छयत्तर साल शिलान्यासको वर्ष ः मन्त्री आङ्बो

  प्रकाशित मिति
२० पुष २०७६, आईतवार १७:००


मेचीनगर । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जनताको आर्थिक जीवनस्तर उकास्न विकास र निर्माणमा प्रदेश सरकार तीब्र बेगका साथ लागेको हुँदा छयत्तर साल शिलान्यासको वर्ष हुने बताएका छन् ।

‘हामी आइसकेपछि अघिल्लो वर्ष सङ्घीयता कार्यान्वयनका लागि कानून निर्माणमा जुट्यौं, त्यसकारण त्यो वर्ष आधार वर्ष भयो’, मन्त्री आङ्बोले भनेका छन्–‘दोस्रो वर्ष थुप्रै विकास आयोजनाहरु अघि बढाएका छौं, त्यसैले यो वर्ष शिलान्यासको वर्ष हुनेछ ।’

प्रदेश नं. १ को तीन वटा गौरवको सडक आयोजनामध्ये झापाको भद्रपुरदेखि इलामको रोङ गाउँपालिकासम्मको ३५ किलोमिटर दुईलेन सडकको शनिवार धुलावारीमा शिलान्यास गर्दै मन्त्री आङ्बोले उक्त कुरा बताएका हुन् । उनले चालू आर्थिक वर्षैभरि आयोजना शिलान्यासका समाचार आइरहने बताए ।

बजेटको ४७ प्रतिशतभन्दा बढी हिस्सा पूर्वाधार विकासले ओगटेको उल्लेख गर्दै उनले प्रदेशले बनाउन थालेका निर्माण आयोजनामा कुनै पनि ढिलासुस्ती नहुने र त्यसका लागि बजेटको अभाव समेत हुन नदिने बताए ।

मन्त्री आङ्बोले मेचीनगर–१५ स्थित धुलावारी क्याम्पस अगाडि ‘भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजावस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडक’को शनिवार शिलान्यास गरेका छन् ।

प्रदेश नं. १ को पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजेशप्रसाद घिमिरेको अध्यक्षता र सडकले छोएका नगर तथा गाउँपालिकाका प्रमुख, प्रदेश सांसदहरु लगायतको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको थियो ।

प्रदेश पूर्वाधार विकास कार्यालयका प्रमुख घिमिरेका अनुसार सो सडक निर्माणको ठेक्का सम्झौता २०७६ कार्तिक २० गते भएको थियो भने २०७९ असार ३१ गते आयोजना सम्पन्न गरिसक्ने म्याद तोकिएको छ ।

सडकको निर्माणलाई दुई खण्डमा ठेक्का लगाइएको छ । मेचीनगर–१० स्थित धुलावारीदेखि उत्तरको २६ किलोमिटर सडकको ठेक्का विर्तामोडको कनकाई झापाली जेभीलाई ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ २५ पैसामा दिइएको छ भने धुलावारी दक्षिणको ९ किलोमिटर सडकको ठेक्का अर्जुनधाराको हिम्डुङ एन्ड थोकर सरोज जेभीलाई २५ करोड ३२ लाख ८४ हजार ८२२ रुपैयाँ ४८ पैसामा दिइएको छ ।

सडक शिलान्यास कार्यक्रममा निर्माणको ठेक्का लिने व्यवसायीले समेत समयमै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले सडक निर्माणको काममा गुणस्तरमा कुनै सम्झौता नहुने र भने बमोजिमको काम नभएको पाइए ठेकेदारलाई तत्काल कार्वाही अघि बढाइने जोशिलो भाषण गरेका थिए ।

वर्षौदेखिको प्रतिक्षापछि सडक बन्ने भएपछि सिमसिमे पानी विच कार्यक्रममा सयौं सर्वसाधारण उपभोक्ता सहभागी भएका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, प्रदेश सांसदहरु गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली र राधा थापा, मेचीनगरका प्रमुख विमल आचार्य, रोङ गाउँपालिकाका प्रमुख शमसेर राई, निर्माण व्यवसायीद्वय शेरबहादुर थापा र भीम भट्टराईले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्पर्क

   मेचीनगर–१०,झापा, नेपाल
   023-561466
   9852673623
    [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक : अर्जुन कार्की
सम्पादक: अम्विका भण्डारी
डाउनलोड गर्नुहोस्
हाम्रो फेसबुक पेज
%d bloggers like this:
%d bloggers like this: