धुलाबारी । किरात याक्थुङ चुम्लुङ मेचीनगर १० नम्बर वडा समितिले आफ्नो स्थापना दिवसको अवसरमा सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
धुलाबारीमा शनिवार आयोजित कार्यक्रमकाबीच समितिलाई नगद तथा जिन्सी सहयोग गर्ने ६८ जना दातालाई सम्मान गरिएको थियो ।
सोही अवसरमा जातीय संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । किरातको वडा समिति एकवर्ष अघि स्थापना भएको हो ।
किरात याक्थुङ चुम्लुङ मेचीनगर १० नम्बर वडा समिति अध्यक्ष टेकविर नेम्वाङको अध्यक्षता तथा चुम्लुङका पूर्व जिल्ला अध्यक्ष टेकबहादुर आङ्दाम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं. १० का वडाध्यक्ष सुदय पनेरु, वडा सदस्य धिरावती लिम्बू, समितिका सल्लाहकार भीम इजम, काँकरभिट्टा खानेपानी अध्यक्ष हर्क फ्याक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा चुम्लुङ वडा समितिका सल्लाहकार दिपेन्द्र कङ्दङ्बा, दिलीप आङ्बोहाङ, अमृता आङ्दाम्बे, हस्त आङ्दाम्बेलगायतको आतिथ्यता रहेको थियो ।
समितिका उपाध्यक्ष मानबहादुर नेम्वाङको स्वागत तथा सचिव प्रमिला मादेनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
किरात समुदायको धर्म, संस्कृतिलाई जोगाइराख्न युवा पुस्तालाई सहभागिता गराएर कार्यक्रम आयोजना गरिएको समितिका सल्लाहकार दिपेन्द्र कङ्दङबाले बताए ।
उनले संस्कृति लोप हुन नदिन समुदायले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी दिए ।