चेतनास्तर बढेपछि बाल विवाह घट्दै

  प्रकाशित मिति
२१ भाद्र २०७५, बिहीबार १०:१३


झापा । विद्यालयमा अध्ययनरत बालबालिकाको शिक्षाको चेतनास्तर बढेपछि समाजमा बाल विवाह न्यूनीकरण हुँदै गएको छ ।

पछिल्लो समय सामुदायिक तथा नीजि विद्यालयहरुमा गठन भएका बाल क्लबहरुले विभिन्न चेतनामूलक कार्यक्रम गर्न थालेपछि बालबालिकाहरुमा परिवर्तन आएको हो ।

केही वर्ष अघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले बीचैमा पढाइ छाड्ने क्रम बढेको थियो । धेरैजसो विद्यार्थीहरु कक्षा छाडेर कम उमेरमै बिहे गर्ने समस्या रहेको थियो । तर, अहिले त्यस्तो समस्या नरहेको झापा धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलास लुइँटेल बताउँछन् । उनले विद्यार्थीमा शिक्षाको चेतनास्तर बढेपछि बाल बिवाहका घटना कम हुँदै गएको बताए ।

झापाका अधिकांश विद्यालयमा बाल क्लव गठन गरिएका छन् । ती क्लबहरुले चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । क्लबका प्रतिनिधिहरुलाई बेला–बेला तालिम दिइने गरेको छ । बाल क्लवको सक्रियताले गर्दा पनि सानै उमेरमा बिहे गर्नु हुँदैन भन्ने चेतना जागृत भएको प्रअ लुइँटेल बताउँछन् । ‘पहिले–पहिले हाम्रै विद्यालयका कतिपय नानीहरु पढाइ छाडेर हिँड्ने गरेका थिए,’ विगत सम्झदै उनले भने, ‘नानीहरु के कारणले स्कुल नआएका हुन् भनेर अभिभावकसँग बुझ्दा बिहे गरे भन्ने जवाफ पाइन्थ्यो । तर, अहिले त्यस्तो कुरा सुनिएको छैन ।’

उनका अनुसार घरमा आमाबुवा नभएका, गरिब परिवार तथा आदिवासी समुदायका परिवारका नानीहरुमा बाल विवाहको समस्या रहेको थियो । प्रअ लुइँटेलले प्रविधिको विकासले बालबालिकामा शैक्षिक चेतना बढाएको बताए ।

विद्यालयस्तरबाटै भइरहेको बाल बिवाह सम्बन्धी बढ्दो चेतनाले गर्दा समाजलाई फाइदा पुगेको छ । मेचीनगर वडा नं ९ का वडाध्यक्ष गोपाल खड्काले आफ्नो वडामा बाल विवाहका घटना नभएको दाबी गरे । बलात्कार, बहुबिवाह लगायतका अन्य मुद्दाहरु वडा कार्यालयमा आउने गरेको उनले बताए । तर, बाल विवाहका मुद्दा लिएर कोही पनि अहिलेसम्म नआएको उनको भनाइ छ । त्यही भएर वडा कार्यालयले बाल विवाह न्यूनीकरण सम्बन्धी बजेट नीति तथा कार्यक्रम नै राखेको छैन ।

ठाडो उजुरी मात्रै
नागरिकको जीउज्यान सुरक्षामा खटिएको प्रहरी कार्यालयहरुमा दिनहुँ थुप्रै घटनाका मुद्दाहरु दर्ता हुने गरेका छन् । बलात्कार, बहुविवाह, कुटपीट लगायतका जघन्य अपराधका मुद्दा पर्ने गरे पनि बाल विवाहका मुद्दा अहिलेसम्म नआएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए । उनले समाजमा बाल बिवाहका घटनाहरु यदाकदा भएपनि प्रहरी कहाँ नआउने गरेको बताए ।

यद्यपि प्रहरी कार्यालयमा केटा वा केटी हराएको भनी ठाडो मुद्दा पर्ने गरेको छ । उमेर नपुगी केटा र केटी हराउँदा अभिभावकहरुले प्रहरी कार्यालयमा ‘मेरा छोरा वा छोरी खोजी पाउँ’ भनी निवेदन दिने गरेको उनले बताए । ‘सानै उमेरमा भागेका केटा र केटीलाई झिकाएर अभिभावकको जिम्मा लगाउने गरिएको छ,’ उनले भने, ‘स्थानीय वडा प्रतिनिधिहरुको उपस्थितिमा केटा र केटी दुवैलाई उमेर पुगेपछि मात्र बिहे गर्नु भनेर सम्झाइ बुझाइ पठाउने गरेका छौँ ।’

एक अर्काबीच छुट्नै नसक्ने कतिपय बाल जोडीले अभिभावककै अनुमतिमा कम उमेरमा बिहे गर्ने गरेको उनी बताउँछन् । अभिभावककै राजीखुशीमा बिहे हुने गरेकाले प्रहरीले यस विषयमा केही गर्न नसक्ने बताए ।

प्रहरी कार्यालय धुलाबारीका अनुसार बालबालिका हराएको भनी निवेदन पर्ने गरेको छ । तर, यस विषयमा बुझ्दा अधिकांशले बिहे गर्ने गरेको प्रहरी आफै बताउँछ ।

गएको भदौदेखि जारी भएको नयाँ मुलुकी ऐनमा २० वर्ष उमेर नपुगी बिहे गर्ने÷गराउने दुवैलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको छ । यो नयाँ कानुनले बालविवाह प्रथा रोक्न अझ सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: