भद्रपुर । महान्यायधिवक्ता अग्नी खरेलले चिकित्सकहरुले सही रिर्पोट नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाहरुको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेहरुले उन्मुक्ति पाउने बताए ।
आइतबार विर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला सरकारी वकिलको कार्यालयले संयुक्त रुपमा आयोजना गरेको ‘कानुनी चिकित्सा र विद्यमान कानुनी व्यवस्थाहरुको बारेमा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले घटनाको प्रकृतिलाई राम्रो अध्ययन र ल्याब टेस्ट गरेर मात्र रिर्पोट नदिए अपराध गर्नेले उन्मुक्ति पाउने बताए ।
‘मैले चिकित्सकहरुलाई दुरुत्सान र हतोत्साही गर्न चाहेको होइन बरु प्रोत्साहन गर्न खोजेको हुँ’ उहाँले भने, ‘जुन घटनाको लागि टेस्ट गर्न पठाइएको हो त्यसको बारेमा राम्रो चेकजाँच गरेर जे देखिन्छ त्यही डाक्टरी होइन सर्वसाधारणले बुझ्ने अक्षरमा लेखिदिनुस् ।’
उनले हत्या, बलात्कार, आत्महत्या जुनसुकै घटनाको परीक्षण गर्दा पनि यथार्थ रिर्पोट दियो भने घटनाको सही पहिचान गरेर कानुन अनुसार अभियुक्तहरुलाई दण्डदिन सकिने बताए । महान्यायधिवक्ता खरेलले सरकारी वकिल, अनुसन्धान गर्ने अधिकारी र प्रहरीले पनि घटनाको विवरण अनुसारको सही चेकजाँचका लागि चिकित्सकलाई सिफारिस गर्न आग्रह गरे ।
उनले कतिपय घटनाहरुलाई प्रभावित पार्ने खालको समाचार सम्प्रेषण नगरी दिन पत्रकारलाई आग्रह गरेका थिए । उनले मिडियाले घटनाहरु सार्वजनिक गर्ने मात्र भएको बताउँदै अनुसन्धान र कारवाही गर्ने काम प्रहरी र सरकारको भएको बताए ।
राजनीतिक दल, पत्रकार र सामाजिक सञ्चालन चलाउनेहरुले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला शर्माको घटना बारे अनावश्यक गिलोरिहेका कारण अनुसन्धान प्रभावित भएको आरोप लगाए ।
महान्यायधिवक्ताको कार्यालय काठमाडौंका सह–न्यायधिवक्ता लोकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. हरिहर वस्ती, डा. अर्चना चौधरीलगायतले सहजीकरण गरेका थिए । कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख धु्रव शिवाकोटी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
विएण्डसी हस्पिटलको समन्वयमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले फरेन्सिक रिर्पोट कारण आउने समस्याका बारेमा जानकारी गराएका थिए ।