चुनाव बदर गराउन प्रशासनमा उजुरी

  प्रकाशित मिति
६ भाद्र २०७३, सोमबार १०:३३


surunga lilaकनकाई । कनकाई उद्योग वाणिज्य सङ्घको हालै सम्पन्न निर्वाचन बदर हुनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
सङ्घको चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका लीला चिमरिया लगायत ११ जनाले झापा जिल्ला प्रशासन कार्यालयमा शुक्रवार उजुरी दर्ता गराएका हुन् ।

साउन १४ गते भएको निर्वाचनमा चिमरिया नेतृत्वको प्यानललाई न्युन मतको अन्तरले पराजित गर्दै कुमारमणि पोखरेलको प्यानल विजयी भएको थियो ।

कर नतिरेका व्यक्ति मतदाता बन्न नपाउने विधानमा प्रष्ट व्यवस्था भए पनि करीव १ सय ५० जनालाई अबैध रुपमा मतदाता बनाइएको हुँदा निर्वाचन गैरकानूनी भएको उजुरी दिने पक्षको भनाई छ ।

उजुरीकर्ताहरूले साउन १४ को निर्वाचनमा अध्यक्ष पदमा विजयी कुमारमणि पोखरेल, निवर्तमान अध्यक्ष युवराज सङ्ग्रौला लगायत २३ जना व्यक्ति र कनकाई उद्योग वाणिज्य सङ्घको सम्पूर्ण कार्य समितिलाई नै विपक्षी बनाएका छन् ।

साउन १४ गतेको निर्वाचन बदर गरी अर्को निर्वाचन गराउन उजुरीकर्ताहरूले प्रशासनसँग माग गरेका छन् ।

उजुरीकर्ता पक्षले आइतवार सुरुङ्गामा पत्रकार सम्मेलन गरी प्रशासनमा मुद्दा दर्ता गराइएको बारेमा जानकारी दिएका छन् ।
उनीहरूले ‘विधानतः मतदाता बन्न अयोग्य व्यक्तिहरूलाई मतदाता बनाएर चुनावमा नियोजित रुपमा धाँधली गरिएको’ भन्ने दावी प्रस्तुत गरेका थिए ।

चुनाव गराउँदाताकाको कार्य समितिले ११ वटा बन्द भइसकेका, ४३ वटा पान नम्वर नट भेलिड भएका, १ सय १२ वटा कर चुक्ता नगरेका र २५ वटा ठेगाना नमिलेका फर्मलाई मतदाता परिचयपत्र दिलाएर अबैध मतदान गराएको उजुरीकर्ताहरूको आरोप छ ।

उनीहरूले पत्रकार सम्मेलनमै आरोप पुष्टि गर्ने कागजात र कतिपय प्रमाण पत्रकारसामू प्रस्तुत गरेका थिए ।
‘एक दुई मात्र गल्ती भए पो सामान्य त्रुटी भनेर सोच्न सकिन्छ’, पत्रकार सम्मेलनमा चिमरियाले भने–‘यहाँ त विधान बमोजिम अधिकार नै नभएका १ सय ५० जनाले भोट हालेका छन् ।’

सङ्घको चुनावमा फर्म बन्द भइसकेका ११ जनालाई मतदाता परिचय पत्र दिएर मतदानमा सहभागी गराइएको विवरण सार्वजनिक गरिएको थियो ।

बन्द भइसकेका ती फर्महरू सोमनाथ भेटवालको कन्काई मोटर पार्टस्, यामनाथ सेडाइको प्रकाश राइस मिल, धनबहादुर कार्कीको सिद्धकाली सेलर, नारायण भेटवालको भेटवाल फर्किसिङ, भक्त बहादुर कार्कीको सुगम इन्टरप्राइजेज, सञ्जीव ओलीको परफेक्ट ट्रेड लिङ्क्स, ज्ञानेन्द्र चुडालको जय पाथिभरा ट्रेडर्स, शम्भु साहको सुगम मेडिसिन, सीतादेवी गुरागाइँको कम्फट इन होटल, रमेश कुमार शिवाकोटीको लव पोइन्ट र प्रमोद पाठकको कुन्जन साइकल रहेको बताइएको छ ।

पत्रकार सम्मेलनमा एउटै पान नं. बाट दोहोरो परिचयपत्र बनाइएको ६ जोडी फर्मको नाम समेत सार्वजनिक गरिएको थियो । जसमा ६०१४४४४४१ पान नं. बाट विष्णु होटलका श्यामकुमार श्रेष्ठ र आरके सब्जी पसलका राजकुमार गुप्ताको मतदाता परिचय पत्र बनाइएको, ३००८२५३७४ पान नं. बाट अञ्जना कम्युनिकेसनको मनोज बस्नेत र माता भवानीका विष्णुप्रसाद मिश्रको मतदाता परिचय पत्र बनाइएको र ६००८४०३०३ पान नं. बाट चौधरी फर्निचर उद्योगका चन्द्रकुमारी चौधरी र आकाश एसआरका विश्वविजय खरेलले मतदाता परिचय पत्र बनाइएको खुलासा गरिएको छ ।

६०३३८७७६० पान नं. बाट कनकाई खाजार घरका निलकृष्ण भण्डारी र कस्मेटिक खुद्रा पसलका पदमप्रसाद सिटौलाको, ६०३७१६८९० पान नं. बाट मनोज साइकल पसलका अरुण बसाक र श्रेष्ठ किराना पसलका मेघराज श्रेष्ठको र ६०३७१६८८७ पान नं. बाट मनोकामना ट्रेडर्सका कल्पना उप्रेती र मैनाली किराना पसलका पारसमणि मैनालीको पान नं. जुधाएर मतदाता परिचय पत्र बनाइएको उजुरीकर्ताहरूले जनाएका छन् ।

मतदाता परिचय पत्र बाँडिएका २५ जनाको पान नं. अनुसार ठेगाना र फर्मको नाम नमिलेको उजुरीकर्ताको दावी छ ।
जसमा क्रियटिभ भिजन (शिवगञ्ज), काजीरङ्गा फेन्सी स्टोर, मेची चश्मा सेन्टर (विर्तामोड), कार्की सप्लायर्स (इटहरी), बेनुदत्त हार्डवेयर (बुट्टाबारी), प्रसाई स्टोर (विर्तामोड), सङ्ग्रौला ब्रदर्स एन्ड सन्स (शिवसताक्षी), न्यू सौभाग्य गहना (इटहरी), ममता इन्टरप्राइजेज (बुधवारे), मामा भाञ्जा मनी (चारआली) लगायत रहेका छन् ।

कसैलाई दुई थान परिचयपत्र दिइएको र कसैलाई पाउनु पर्ने परिचय समेत नदिइएको उनीहरूले दावी गरेका छन् ।
टाघनडुब्बाका रामकृपाल गणेश, कनकाई–३ का भरतकुमार पाठक, कनकाई–३ का युवराज मैनाली, कनकाई–३ का रुपनारायण सङ्ग्रौला, मीना निरौला र तेजबहादुर थापालाई दुई दुई थान मतदाता परिचय पत्र दिइएको जनाइएको छ ।

विधानतः योग्य छँदाछँदै पनि पाथिभरा कोल्डका प्रकाश राई, साध साइकलका काजीमान लिम्बु, वर्ण इलेक्ट्रोनिक्सका रमेश दाहाल, गुरुजी मिष्ठान्नका राजदेव साह र कल्पना ट्रेडर्सका प्रेमकुमार राजबंशीलाई तत्कालीन कार्य समितिले परिचय पत्र नै नदिएको बताइएको छ ।
‘निर्वाचन समितिद्वारा तोकिएको समयमा दावी विरोध किन गरिएन ?’ भन्ने पत्रकारहरूको जिज्ञासाको जवाफमा चिमरियाले भने–‘मतदाता कार्ड र मतदाता नामावलीमा एउटै विवरण भए पछि तत्काल केही भन्न सकिएन, तर पान नं. नै बैधानिक छ कि छैन र कर चुक्ता गरेको हो कि होइन भन्ने पत्ता लगाउन समय लागेको हो ।’

कुनै हालतमा निर्वाचन परिणाम नस्वीकार्ने र अर्को निर्वाचन गराउनु पर्ने आफ्नो प्रष्ट माग रहेको पत्रकार सम्मेलनमा उजुरीकर्ता पक्षको भनाइ थियो ।

पत्रकार सम्मेलनमा साउन १४ को चुनावमा महासचिवको उम्मेदवार बनेका तुलसी विमली र सदस्यका उम्मेदवार सञ्जय गजुरेलले पनि चुनाव बदर हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

उजुरीकर्तामा गङ्गाराम गजुरेल (सञ्जय), तुलसी विमली, पुण्यप्रसाद ओझा, भरत अधिकारी, लीलाप्रसाद चिमरिया, डिल्ले राई, शिवशङ्कर महासेठ, मानबहादुर श्रेष्ठ, कविता बस्नेत, शान्ता अधिकारी र छत्र पाण्डे रहेका छन् ।

(लोकतन्त्र पोस्ट दैनिकमा २०७३ भदौ ६ गते प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: