चेपाङ परिवारले उल्टो प्रचार गरेको विद्यालयको दावी

  प्रकाशित मिति
२७ पुष २०७५, शुक्रबार १०:२३


मेचीनगर । अरुणोदय आवासीय माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरेर चेपाङ परिवारले उल्टो प्रचारबाजी गरेको विद्यालयका सञ्चालकहरुले जनाएका छन् ।

चेपाङ परिवारले जग्गा छाड्नुको साटो विभिन्न उक्साहटमा लागी विद्यालयलाई बद्नाम गराउने कार्य गरिरहेको विद्यालयका अध्यक्ष भगिरथ राईले विहीवार विद्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बताए ।

मेचीनगर–१० मा बसोबास गर्दै आएका तोयानाथ चेपाङ र विद्यालय विच साँधको जग्गाको स्वामित्व सम्बन्धी विवाद केही वर्षदेखि चर्किदै आएको छ ।

विद्यलायको मुखमा रहेको सो विवाद भएको जग्गामा चेपाङको घरबास छ । दुबै पक्षले जग्गाको स्वामित्व दावी गर्दै आएका छन् ।

‘हाम्रै जग्गा हडपिएको छ, तर बजारभरि चाहिँ चेपाङलाई स्कुलले अन्याय गर्यो भनी दुष्प्रचार गरिएको छ’, विद्यालयका अध्यक्ष राईले भने–‘नगरपालिकाको न्यायिक समितिले दुबै पक्षलाई गराएको सहमतिलाई समेत चेपाङ परिवारले लत्याउँदै आएको छ ।’

चेपाङले अतिक्रमण गरेको जग्गा स्कुललाई विनाशर्त फर्काइदिनु पर्ने र धनीपूर्जा भएको आफ्नो जग्गामा विद्यालयले निर्वाध भोगचलन गर्ने वातावरण बनाइदिनु पर्ने विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुइँटेलले माग गरेका छन् ।

‘चेपाङलाई उठिवास लगाउने हाम्रो पक्षबाट कहिल्यै भनिएको छैन’, प्रिन्सिपल लुइँटेल भन्छन्–‘तर उठिबास लगाउन आँट्यो भनेर अनर्गल हल्ला चलाइएकोमा ज्यादै दुःख लागेको छ ।’

विद्यालयका अध्यक्ष भगिरथ राईले पुस २४ गते मेचीनगर नगरपालिका परिसरमा सोही विषयलाई लिएर असम्बद्ध व्यक्तिहरुविच भएको विवाद र कुटाकुटका बारेमा विद्यालय एवम् विद्यालयका सञ्चालकहरुको नाम मुछेर प्रचारबाजी नगरिदिन समेत राजनीतिक दल तथा आम सञ्चारका माध्यमहरुलाई आग्रह गरेका छन् ।

स्कुलको जग्गा फर्काउँदा चेपाङ परिवारको उठिबास नहुने जिकीर गर्दै विद्यालयका अध्यक्ष राईले जग्गा फर्काएपछिको अवस्थामा उचित व्यवस्थापनका लागि चेपाङ परिवारलाई सघाउन विद्यालय तयार रहेको जनाएका छन् ।

उनले विद्यालयका अध्यक्ष र प्रिन्सिपलविरुद्ध फौजदारी अभियोगमा झुठ्ठा मुद्दा विभिन्न निकायमा दर्ता गरिएको सुन्नमा आएको जनाउँदै ती मुद्दा फिर्ता लिन सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।

(लोकतन्त्र पोस्टमा प्रकाशित)

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: