एनएमसीको दुध प्रशोधनको अङ्ग पूरा गरेकाले राम्रो, मिठो छ । ज्याँदा स्वस्थकर, स्वादिष्ट छ । परम्परागत रुपमा खाएको दूधभन्दा मिठो छ । प्रशोधनको प्रक्रिया पुर्याएपछि नै हाम्रा डेरी उत्पादन मिठो बाक्लो भएको हो । हामीलाई चिटिङ र फर्ड गर्न आउँदैन । एनएमसी हजारौँ नागरिकको लगानी भएको संस्था हो । तपाईहरुको विश्वास र भरोसाकै कारण हामीले पनि गुणस्तरीय सामग्री उत्पादन गरिरहेका छौँ ।

एनएमसी डेरीका उत्पादन कहाँ कहाँ पाइन्छ ?
झापाका मुख्य बजारहरुमा एनएमसीका उत्पादन पाइन्छ । काँकरभिट्टादेखि दमकसम्म, राजमार्ग आसपासका क्षेत्र, भद्रपुरदेखि बनियानीसम्म तथा शनिश्चरे, बुधबारे, बाहुनडाँगी, गरामनी, शिवगञ्जलगायतका स्थानमा एनएमसीका उत्पादन पुर्याएका छौं । मोरङका उर्लाबारी, मंगलबारेसम्म एनएमसी उत्पादन पाइन्छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
एनएमसी तपाईको लगानीबाट सञ्चालित संस्था हो । तपाईको निर्णयबाट चल्ने संस्था हो । तपाईले छानेको नेतृत्वले अगुवाई गर्ने संस्था हो । यो डेरी तपाईको आफ्नो डेरी हो । उत्पादनमा सम्लग्न हुनुहोस्, दुध बेच्नुस् । व्यवसायिक हुनुहोस् । चिलिङ भ्याट राखेर रोजगारी सिर्जना गर्न पनि सकियो । जसले यसका उत्पादन बेच्नुहुन्छ, तपाईहरुले पनि उपभोक्तालाई सही जानकारी दिनुहोस् । उपभोक्ताले पनि एनएमसीका उत्पादन प्रयोग गर्नुहोस् । एनएमसी उत्पादन तुलनात्मक रुपमा स्वस्थ, हाइजेनिक छन् । यी नै सामाग्री उपयोग गर्न म अनुरोध गर्छु । आम उपभोक्तालाई पनि यही सहयोगको निरन्तताको लागि अनुरोध गर्न चाहन्छु ।
प्रस्तुति ः अशोक अधिकारी

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: