चुनाव विधिसम्मत भएको दावी

  प्रकाशित मिति
८ भाद्र २०७३, बुधबार ०८:१७


surunga
निवर्तमान अध्यक्ष युवराज सङ्ग्रौला र नवनिर्वाचित अध्यक्ष कुमारमणि पोखरेल ।

कनकाई । कनकाई उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष युवराज सङ्ग्रौलाले सङ्घको नयाँ नेतृत्व चयनका लागि हालै भएको चुनाव विधिसम्मत रहेको धारणा व्यक्त गर्दै अनियमितता भएको भन्ने अर्को पक्षबाट आएको आरोपको कडा प्रतिबाद गरेका छन् ।

उनले चुनावमा पराजित भएपछि पीडा सहन नसकी विभिन्न बहाना बनाएर चुनावको निष्पक्षताबारे हाँस्यास्पद भ्रम फैल्याएको दोषारोपण गर्दै आम मतदाताले लोकतान्त्रिक अभ्यासमार्फत आएको परिणामलाई कसैले पनि अवहेलना गर्न नहुने बताएका छन् ।

चुनाव भइन्जेल केही नभन्ने र परिणाम आफ्नो अनुकूल नभइसकेपछि धाँधलीको आरोप लगाउने गलत संस्कार त्यागेर लोकतान्त्रिक विधिबाट भएको चुनावको परिणामलाई स्वीकार गर्न सङ्ग्रौलाले आग्रह गरेका छन् ।

गत साउन १४ गते सम्पन्न चुनावबाट कुमारमणि पोखरेलको नेतृत्वमा रहेको उम्मेदवारहरूको प्यानल विजयी भएको थियो भने लीला चिमरिया नेतृत्वको प्यानल पराजित भएको थियो ।

चुनावमा एक सय ५० फर्जी मतदाता प्रयोग गरिएको जिकीरसहित चिमरिया पक्षले चुनाव बदर हुनु पर्ने माग गर्दै भदौ ३ गते झापा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि कनकाई उद्योग वाणिज्य सङ्घको चुनाव विषयमा मतान्तर सिर्जना भएको छ ।

प्रशासनमा दिएको उजुरी सम्बन्धमा चिमरिया पक्षले आइतवार पत्रकार सम्मेलन गरेपछि त्यसकै प्रतिबाद गर्दै कनकाई उद्योग वाणिज्य सङ्घका तर्फबाट अध्यक्ष सङ्ग्रौलाले मङ्गलवार सुरुङ्गामा अर्को पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

निर्वाचनमा पराजित भएपछि चिमरियाले नवनिर्वाचित अध्यक्ष लगायतको टिमलाई सञ्चारमाध्यममार्फत बधाइ र निर्वाचन समितिलाई धन्यवाद दिएको प्रसङ्ग उल्लेख गर्दै अहिले आएर धाँधली भयो भन्ने बहाना झिक्दै आम मतदातालाई कर नतिरेको लाञ्छना लगाउने र सर्वसाधारणलाई भ्रमित पार्ने कार्य गरेको सङ्ग्रौलाले बताए ।

उनले मतदाताको सङ्ख्या, फर्म बन्द भएको आरोप, अध्यावधिक स्थायी लेखा नम्वर नभएको, ५ जना व्यवसायीलाई परिचय पत्र नदिइएको, ६ जनालाई दोहोरो परिचय पत्र दिइएको, पान नं. बमोजिम ठेगाना नमिलेको र पान नं. जुधेको सम्बन्धमा चिमरिया पक्षबाट लगाइएको आरोप असत्य भएको दावी गर्दै कतिपय अवस्थामा प्राविधिक तथा मानवीय कारण सामान्य त्रुटी भएको हुन सक्ने बताएका छन् ।

चुनाव गराउँदा सङ्घको नेतृत्वमा सङ्ग्रौला थिए । त्यहीकारण चिमिरिया पक्षबाट उजुरी तथा पत्रकार सम्मेलनमार्फत आएका आरोपका विषयमा उनैले जवाफ दिएका हुन् ।

भदौ १३ गते नवनिर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गरिने र उजुरी परेकै कारण सङ्घको नियमित कामकाज नरोकिने उनले जानकारी दिएका छन् ।

अतिथि सदनमा भएको पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष कुमारमणि पोखरेल अतिथिको रुपमा उपस्थित थिए । उनले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
‘फर्जी पुष्टि भए पदमा बस्दिन’
कनकाई उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष कुमारमणि पोखरेलले चुनावमा फर्जी मतदाता प्रयोग गरेको भन्ने आरोप अस्वीकार गर्दै त्यस्तो आरोप लगाउनेलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

आफु लोकतान्त्रिक विधि, मूल्य र मान्यतामा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै फर्जी मतले विजयी भएको भनेर कसैले पुष्टि गरिदिए पदमा नबस्ने उनले बताए ।

‘लोकतन्त्रको विधि र मान्यतामा म विश्वास गर्छु’, वाणिज्य सङ्घले मङ्गलवार सुरुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भने–‘फर्जी मतादाताबाट निर्वाचित भएको कसैले पुष्टि गर्छ भने एक मिनट पनि पदमा बस्दिन ।’

कर नतिरेको, धाँधली गरेको, फर्जी मतदाता प्रयोग गरेको जस्ता झुठो लाञ्छना लगाइएकोमा भत्र्सना गर्दै पोखरेलले आफु निर्वाचित भएको भोलिपल्टै पराजित उम्मेदवारहरूबाट बधाइ पाएको सुनाए ।

उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने पक्षलाई ‘बाटो विराउनेहरू’को संज्ञा दिदै कनकाईका आम व्यवसायीको हितमा मिलेर अघि जानु पर्ने आवश्यकता औल्याएका छन् ।

(२०७३ भदौ ८ गते लोकतन्त्र पोस्ट दैनिकमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: