चिनियाँ नागरिकद्वारा काठमाडौँमा प्रर्दशन, प्रहरीलाई मुक्का प्रहार

  प्रकाशित मिति
२६ बैशाख २०७७, शुक्रबार २२:०३


झापा । शुक्रबार दिउँसो सिंहदरबारअघि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी परिरहेको थियो ।

कोरोना भाइरसको बेला प्रदर्शनमा उत्रिएर प्रहरीसँग भिड्नेहरु नेपाली नागरिक भने थिएनन् ।

लकडाउनले ४६ दिनदेखि अलपत्र परेका चिनियाँहरु घर जान पाउँ भन्दै प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुका हातमा ‘आइ वान्ट टु गो होम, ‘नो मनी, निड टु गो होम’ लगायतका प्लेकार्ड थिए ।

घर जान नपाउँदा उनीहरुको अनुहारमा निरासा प्रस्टै देखिन्थ्यो । काठमाडौंस्थित चिनियाँ दूतावासले पनि आफूहरुलाई फर्काउन पहल नगरेकोमा उनीहरु आक्रोशित पनि थिए ।

‘पहिले हाम्रो कार्यालयमा पनि आएका थिए,’ पर्यटक प्रहरी इन्स्पेक्टर अस्मिता कार्कीले भनिन,‘उनिहरुले आफ्नो सूचना दिन चाहेका थिएनन् । राजदूतावासमा पुगेपनि वास्ता नगरेपछि भौतारिएका हुन् ।’

उनका अनुसार त्यसरी अलपत्र परेका चिनियाँ नागरिक कति छन् र कहिलेदेखि नेपालमा छन् भन्ने औपचारिक जानकारी छैन ।

यसअघि उनीहरुले भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालय अघि धर्ना दिएका थिए । आफ्नै दूतावासले पनि घर पठाउन पहल नगरेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शन गर्ने ठाउँ पनि उनीहरुले निषेधित क्षेत्र नै रोजे ।

प्लेकार्डसहित चिनियाँहरु प्रदर्शनमा उत्रिएपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्यो । धकेलाधकेल सुरु भयो ।

एक चिनियाँले त प्रहरीको बर्दीमै समातेर ताने । तनाव बढेपछि प्रहरीले लाठी बर्सायो । चिनियाँहरुले मुक्का हान्न थाले ।

अवस्था नियन्त्रणमा लिन पुरुष प्रहरीले महिलालाई समेत लाठी हानेको भिडिओमा कैद भएको छ ।

एक जना चिनियाँले ढुंगा हान्दा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत घाइते भएका छन् । केही चिनियाँ नागरिकलाई पनि चोटपटक लाग्यो । पछि थप प्रहरीहरु आएर प्रदर्शन गर्नेलाई पक्राउ गरे ।

‘उनीहरु करिब ३ देखि ६ महिनाअघि नेपाल आएर काम गरेर बसेका रहेछन,’ परिसरका एसपी सोमेन्द्रसिंह राठोरले भने,‘हामीले ४७ जनालाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेका छौं ।’

उनीहरुलाई दूतावासबाट कोही आएर छुटाउन आएपछि छोड्ने राठोरले बताए ।

‘अब हामीले चीन नै पठाउने कुरा त हुँदैन,’ उनले भने,‘दूतावासबाट कोही प्रतिनिधि आएर छुटाउन आएपछि छोड्छौं ।’

यस विषयमा काठमाडौंस्थित चिनियाँ दूतावाससँग सम्पर्क गर्दा त्यहाँका अधिकारीले तत्काल प्रतिक्रिया दिन अस्वीकार गरे ।

(सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: