झापा । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षीत निर्वाचनमा उम्मेद्वार बन्ने लक्ष्यका साथ झापामा दुई ‘हेडटिचर’सहित तीन जनाले शिक्षकले जागिर छाडेका छन् ।
शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेशा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ उनीहरुले जागिरबाट हालै राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा अर्जुनधारा नगरपालिकाको शिव नारायण प्राविकी प्रधानाध्यापक सरस्वती सिटौला, बुद्ध आधारभूत विद्यालय घेराबारीका प्रधानाध्यापक कालिन्द्रसिंह राजवंशी र शिवसताक्षी नगरपालिका–६ मा रहेको जनआदर्श माविका शिक्षक लोकबहादुर रोक्का रहेका छन् ।
उनीहरुमध्ये सिटौला र राजबंशी नेपाली काङ्ग्रेस र रोक्का नेकपा एमालेबाट उम्मेद्वार बन्न लागेको खुलस्त बताउँछन् ।
‘मेरो पहिलेदेखि राजनीति तथा सामाजिक सेवा गर्ने धोको थियो’, प्रधानाध्यापकको जागिर चटक्कै छाडेर राजनीतिमा होमिएकी सिटौलाले भनिन्–‘अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट बोकेकी छुँ ।’
उनी नेपाली काङ्ग्रेस पार्टीबाट अर्जुनधारा नगरपालिकाको मेयर पदको उम्मेद्वार बन्ने तयारीमा जुटेकी छिन् । जागिर छाडेर आएकी हुँदा पार्टीबाट मेयरको टिकट पाउने उनको आशा छ ।
२०४० साल भदौ १ गते शिक्षण क्षेत्रमा प्रवेश गरेकी उनले सेवा निवृत्त (रिटायर्ड) हुन ४ बर्ष बाँकी छँदै २०७३ फागुन २३ गते जिल्ला शिक्षा कार्यालय झापामा राजीनामा दिएकी हुन् ।
२८ बर्ष सोही प्राविमा प्रअ रहेकी सिटौला यतिबेला मेयर पदको टिकटको लागि पार्टीमा लविङ गरिरहेको बताउँछिन् ।
लामो समयदेखि पार्टीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी उनी टिकट पाए बहुमत ल्याएर जित्ने दाबी गर्छिन् । उनी त्यो क्षेत्रकी पार्टीकै दक्ष र क्षमतावान महिला नेतृको रुपमा चिनिन्छिन् ।
त्यसैगरी शिक्षक लोकबहादुर रोक्का शिवसताक्षी नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बन्ने तयारी गर्दैैछन् । उनी नेकपा एमालेको लोकप्रिय कार्यकर्ता हुन् ।
वि.सं. २०४८ साल मङ्सिर १ गते स्थायी शिक्षकको रुपमा जागिरमा प्रवेश गरेका उनले स्थानीय निकायको निर्वाचनमा उम्मेद्वार बन्नकै लागि यही चैत ५ गते जिल्ला शिक्षा कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् ।
२६ बर्ष शिक्षण पेशामा बिताएका ५२ बर्षे रोक्का भन्छन्–‘पार्टीले वडाध्यक्षको उम्मेद्वार बन्न टिकट दिन्छ भन्ने विश्वास छ, चुनाव लड्छ ।’ उनले पार्टीकै जिम्मेवारीमा बसेर काम गर्ने उत्कट इच्छा भएको र जागिर छाडेर राजनीतिमा होमिएको बताए ।
यसैगरी, कचनकवल गाउँपालिकामा नेपाली काङ्ग्रेस पार्टीबाट अध्यक्ष उम्मेद्वारको आकांक्षी बनेका बुद्ध आधारभूत विद्यालय घेरावारीका प्रधानाध्यापक कालिन्द्र राजवंशीले पनि राजीनामा दिएका छन् ।
उनले उम्मेद्वार बन्नैका लागि २०७३ माघ १४ गते राजीनामा दिएको बताए । २०५० भदौ ९ गते साविक पथरिया–१ स्थित मोती निमाविमामा स्थायी शिक्षकको रुपमा नियुक्ति भएका उनी २०५६ सालदेखि निरन्तर बुद्ध आधारभूत निमाविमा प्रअको जिम्मेवारीमा थिए ।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा क्रियाशील उनलाई पार्टीले गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वार बनाउँछ भन्नेमा विश्वास छ । उनी भन्छन्–‘पार्टीभित्र थुप्रै आकांक्षी हुनुहुन्छ, जागिर नै छाडेर आएको हुँदा मेरो मूल्याङ्कन हुन्छ जस्तो लाग्छ ।’
शिक्षणसँगै सामाजिक क्षेत्रमा क्रियाशील रहेका उनले बाँकी दिनहरु पार्टीको राजनीतिमा विताउने बताएका छन् ।
उनीहरु तिनै जना शिक्षकको राजीनामा स्वीकृत भइसकेको जिल्ला शिक्षा कार्यालयका अधिकृत दिनेश आचार्यले बताए ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति उद्वव थापाले सोमबार पार्टी कार्यालयमा बसेको बैठकको निर्णयलाई उद्धृत गर्दै उम्मेद्वार छान्ने प्रक्रिया मङ्गलबारबाट सुरु हुने बताएका छन् ।
उनले शिक्षण पेशाबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका सरस्वती र कालिन्द्रको उम्मेद्वारी पार्टीबाट निश्चित नभइसकेको बताए ।
‘छनौटको विधि तय भइसकेको छ’, सभापति थापाले लोकतन्त्र पोस्टसँग भने–‘नगर, गाउँपालिका र वडाहरुमा उम्मेद्वारका आकांक्षी धेरै छन्, तल्लो निकायबाट छनौट भएर आउनु हुने जो कोही उम्मेद्वार बन्न सक्नुहुनेछ ।’
नेकपा एमाले झापाका प्रचार विभाग प्रमुख माधव विद्रोहीले पार्टीले कसैलाई पनि जागिर छाडेर आउन कार्यकर्तालाई आह्वान नगरेको र जागिर छाड्दैमा उम्मेद्वारको टिकट निश्चित नहुने बताएका छन् ।
‘पदको आकांक्षा राख्दै कसै कसैले जागिरबाट राजीनामा दिनु भएको सुन्नमा आएको छ’, प्रचार विभाग प्रमुख बिद्रोहीले भने–‘उम्मेद्वार बन्नका लागि पार्टीले निश्चित प्रक्रिया र विधि लागू गरेको छ, मङ्गलवार हुने जिल्ला सचिवालयको बैठकमा यस विषयलाई छलफलमा लैजाने छौँ ।’