मेचीनगर, २६ भदौ । सीमामा कायम रहेको तनावलाई कम गर्न चीन र भारतबीच पाँच बुँदामा सहमति भएको छ ।
सीमामा तैनाथ सैनिकको गतिविधि घटाउन र स्थितिलाई सहज बनाउने विषयमा दुई देशबीच सहमति भएको हो ।
मस्कोमा भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच करिव साढे २ घन्टा छलफल भएपछि यस्तो सहमति भएको हो । साङ्घाई कोअपरेसन अर्गनाइजेसनको कार्यक्रममा सहभागी हुन भारत र चीन दुवै मुलुकका विदेश मन्त्री रसियामा छन् ।
शुक्रवार बिहान संयुक्त वक्तव्य जारी गर्दै सहमतिलाई औपचारिकता दिएका छन्, दुवै मुलुकले ।
भारत–चीन सम्बन्धमा राजनीतिक नेतृत्वबाट विकास हुने सहमतिको श्रृङ्खलालाई दुवै पक्षले अनुसरण गर्ने तथा मतभेदलाई विवादित बनाउन नदिने सहमति भएको वक्तव्यमा उल्लेख छ ।
साथै, वक्तव्यमा अहिले सीमामा जे भइरहेको छ त्यो दुवै देशको प्राथमिकताको विषय नभएको उल्लेख छ ।
सीमामा रहेका सैनिकबीच वार्ता जारी राख्ने, सैनिक सक्रियतालाई कम गर्न, दुरी कायम गर्ने र स्थितिलाई सहजिकरण गर्ने विषयमा सहमति भएको उल्लेख छ ।
चीन–भारतबीको सीमासँग सम्बन्धित सबै सम्झौता र प्रोटोकलहरुको पालना गर्ने, सीमा क्षेत्रमा शान्ति कायम राख्ने र तनाव बढाउनसक्ने खालका गतिविधिलाई नियन्त्रणमा राख्ने सहमति भएको छ ।
साथै दुवै मुलुकका विशेष प्रतिनिधिबीच छलफलका लागि संयन्त्र तयार गर्ने विषयमा पनि छलफल भएको थियो ।
दुवै देशका मन्त्रीहरुले स्थितिलाई सहज बनाउन सहमति जनाएका छन् । सीमा क्षेत्रमा शान्तिपूर्ण अवस्था कायम गर्न र सम्बन्ध सुधारका लागि नयाँ सिराबाट समझदारी गर्ने विषयले छलफलमा स्थान पाएको थियो ।
गलवान उपत्यकामा दुई देशका सैनिकबीच हिंसात्मक भिडन्त भएयता भारत र चीन सीमामा तनाव कायमै छ ।
दुवै मुलुकले एक अर्कालाई आक्षेप लगाउँदै आएका छन् । पछिल्लो समय चीनले भारतीय सेनाले घुसपेठ गरेको आरोप लगाएको थियो ।
अर्कातिर भारतले चिनियाँ सैनिकले उत्तेजित बनाउन खोजेको दोषारोपण गरेको थियो ।
(पहिलो पोष्ट)