छतमै फल्छन् तरकारी

  प्रकाशित मिति
७ चैत्र २०७२, आईतवार ०६:०४


मेचीनगर–१० काँकरभिट्टाको मध्यभागमा छ ‘काँकरभिट्टाका पिता’ भनेर चिनिने कृष्णप्रसाद उप्रेती बस्ने तीन तलले पक्की घर । त्यो घरको छतमा पुग्दा कुनै सुन्दर करेसावारीमा पुगेको अनुभूति हुन्छ । झ्याम्म परेको बोटमा लटरम्म फलेका कागती, लरक्क परेका लहरामा फलेका लौका र फर्सी । भुइँ खेत नभएका सहरियाका लागि नमुना बन्न सक्छ छतको करेसावारी । (पढ्नुहोस् विस्तृतमा)

krishna 5

मेचीनगर । पौरख गर्नेलाई उमेर बाधा हुँदोरहेनछ भन्ने उदाहरण बनेका छन्–‘काँकरभिट्टाका पिता’ भनेर चिनिने कृष्णप्रसाद उप्रेती । उमेरले ७७ बर्ष पुगिसकेका उनी पाको उमेरमा पनि सामाजिक गतिविधिसँगै कृषि पेशामा उत्तिकै सव्रिmय छन् । केही दिन अघि मात्र काँकरभिट्टामा उनकै नेतृत्वमा नेपाली भाषाको प्रयोगमा एकरुपता ल्याउने विषयमा अन्तर्राष्ट्रिय भाषा सङ्गोष्ठी सम्पन्न भएको थियो ।
उनको जाँगर र उत्साह करेसाबारीमा पनि झल्किन्छ । मेचीनगर–१० काँकरभिट्टाको मध्यभागमा छ उनी बस्ने तीन तलले पक्की घर । त्यो घरको छतमा पुग्दा कुनै सुन्दर करेसावारीमा पुगेको अनुभूति हुन्छ । झ्याम्म परेको बोटमा लटरम्म फलेका कागती, लरक्क परेका लहरामा फलेका लौका र फर्सी । भान्सामा चाहिने धेरै सब्जी त्यहाँ फलिरहेको देख्न पाइन्छ ।
‘यो करेसाबारी हो’, काँकरभिट्टाका पिता उपनाम पाएका उप्रेतीले छतमा फलेको तरकारी हेर्न जाँदा भने–‘चार साल भयो, बजारबाट सब्जी किन्नु परेको छैन ।’
करीव एक कठ्ठा क्षेत्रफलको छतमा उप्रेतीको करेसावारी फैलिएको छ । छोरावुहारी र नाति नातिनीसहित ५ जनाको परिवार बस्ने उनको घरमा भान्सामा पुग्नेगरी सागसब्जी छतमै फल्ने गरेको छ । स्कुस, काउली, रायो साग, सीमी, बोडी, करेला जस्ता मौसमी तरकारी त्यहाँ फलेकै छ । धनिया, टमाटर, कुरिलो, आसामे बरेलो, खोर्सानी लगायतका सब्जी पनि हलक्कै हुर्किएका छन् ।
सरकारले पछिल्लो समय कौशी खेतीको अवधारणा ल्याएर छत र वरण्डामा खेती गर्न सहरिया बासिन्दालाई प्रोत्साहित गर्न थालेको छ । तर सरकारको ध्यान जानुभन्दा अघिदेखि नै उप्रेतीले छतमा आफ्नै आइडिया अनुसार खेती सुरु गरिसकेका थिए । कौशी खेती गर्न गमला आदिको प्रयोग हुन्छ । तर उप्रेतीले छतमा माटो भरेर जमिनकै झल्को दिनेगरी ४ वर्षदेखि खेती सफलतापूर्वक गरिरहेका छन् ।
उनका छोरा पुण्यप्रसाद उप्रेतीले ‘छतको करेसावारी बुवाकै कन्सेप्ट र मिहेनत’ भएको बताए । ‘विहान र वेलुकाको समय वुवा छतमै पानी krishna 4सिञ्चाई गर्न र कुटो बोकेर तरकारी गोडमेलमै खटिनु हुन्छ’–छोरा पुण्यप्रसाद बताउँछन् ।
उनका अनुसार छतमा खेती गर्न ९ ट्याक्टर मलिलो माटो भरिएको छ । माटो ओछ्याउन प्लास्टिक प्रयोग गरिएको छ । प्लास्टिक ओछ्याउनु अघि छतमा असर नपुगोस् भनेर एक पत्र पुनः ढलाई गरेर सिमेन्टको बाक्लो घोला हालिएको छ । ‘छतको सुरक्षाका लागि यति गरिएको हो’, पौरखी किसान कृष्णप्रसाद उप्रेती भन्छन्–‘सबैका छत खाली देख्छु, मैले जस्तै गर्ने हो भने तरकारी किन्न बजार गइरहनु पर्दैन ।’
छतमा माटो भरेर खेती गर्दा घरको छानो शितल भएको उप्रेती परिवारको अनुभव छ । यो करेसाबारी हेर्न टाढादेखि आगन्तुकहरू आउने गरेका छन् । धेरैले यहाँको देखेर आफ्ना छतमा पनि खेती थालिसकेका छन् । पौरखी कृष्णप्रसाद ‘छत खेती’का लागि अनुभवी अभियन्ता भएका छन् । हेर्न र सोध्न आउनेलाई उनले खेतीको तरीका सिकाइदिने गरेका छन् ।
छतमा हरियाली हुँदा वातावरणीय दृष्टिले पनि रामै हुन्छ । बजारको विषादीयुक्त सब्जीले रोग बढाउनुको साटो भुइँ करेसाबारी नभएका सहरिया बासिन्दाका लागि उप्रेतीको ‘छत करेसावारी’ राम्रो नमुना बनेको छ ।
पाको उमेरमा एकोहोरो बसिरहनु भन्दा केही न केही सानोतिनो काममा लाग्नु स्वास्थ्यका लागि फाइदाजनक हुने बताउँछन् उनी । ‘बृद्ध उमेरमा काम किन गर्नु पर्यो भनेर हामी भरसक बुवालाई सम्झाउँछौँ’, छोरा पुण्यप्रसाद उप्रेती वुवाको कामप्रतिको लगाव बारे बताउँछन्–‘सानोतिनो काम गर्दा शरीर तन्दुरुस्त हुन्छ भन्दै उहाँ हामीलाई नै कन्भिन्स गर्नु हुन्छ ।’
krishna 7अमेरिका, क्यानडा, थाइल्यान्ड, भारत लगायतका देशमा अध्ययन भ्रमण गरिसकेका कृष्णप्रसाद उप्रेती नेपालीहरूमा अल्छिपना ज्यादा भएकैले मुलुक पनि गरीव भएको निचोड सुनाउँछन् । ‘विदेशमा बसिखाने बानी हुँदोरहेनछ’, उनी भन्छन्–‘गरिखाने बानीको विकास गर्नका लागि धेरै जग्गा नै चाहिँदैन, घरको छत नै काफी हुन्छ ।’
उनी लेखन कर्ममा पनि उत्तिकै रुचि राख्छन् । उनको थुप्रै कृतिमध्ये एउटा छ–‘किसान पुराण’ । त्यसमा उनले किसानका कुरा मन्थन गरेका छन् । krishna 6krishna 2

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक :- मोहन काजी न्यौपाने
सम्पादक समूह :
अम्विका भण्डारी
अर्जुन कार्की
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: