झापा । ‘महाकाली–मेची नेपाल पदयात्रा २०१९’ का तीनजना अभियन्ता झापा आइपुगेका छन् । महाकालीको चाँदनी दोधाराबाट चैत ३ गते सुरु गरेको पदयात्रा ५३ दिनपछि बुधबार राति बिर्तामोड आइपुगेका हुन् ।
भेदभाव र छुवाछुतको अन्त्यका लागि सचेतना फैलाउँदै महाकालीबाट पैदल यात्रामा निस्किएका तीनजना अभियन्ताहरु समाजशास्त्री हेमराज आचार्य, सामाजिक अभियन्ता रिता परियार र पत्रकार अशोक दर्नाललाई बिहीवार बिर्तामोडमा स्वागत सम्मान गरिएको छ ।
उनीहरुलाई बिर्ताामोडमा दलित अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ताले बुधबार राति नै स्वागत गरेका थिए भने बिहीवार बिहान बिर्तामोड नगरपालिकाको आयोजनामा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा स्वागत सम्मान गरिएको हो ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईँको अध्यक्षता तथा प्रदेशसभाका सदस्य जसमाया गजमेरको प्रमुख आतिथ्यमा जातीय विभेद विरुद्ध सचेतना फैलाउँदै झापा आइपुगेका अभियन्ताको सम्मान गरिएको हो ।
सो अवसरमा अशोक दर्नालले विभेद अन्त्यका लागि राष्ट्रिय सन्देश दिन महाकाली–मेची पदयात्रामा निस्किएका आफूहरुले अड्कलबाजीको साटो वास्तविकता खोज्दै हिँडेको बताए ।
दलित नेता छविलाल विश्वकर्माले सञ्चालन गरेको स्वागत तथा सम्मान कार्यक्रममा नगर उपप्रमुख महतरा, सांसद गजमेर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, अनारमनी प्रहरी प्रमुख डिएसपी सुवास खड्का, व्यवसायी बलराम कार्की र वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्ना भनाइ राखेका थिए ।
बिहीबार नै पूर्वी नाका काँकरभिट्टा आइपुगेका छुवाछुत अन्त्य अभियन्तालाई मेचीनगरकी कार्यपालिका सदस्य निरु परियार लगायतले सम्मान तथा स्वागत गरेका थिए ।