गाउँ छाडेन चितुवाले

  प्रकाशित मिति
१ चैत्र २०७४, बिहीबार २१:५६


मेचीनगर । मेचीनगर–४ आलडाँगी क्षेत्रमा चितुवाले स्थानीयको पशु÷चौपाय भकाभक मार्न थालेपछि सिङ्गो गाउँका बासिन्दा त्रसित भएका छन् ।

नजिकैको बगानमा लुकेर बसेको चितुवाले बेलुकीको समयमा गाउँ छिर्न थालेपछि स्थानीयलाई पशु÷चौपाय जोगाउन समस्या भएको छ । चितुवा गाउँ नजिकै लुकेर बसेपछि उनीहरुमा त्रास त छ नै अझ आफ्नो जीउज्यान कसरी जोगाउने भन्ने चिन्ता पनि थपिएको छ ।

‘अहिले त पशु मात्र मारिरहेको छ,’ स्थानीय मन्दीरा कटुवालले भनिन्, ‘हामीमाथि नै आव्रmमण गर्यो भने के हुन्छ भन्न सकिदैन ।’

आमडाँगी क्षेत्रमा सो चितुवा तीन दिनअघि देखापरेको स्थानीय बताउँछन् । पन्ध्र दिनअघि एक स्थानीयको बाख्रा सो चितुवाले मारेको थियो । त्यसपछि एकाएक हराएको चितुवाले फेरि गाउँ छिरेर दुःख दिएको मेचीनगर–४ का वडाध्यक्ष नविन बरालले बताए ।

उनले चितुवाले यसरी दुःख दिएको घटना यसअघि कहिले नसुनेको बताए । ‘आलडाँगी क्षेत्रमा चितुवाले दुःख दिएको सुनिएको थिएन,’ उनले भने, ‘तर यो चितुवा कहाँबाट आएको हो भन्नै सकिएन ।’

चितुवाले आमडाँगी क्षेत्रका स्थानीयको अहिलेसम्म आठवटा बाख्रा र एउटा गाई मारिसकेको छ । रातिको समयमा गाउँ छिरेर खोरमा बाँधेको बाख्राको घाँटी चितोरेर मार्ने गरेको वडाध्यक्ष बरालले बताए ।

चितुवाले अति दुःख दिन थालेपछि वडा कार्यालयको पहलमा बुधवार ट्रयाक (चितुवा समात्ने पासो) थापिएको छ । चितुवा लुकेर बसेको गाउँ नजिकैको बगान÷झोडीमा पासो थापिएको हो । तर पनि अहिलेसम्म चितुवालाई पासोमा पार्न सकिएको छैन ।

वडाध्यक्ष बरालले जिल्ला वन कार्यालयसँग समन्वय गरी जामुनखाडी बनबाट ट्रयाक मगाएर राखिएको बताए । ‘चितुवाले साह्रै दुःख दियो,’ उनले भने, ‘समात्न पासो थापिएको छ, भएन भने मार्नैपर्छ होला ।’ पासो थापिएकै रात चितुवाले एक स्थानीयको बाख्रो समेत मारिदिएको बरालले बताए ।

चितुवा जुनसुकै बेला पनि गाउँ छिरेर आव्रmमण गर्न सक्छ भन्ने डरले स्थानीय राम्ररी सुत्न पनि सकेका छैनन् । ‘पहिले–पहिले हात्तीको डर हुन्थ्यो,’ स्थानीय मन्दीरा कटुवाल भन्छिन्, ‘तर अहिले चितुवाबाट डराउनु पर्ने अवस्था आयो ।’ उनले स्कुल गएका बालबच्चा घर फर्केर नआउञ्जेलसम्म मनमा डर रहिरहने बताइन् ।

स्थानीय नजिकैको चिया बगानमा काम पनि गर्दै आएका छन् । मानिसमाथि चितुवाले आव्रmमण नगर्ला भन्न सकिने अवस्था छैन । स्थानीय भीमबहादुर कार्कीले काम गर्नका लागि बगान जानुपर्ने भएकाले कुन बेला चितुवाले मार्ने हो भन्ने चिन्ता थपिएको बताए ।

चितुवाका कारण गाउँ नै त्रसित भएपनि सरकारी निकाय भने खासै गम्भीर देखिएको छैन । जिल्ला वन कार्यालय झापाले चितुवा समात्न प्रयत्न गरिरहेको बताएको छ ।

जिल्ला बन अधिकृत बोधराज सुवेदीले चितुवाले दुःख दिएको खबर आएपछि त्यसलाई समात्न पासो थापिएको बताए । ‘वडा कार्यालयसँगको पहलमा हामीले पासो थापेका छौँ, हेरौँ एकदुई दिनभित्रमा चितुवा पासोमा पर्ला नि ।’
उनले चितुवाले साह्रै दुःख दिन थाल्यो भने प्रमुख जिल्ला अधिकारीको निर्देशनमा मारिने बताए । वन्यजन्तु संरक्षण ऐन अन्तर्गत चितुवा मार्न पाइदैन । तर, साह्रै दुःख दिएको खण्डमामात्र मार्न पाइने भएकाले केही समय पर्खिने उनले बताए ।

केही दिनअघि गौरीगञ्ज गाउँपालिकाको एक झाडीमा लुकेर बसेको चितुवाले यसरी नै दुःख दिएको थियो । दुई दिनपछि त्यसलाई पासोमा पारिएको बन अधिकृत सुवेदी बताए ।

चितुवाले गाउँ नै आतङ्कित पारिरहेकाले बेला सुरक्षाको जिम्मेवारी लिएको प्रहरी प्रशासनले घटनालाई सामान्य लिएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी टङ्क भट्टराईले चितुवाको विषयमा जिल्ला वन कार्यालयलाई जानकारी गराएको बताए ।

उनले प्रहरी टोली आमडाँगी क्षेत्रमा पठाउने तयारी गरेको जानकारी दिए । ‘हामीसँग चितुवा समात्ने टेक्निकल टीम हुँदैन,’ उनले भने, ‘त्यही भएर जिल्ला वनलाई खबर दिएका हौँ, केही भइहाल्यो भने हामी त्यहाँ जान्छौँ ।’

(लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)
………………

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: