चुनावमा वाहेक नेता नपुग्ने गाउँ

  प्रकाशित मिति
१५ पुष २०७२, बुधबार १०:०७


?????????????

?????????????
घेरावारी । झापाको घेरावारी–५ मा पर्ने पिण्डलवारी पुग्दा जो कोहिलाई लाग्न सक्छ–यो भारतको भूमि हो कि भन्ने । तर यो गाउँ नेपालकै भूभाग हो । जहाँका नेपाली किनमेल, पठनपाठन र आउजाउ लागि भारतकै भर पर्न बाध्य छन् ।

पूर्वपश्चिम लोक मार्गवाट दक्षिण राजगढ हुँदै भागडुब्बाबाट कच्ची बाटो पश्चिम गएपछि पिण्डलबारी पुगिन्छ । विकासमा हेपिएको यो गाउँका विद्यार्थी स्कुल पढ्न भारततिर जान्छन् ।

पिण्डलवारीमा १ सय ३० घर रहेको स्थानीय नारायणप्रसाद राजवंशीले बताए । उत्तर, दक्षिण र पश्चिममा विहार राज्यको किसनगञ्ज जिल्लाको दिगलबैङ्क गाउँसँग सीमा जोडिएको पिण्डलवारीको पूर्वमा विरिङ खोला छ ।

तीनतिर भारत र एकातिर विरिङले घेरिएका पिण्डलवारीबासीले सम्पूर्ण दैनिक कारोवार भारतमै गर्नु पर्ने बाध्यता छ ।

‘चौकीमा चाहिने खाद्य लगायतका सामान किन्न पनि दिगलबैङ्क नै जानु पर्छ’, पिण्डलवारी प्रहरी चौकीका प्रहरी जवान मोहनकुमार ठाकुर भन्छन्–‘नेपालतिर किनेर खाने दोकान समेत छैन ।’

स्थानीय नारायणप्रसाद राजवंशी पिण्डलवारीमा बिजुली, बाटो र बाढी नियन्त्रणको खाँचो रहेको बताउँछन् । ‘यहाँ बर्षायाममा कटानको समस्या छ’, पीडाको पोको फुकाउँदै उनी भन्छन्–‘पढ्नका लागि स्कुल प्राविसम्म मात्र छ ।’

नेपालमा बसोबास भएर पनि नेपाली भएको अनुभूति गर्न नपाइएको स्थानीय बासिन्दा बताउँछन् । बिरामी हुँदा भारतको दिगलबैङक हँुदै झापा बजार निस्किएर सुरुङ्गामा उपचार गर्न जानु पर्ने उनीहरूको बाध्यता छ ।

पिण्डलवारीमा नवदुर्गा प्रावि छ । त्यहाँको विद्यालयमा पढाई सकेपछि निमावि तह पढ्न विरिङ खोला तरेर भागडुब्बा स्कुल जान अप्ठेरो छ । यही समस्या भएकाले उनीहरू नजिकैको दस गजा क्षेत्र पार गरेर भारतको उत्व्रmमित मध्य विद्यालय डोरियामा पढ्न जाने गरेका छन् ।

प्रत्येक वर्ष आउने विरिङको बाढीले ५० विघा जग्गाको मालिकलाई पनि चामल किनेर खाने सुकुम्वासी बनाउने नारायणप्रसाद राजवंशी बताउँछन् ।

पिण्डलवारीमा वि.संं.२०४१ सालमा झुण्डुप्रसाद राजवंशीको प्रधानपञ्च कालमा प्रहरी चौकीको निर्माण भएको थियो । द्वन्द्वकालमा विस्थापित यो अस्थायी प्रहरी चौकी २०६४ चैत्रको चुनाव ताका तत्कालीन गृह मन्त्री कृष्ण सिटौलाले पुनः स्थापना गराएका थिए ।

हाल चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जनाको दरबन्दी छ । प्रहरी चौकीको पुनस्थापना पछि सुरक्षाको अनुभूति भएको स्थानीयबासी बताउँछन् ।

हालै विरिङमा झोलुङ्गे पुलको सर्भे भएको घेरावारी गाविसका सचिव लोकराज बराल बताउाछन् । प्रत्येक चुनावमा भोट माग्न बाहेक कुनै पनि ठूला नेता पिण्डलबारी नआएको पिण्डलबारीबासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: