चोट सहेर चुपचाप मानेभञ्ज्याङ

  प्रकाशित मिति
२७ बैशाख २०७३, सोमबार ०४:१०


 

cmp3.9.27.3q4 0xa362b87a

मानेभञ्ज्याङ । इलाम सदरमुकामबाट ३१ किलोमिटर पूर्व भारतको दार्जीलिङ जिल्लाको भूभागसँग सीमा जोडिएको ‘मानेभञ्ज्याङ’ बर्षौदेखि अतिक्रमणको चोट सहेर चुपचाप छ ।

मानेभञ्ज्याङको दुःखको कथा व्यथा फेरिएको छैन । पुरानो घाउ निको भएको छैन । त्यही माथि आफ्नै मुलुकको शासकहरूले पनि परायालाई जस्तो उपेक्षापूर्ण व्यवहार गरिदिदा मानेभञ्ज्याङ अहिले पनि पीडाले छटपटाइरहेको छ ।

सीमाक्षेत्रमै रहेको कारण वारि नेपाल र पारि भारतको दुवै वस्तीलाई एउटै नाम ‘मानेभञ्ज्याङ’ले चिनिन्छ । पुराना वासिन्दाहरूका अनुसार मानेभञ्ज्याङको वारि र पारिको पुरै वस्ती नेपालकै भूभाग मानिन्थ्यो । तर mane 7भारतले सीमामा किचलो गर्ने क्रममा अन्यत्र झैँ यहाँको आधा भाग भारतपट्टि मिसायो र त्यही अनुसारले सीमाना कायम गर्यो । अहिले भञ्ज्याङको पश्चिमी केही अंश मात्र नेपालको सीमानाभित्र छ ।

भञ्ज्याङ बजारका २० घर र डेढ वर्ग किलोमिटर वरपरका डेढ सय घर भएको वस्ती मानेभञ्ज्याङ हो । शेर्पा लगायत सबै जातिको बसोवास रहेको मानेभञ्ज्याङ बजार इलामको गोर्खे गाउँ विकास समितिको वडा नम्वर ९ मा mane 5पर्छ । गर्मी याममा पनि चिसो वातावरण हुने यस ठाउँ हिउँदमा ज्यादै ठण्डी हुन्छ । यहाँ आलु, मकै, कोदो, अलैँची, इस्कुस, काउली लगायतका बाली उत्पादन हुन्छ ।

भारतसँगको सीमानामा पर्ने प्रसिद्ध पर्यटकीय स्थल सन्दकपुर जाने सडकद्वार भएको कारण मानेभञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना छ ।

दार्जीलिङ, सिलगढी, कोलकाता लगायतका भारतीय क्षेत्रबाट सन्दकपुर आउने पर्यटकले मानेभञ्ज्याङको बाटो भएर जाँदा सजिलो हुने गरेकाले भारतले आफ्नातिर पक्की सडक निर्माण गरिसकेको छ । तर नेपालतिर भएको सडक पनि कच्ची छ ।

इलाम जिल्लाबाट दार्जीलिङसँग सीमाना जोडिएका दर्जनौँ स्थानमा भारतसँग सीमानाको किचलो यथावत छ । इलामको पशुपतिनगर, फाटक, मानेभञ्ज्याङ, कालपोखरी, सन्दकपुर र पाँचथरको प्राङबुङ नेपाली भूभागको कति मात्रा भारतद्वारा अतिक्रमित भएको छ भन्ने यकिन हुन सकेको छैन । धेरै mane 4पटक जनस्तरमा उठेका आवाजलाई वेवास्ता गरिएपछि सीमा मिचिएका विषय अचेल ओझेलमा पर्दै गएका छन् । जसको एउटा उदाहरण मानेभञ्ज्याङ हो ।

जानकारहरूका अनुसार २०१७ सालमा पञ्चायती व्यवस्था आउँदादेखि नै पश्चिममा कालापानी र पूर्वमा मानेभञ्ज्याङमाथि भारतको आँखा परेको हो । भारतले सिक्किम कब्जा गरे लगत्तै मानेभञ्ज्याङमा सीमा अतिक्रमण तीव्र बनाएको थियो । जसको कडा प्रतिबाद तत्कालीन कम्युनिष्ट आन्दोलनकारीहरूले गरे पनि शासकहरूको मौनताले अतिक्रमणलाई नै मलजल गर्यो ।

खासगरी कम्युनिस्टहरूले मानेभञ्ज्याङसँगै महेशपुर, सुस्ता र कालापानीको अतिक्रमणविरुद्ध कडा आवाज उठाउँदै आए, तर तत्कालीन सत्ताले कहिल्यै mane 0पनि जनताको आवाज सुनेन । बरु उल्टै जनतामाथि दमन गर्यो ।

यतिबेला मानेभञ्ज्याङका बासिन्दा सीमा अतिक्रमणको मुद्दा उठाउन नसक्ने अवस्थामा पुगेका छन् । सडक, खाद्यान्न, शिक्षा, उपचार जस्ता महत्वपूर्ण सुविधा भारतबाटै लिनु पर्ने बाध्यताका कारण साँधमा बसेर उनीहरू बोल्न सक्दैनन् ।

अहिलेको अवस्था कतिसम्म दयनीय छ भने मानेभञ्ज्याङका नेपालीहरूले आफ्ना छोराछोरी पढाउनका लागि भारततिरको मानेभञ्ज्याङका स्कुल पुर्याउनु पर्छ । भारततिर ५ वटा राम्रो स्तरका निजी विद्यालय छन् । नेपालीहरू हरेक विहान आफ्ना नानीहरूलाई साँध कटाएर भारतीय स्कुलमा पढाउन mane 1लैजान्छन् ।

पशुपतिनगरदेखि नै बोर्डरै बोर्डर भारतले पक्की सडक निर्माण गरेको छ । नेपालीहरूले सीमावर्ती आफ्नै गाउँतिर जाँदा भारतकै बाटो प्रयोग गर्नु परिरहेको छ । सन्दकपुर र पशुपतिनगर जाँदा पनि भारतीय सडक नै प्रयोग गरिदै आएको छ । पशुपतिनगरदेखि मानेभञ्ज्याङसम्म नेपाली भूभागतिरबाट निर्माण गरिएको ७ किलोमिटर लामो सडक घोडा हिड्न लायक मात्र छ । त्यसलाई स्तरोन्नति गर्नेतर्फ नेपाली सरोकारवाला निकायको ध्यान पुग्न सकेको छैन ।

मानेभञ्ज्याङमा नेपालको प्रहरी चौकी, छोटी भन्सार र हुलाक कार्यालय छ । हुलाक र भन्सारमा खासै काम नहुने गरे पनि प्रहरी चौकीले चाहिँ यो क्षेत्र नेपाल हो भन्ने दह्रो अनुभूति गराएको छ ।

mane 8२०२१ सालतिर बनेको काठको चौकी भवन हालसम्म नेपाल सरकारले पुनर्निमाण गरेको छैन । २१ जना दरवन्दी रहेको चौकीमा हाल ९ जना कार्यरत छन् । चौकीको कमान्ड प्रहरी सहायक निरीक्षकले सम्हाल्ने गरेका छन् ।

दुःखकै कुरो हो, यहाँ भारतीय मुद्रा चलनचल्तीमा छ । बजारमा मात्र होइन, गाउँतिर खरिद विक्री गर्नु पर्दा स्थानीयवासी भारुमै मोलतोल गर्छन् । नेपाली मुद्रा दोस्रो दर्जामा खुम्चिएको छ ।

मानेभञ्ज्याङमा शुक्रवार लाग्ने साप्ताहिक हटियामा भारततिरैबाट व्यापारीको लस्कर आउँछ र नेपालीलाई सामान बेचेर उतै फर्कन्छ । नेपालीले उत्पादन गर्ने आलु, काउली, जडिबुटी लगायतका केही सामान भारत पुग्छ । बजारमा भारतीयकै हालीमुहाली छ ।

mane 3बजारमा रहेको छोटी भन्सारमा दुई जना कर्मचारी कार्यरत छन् भने यहाँ एउटा मेडिकल पसल छ । हुलाकमा एक जना कर्मचारी छन् । एउटा शिवालय र गुम्वा छ । एनसेल र एनटीसीले आफ्ना टावर राखेका छन् । ल्यान्डलाइन नभए पनि मोवाइल फोनको नेटवर्क राम्रै छ । विजुलीको लाइन पनि नेपालतिरकै छ ।

भारततिर भने सुरक्षाका लागि बङ्गाल पुलिसको पोस्ट छ भने केही पर सीमाना भन्ने ठाउँमा एसएसवीको क्याम्प नै छ । भारतीय मानेभञ्ज्याङ बजारमा पर्यटकस्तरका दर्जनौँ होटल र लज छन् । बजार झकिझकाउ र यातायातको राम्रो व्यवस्था रहेको छ । नेपाली भाषी नै बसोवास गर्ने भएकाले स्थानीयवीच हितैषी सम्बन्ध भए पनि सीमाको विषयमा भारततिरका बासिन्दाले नेपालप्रति सहानुभूति राख्दैनन् ।

कुनै बेला नेपालका शासकहरू भारतको दार्जीलिङ पढ्न जाँदा मानेभञ्ज्याङकै मार्ग प्रयोग गर्थे रे । स्थानीयवासीमध्ये पुराना केहीले नेपालका तत्कालीन राजा महेन्द्रले घोडा चढेर मानेभञ्ज्याङको बाटो हुँदै दार्जीलिङ गएको र स्थानीय वासीको घरमा बास बसेको किस्सा सुनाउँछन् । तत्कालीन राजा वीरेन्द्र र ज्ञानेन्द्र समेत दार्जीलिङ बस्दा घुम्नका लागि मानेभञ्ज्याङ आउने गरेको स्थानीयवासीको भनाई छ । तर शासकहरूले मानेभञ्ज्याङको विकासका लागि भने माखो मारेका छैनन् ।

गाडी गुड्ने बाटोको ट्रयाक कोरिएको ५२ वर्ष बितिसक्दा मानेभञ्ज्याङले घोडेटो युगबाट छुटकारा पाउन नसक्नु विडम्वना हो । भारतीय अतिक्रमणको चोट बोकेको मानेभञ्ज्याङ अहिले विकासको पर्खाइमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: