चिकित्सक धम्काउने ‘समूह’को खोजी

  प्रकाशित मिति
९ असार २०७३, बिहीबार १६:४९


whoभद्रपुर । चिकित्सक तथा अस्पताललाई कार्वाही गर्ने चेतावनी दिने ‘सचेत नागरिक समूह झापा’को खोजी सुरु भएको छ ।

समूहले झापाका विभिन्न सञ्चारमाध्यममा पटकपटक सशुल्क विज्ञप्ति प्रकाशित गरी निजी क्लिनिक गएर विरामी जाँच्ने सरकारी अस्पतालका चिकित्सकलाई विभिन्न लाञ्छना लगाउँदै कार्वाही गर्नेसम्मको चेतावनी दिएको थियो ।

कार्वाहीकै चेतावनी आएपछि डाक्टरहरूले प्रशासनसँग सुरक्षा मागेका छन् । त्यसपछि प्रशासनले चेतावनी दिने समूह सक्कली हो कि नक्कली भनी खोजी सुरु गरेको हो ।

‘विज्ञप्तिका कारण असुरक्षा भएको भन्दै डाक्टरहरू आउनु भएको छ’, प्रशासनका एक अधिकृत भन्छन्–‘सचेत समूह साँच्चै छ कि, छैन कि, छ भने के माग हो भनेर सोधी खोजी सुरु गरेका छौँ ।’

चेतावनी आएपछि मेची चिकित्सक सङ्घको टोली सुरक्षा माग गर्दै विहीवार जिल्ला प्रशासन कार्यालय पुगेको थियो । समूहको विज्ञप्ति पत्रपत्रिकामा प्रकाशित आएपछि चिकित्सकमा त्रास फैलिएको मेची चिकित्सक सङ्घका अध्यक्ष तथा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुर बताउँछन् ।

त्रासका कारण चिकित्सक आन्दोलित हुने अवस्था आएको र सरकारी ड्युटीबाहेकको समयमा विरामी जाँच्न पाउने व्यावसायिक अधिकार कुण्ठित भएको उल्लेख गर्दै डा. ठाकुरले चिकित्सक सङ्घका तर्फबाट विहीवार प्रजिअ मदन भुजेललाई भेटी ज्ञापन पत्र बुझाए ।

चिकित्सकहरूले सचेत समूहलाई सार्वजनिक गराउन समेत प्रशासनसँग माग गरेका छन् । खुलेआम विज्ञप्ति निकालेर कार्वाही गर्ने धम्की दिने त्यस्तो गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी कार्वाही चलाउनु पर्ने उनीहरूको भनाइ छ ।

सरकारी चिकित्सकले विहान ९ देखि अपरान्ह २ बजेसम्म र बेलुकी राउण्डमा विरामीको सेवा गर्नु पर्ने कार्यावधि तोकिएको र त्यस बाहेकको समयमा सम्बन्धित निकायसँग अनुमति लिएर निजी क्लिनिक तथा अस्पतालमा विरामी जाँच्न पाउने डा. ठाकुर बताउँछन् ।

प्रजिअ मदन भुजेलले सरकारले तोकिदिए बमोजिम बिरामी जाँच्न पाइने हुँदा कसैको त्रास र धम्कीदेखि चिन्तित नहुन चिकित्सकहरूलाई आग्रह गरेका छन् ।

चिकित्सक तथा औषधि व्यवसायीहरूले विज्ञप्तिमा उल्लेख भएका अपमानजनक शब्दप्रति समेत आपत्ति जनाएका छन् । उनीहरूले नाम र ठेगाना नखुलेको जोसुकैले दिएको विज्ञप्ति छापिदिएको भन्दै सञ्चारमाध्यमहरूप्रति समेत गुनासो व्यक्त गरेका छन् ।

‘हामी यही समाजका सम्मानित पेशामा संलग्न व्यक्ति हौँ’, चिकित्सकहरूको गुनासो छ–‘मानमर्दन हुने र अपमानित हुने शब्द प्रयोग भएको विज्ञप्ति मिडियाका साथीहरूले जथाभावी छापिदिनु भएकोमा अचम्म लागेको छ ।’

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको छलफलमा मेची चिकित्सक सङ्घका अध्यक्ष डा. पिताम्बर ठाकुरसहित मेची अञ्चल अस्पताल, ओमसाइ पाथिभरा हस्पिटल, वीएन्डसी हस्पिटल, कञ्चनजङ्गा हस्पिटल लगायतबाट प्रतिनिधित्व गर्ने डाक्टरहरू, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङ, उपाध्यक्ष तारामणि सापकोटा, पूर्व केन्द्रीय सदस्य मोहन काजी, पूर्व जिल्ला अध्यक्ष चिन्तामणि सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

पत्रकार महासङ्घबाट प्रतिनिधित्व गर्ने पत्रकारहरूले चिकित्सकहरूको मानमर्दन हुने गालीगलौजयुक्त शब्द प्रयोग भएको विज्ञप्ति छापिएकोमा क्षमा याचना गर्दै समाजमा गैरकानूनी एवम् विकृतिपूर्ण कार्य कहिँ कतैबाट भएको लागेमा लुकेर होइन, खुलेरै विरोध गर्न पाइने भएकाले सचेत नागरिक समूहले भूमिगत रुपमा गतिविधि सञ्चालन गर्नु असान्दर्भिक भएको टिप्पणी गरेका छन् ।

यसैविच, नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चल शाखाले बुधवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सचेत समूहको नाममा औषधि व्यवसायीको सेवाप्रति वेवास्ता र मानमर्दन गर्दै छापामार शैलीमा आएको विज्ञप्तिप्रति आपत्ति प्रकट गरेको छ ।

औषधि व्यवसायीहरूले नेपाल सरकारबाट अनुमति लिई आम जनतालाई स्वास्थ्य समस्याका बारेमा पहिलो परामर्श सेवा समेत दिइरहेको उल्लेख गर्दै विज्ञप्तिमा अमूक समूह बनाएर जथाभावी गर्दै हिड्ने कार्यलाई कानूनी कार्वाहीको दायरामा ल्याउन प्रशासनसँग माग गरेका छन् ।
विज्ञप्तिमा सङ्घका अध्यक्ष सूर्यप्रसाद कोइराला र महासचिव गौतम गुप्ताले हस्ताक्षर गरेका छन् ।

सचेत नागरिक समूह झापाकै नामबाट झापाका १९ जना चिकित्सकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिएको थाहा भएको छ ।

चिकित्सकहरूले कर नतिरेको, लाइसेन्स नलिएको लगायतका विषयमा छानविन गर्न उजुरीमा माग गरिएको बुझिएको छ ।
सचेत नागरिक समूह को हो, कसले सञ्चालन गरेको छ, किन यसले भूमिगत क्रियाकलाप गरेको हो भन्ने विषय खोजी र चर्चाकै विषय बनेको छ ।

स्वास्थ्य क्षेत्रमा सुधारका लागि समूहले उठाएका कतिपय विषय जायज लागे पनि समूह चाहिँ किन सार्वजनिक हुन सक्दैन भन्ने प्रश्न रहस्यमय छ ।

सरकारी चिकित्सकहरू नै निजी क्लिनिकमा धाउने प्रचलन रहेकाले ठूला निजी हस्पिटल सञ्चालकहरूको उक्साहटमा त कतै सचेत नागरिक समूहको प्रायोजित जन्म भएको होइन भनी एकथरि सरकारी चिकित्सकहरू आशङ्का गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: